कर्णालीमा उत्पादन हुने अर्गानिक कृषि उपजको तथ्यांक संकलन गर्दै प्रदेश सरकार

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । कर्णालीमा उत्पादन हुने अर्गानिक कृषि उपजको तथ्यांक संकलन हुने भएको छ । कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशसँग जोडिएका बबई र कपुरकोटमा कृषि तथ्याङ्क सङ्कलकको काम अगाडि बढाएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही मङ्सिर ७ गतेबाट कर्णालीमा आयात र निर्यात हुने कृषि उपजको तथ्याङ्क अभिलेखीकरण गर्न तथ्याङ्क सङ्कलक खटाएको हो ।

मन्त्रालयका सचिव डा.नरहरि घिमिरेले प्रदेशभित्रका कृषि र पशुपक्षीजन्य वस्तुको उत्पादन र बजारीकरण प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस प्रदेशमा आयात निर्यात हुने कृषि उपजको तथ्याङ्क सङ्कलन गर्ने कार्य सुरु गरिएको जानकारी दिनुभयो ।

हामीले जिल्लाका सुरक्षा निकाय र सरोकारवालासँगको समन्वय र सहकार्यमा तथ्याङ्क सङ्कलनको काम थालेका छौ । उहाँले भन्नुभयो,“यसका लागि यही मङ्सिर ७ गते नै दुवै नाकामा दुईदुई जना तथ्याङ्क सङ्कलक खटाइसकेका छौँ । यसबाट कर्णाली प्रदेशमा उत्पादित भएर जाने र बाह्य क्षेत्रबाट आउने कृषि उपजको यथार्थ तथ्याङ्क प्राप्त हुने आशा गरिएको उहाँको भनाइ छ ।”

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले यथार्थ तथ्याङ्क उपलब्ध नहुँदा बजार व्यवस्थापन र गुणस्तर नियन्त्रणमा परेको कठिनाइ अब हुने तथ्याङ्क सङ्कलनबाट सकिएर जाने जानकारी दिनुभयो । उक्त नाकाबाट दैनिक उपलब्ध हुने कृषि उपजका आयात तथा निर्यातको तथ्याङ्कलाई मन्त्रालय र मातहतका निकायले विश्लेषण गर्नेछन ।

यसले बजार व्यवस्थापन र गुणस्तर प्रवर्द्धन गर्नेछ । उपलब्ध तथ्याङ्कमार्फत यस मन्त्रालयलाई भावी नीति, कार्यक्रम तथा योजना बनाउन महत्वपूर्ण सहयोग पुग्ने आशा गरिएको प्रवक्ता कठायतको भनाइ छ । उहाँकाअनुसार मन्त्रालयबाट खटाइएका तथ्याङ्क सङ्कलकले पालो मिलाई चौबीसै घण्टा दुवै नाकाबाट प्रदेशभित्र आवतजावत गर्ने सवारीसाधनलाई सुरक्षा निकायसँगको समन्वयमा कृषि उपजको विवरणको सोधखोज गरी लिनेछन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?