![क्यान्सरबारे जनचेतना जगाउन फेशन शो](https://ehimalayatimes.com/wp-content/uploads/2023/11/Fashion-show-.jpg)
इतिहासमा कोही व्यक्ति वा कुन पार्टी कुन समयमा शक्तिमा आउँछ र कुन बेला बिलिन हुन्छ कुनै टुंगो हुँदैन । दलहरूमा पनि यो विषय लागू हुन्छ । इतिहासमा कुनै समय तहल्का मच्चाएका दलहरू अहिले अस्तित्वमै छैनन् । राणा शासनलाई तहसनहस पारेको पार्टी राष्ट्रिय प्रजापरिषद् अहिले कतै अस्तित्वमै छैन । नेपाली कांग्रेस पार्टी भने नेपालको इतिहासमै सबैभन्दा लामो समयसम्म नै नेपालको राजनीतिको केन्द्रमा रहन सफल भएको छ । तर, हाल नेपाली कांग्रेस होस् वा माओवादी केन्द्र र नेकपा एमाले जुनै पार्टी हुन् तिनले आफ्नो नीति, सिद्धान्तलाई एकातिर पन्छाएर स्वार्थको राजनीति गरिरहेका छन् । जसले गर्दा नेपाली जनतामा एक प्रकारको निराशा छाएको छ । जसले गर्दा कुनै वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता जनताले चाहिरहेका छन् ।
जनताको त्यही मनोभावनालाई बुझेर त्यो भावनालाई च्याप्प समातेर एकाएक अगाडि आएको एउटा राजनीतिक दल हो राष्ट्रिय स्वतन्त्र पार्टी । कतै जाने ठाउँ नपाएपछि जनताको एउटा ठूलो पंक्ति यो पार्टीको पछि लागेर हिँड्यो । परिणामतः गत निर्वाचनमा तुलनात्कम रूपमा राम्रो परिणाम ल्याउन सफल भयो । इमानदारीपूर्वक भन्ने हो भने यस पार्टीमा केही सक्षम व्यक्ति पनि हुनुहुन्छ । त्यसको कारण वैकल्पिक शक्तिको चाहना हो । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा भएका मानिसहरू पहिले यिनै पुराना पार्टीमध्ये कुनै न कुनै पार्टीमा रहनुभएको थियो । कुनै पार्टीबाट फड्को मारेर रास्वपामा जानुपर्ने कारण भने आ-आफ्ना पार्टीमा उहाँहरूले पाउनुभएको अवहेलना, विभेद र निराशा नै हो ।
यही कारणले नेपाली कांग्रेसबाट पनि धेरै कार्यकर्ता र नेताहरू उक्त पार्टीमा गएका छन् । अरूभन्दा अलिक पछि डा.स्वर्णिम वाग्ले जानुभयो र अहिले उक्त पार्टीको केन्द्रीय उपसभापति हुनुभएको छ । उहाँले नेपाली कांग्रेस पार्टीमा धेरै योगदान गर्नुभएको छ । उहाँ नेपाली कांग्रेसकै कार्यकालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत बन्नुभएको थियो । नेकाको शुभचिन्तक भएर माथिल्लो ओहोदामा समेत बस्नुभएको व्यक्ति आफ्नो मातृपार्टी छोडेर नयाँ खुलेको पार्टी रास्वपामा जानुभयो । जाँदाजाँदै दिएको आफ्नो पार्टीविरुद्धको अभिव्यक्ति निकै मार्मिक थियो तर फेरि उहाँले रास्वपाका अध्यक्षलाई नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालासँग तुलना गरेर दिनुभएको अभिव्यक्ति भने निकै आलोच्य बन्नपुगेको थियो । नेकाका विरुद्धको उहाँको अभिव्यक्ति धेरै हदमा सही पनि हो ।
यस्तो नेकामा मात्र नभएर सबै पार्टीमा छ । नातावाद, क्रियावाद, धनवाद, डनवाद सबै पार्टीमा छ । निराश बनेका ती सब व्यक्तिहरू लाखापाखा लाग्ने छन् र तिनलाई आकर्षित गरेर रास्वपाले समेटिरहेको छ । यति गर्दा पनि लोकप्रिय बनिरहेको यस पार्टीले केही विषयमा प्रष्ट धारणा बनाउन सके पनि केही विषयमा स्पष्ट नीति तयार गर्न नसक्दा ढुलमूले नीतिकै आधारमा अगाडि बढिरहेको छ । राजतन्त्रका बारेमा रास्वपाले स्पष्ट रूपमा आफ्नो धारणा सार्वजनिक गर्दै आएको छ । उसले सधैं राजतन्त्रको विपक्षमा आफ्नो विचार व्यक्त गरिरहेको छ । पार्टीले अब राजतन्त्र फर्काउन नसक्ने विचार सार्वजनिक गर्दै आएको छ ।
पृथ्वीनरायण शाह नेपाका राष्ट्रनिर्माता भएको कुरामा दुई मत नभए पनि उनका उत्तराधिकारीहरू सबै सक्षम नभएकाले देशको यस्तो अवस्था भएको उक्त पार्टीको तर्क छ । पृथ्वीनारयाण शाहको नाम भजाएर उनका उत्तराधिकारीहरूले ११औं पुस्तासम्म राज्य गरिसकेका हुँदा त्यसको सावाँ-ब्याज तिनले अहिलेसम्ममा असुल गरिसकेकाले अब राजाको छोरो भएका कारणले मात्रै राजा बनाउने नीति फर्काउनु हुँदैन भन्ने रास्वपाको धारणा प्रकट हुँदै आएको छ । वर्तमान प्रणालीमा त कुनै एकपटक संयोगले असक्षम व्यक्ति उच्च पदका पुगेछ भने पनि अर्को पटक त्यसलाई हटाउन सकिन्छ भन्ने मान्यता उक्त पार्टीको हो । उक्त अभिव्यक्तिले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी एकै सिद्धान्त बोकेर अगाडि बढ्लान् कि भन्ने अड्कलबाजीहरू गलत सावित हुन पुगेका छन् ।
यति भएर पनि रास्वपा संघीयता र धर्म निरपेक्षका सम्बन्धमा अझै स्पष्ट हुन सकेको छैन । हाम्रो देशका राजनीतिक पार्टीहरूले भोटका लागि राजनीति गर्ने गरेकाले सही अभिव्यक्ति दिन पनि भोट घट्लान् भन्ने कारणले तिनीहरू बोल्न डराउँन् । हालको सबैभन्दा बढी चर्चामा रहेको विषय पनि यही हो । रास्वपाले पनि संघीयता र धर्म निरपेक्षताका सम्बन्धमा स्पष्ट धारणा बनाउनुपर्ने हुन्छ । नत्र अर्को निर्वाचनमा अहिले जसरी उक्त पार्टी एकाएक अगाडि आएको थियो त्यसरी नै पछाडि हुत्तिने सम्भावना रहन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच