टिकटमा नांगिएको राजनीतिक संस्कार

रत्न प्रजापति
Read Time = 13 mins

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको दोस्रो निर्वाचन आगामी मंसिर ४ गते हुँदैछ । प्रतिनिधिसभा र पदेशसभा निर्वाचनका लागि देशभरबाट ६ हजार १२ जनाको उम्मेदवारी परेकोमा केहीको उम्मेदवारी फिर्ता र केहीको रद्द भएपछि ५ हजार ६ सय ३६ जनाको उम्मेदवारी कायम भएको छ ।

उम्मेदवारी दर्ताका क्रममा कतै जनताको उत्साह देखिएको छ भने कतै निराशा र विरोध पनि प्रकट भएको छ । टिकट वितरणमा नयाँभन्दा पुरानालाई धेरै अवसर दिइएको छ भने टिकट पाउनेमा पहुँचवालाकै बोलवाला देखिएको छ । विशेषगरी भूमिका र योगदानको आधारमा योग्य, नैतिकवान र जनताले आवश्यक ठानेका भन्दा अयोग्य, अनैतिक र जनताले आवश्यक नठानेका व्यक्तिलाई पार्टीको तजबिजमा टिकट दिइएको छ । व्यक्तिको योग्यता, नैतिकता र विचारलाई भन्दा पैसा, पहुँचको आधारमा टिकट दिइएको, शीर्षनेताका नातेदार, आसेपासेलाई टिकट दिइएकाले लोकतन्त्रकै खिल्ली उडाइएको भन्दै जनस्तरबाट असन्तुष्टि, आक्रोश र विरोध प्रकट भएको छ ।

राजनीतिक पार्टीप्रति आस्था राख्ने तर सक्रिय राजनीतिमा नलागेर पेशागत योगदान गर्दै आएका योग्य व्यक्तिहरूलाई लत्याएर नेतृत्वले आफ्ना नातेदारलाई टिकट दिएकोमा स्वयं पार्टीभित्रै पनि असन्तुष्टि व्यापक छ । यसरी राजनीतिमा नातेदारले अवसर पाउने संस्कृति लोकतन्त्रप्रति उत्तरदायी नहुने राजनीतिक विश्लेषकहरूको धारणा छ ।

अरूलाई पन्छाएर नातेदारलाई टिकट दिने क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का परिवारबाट तनीजनाले, एमाले महासचिव शंकर पोखरेलका दुईजना, कोइराला परिवारबाट तीनजना, सहोदर दाजुभाइ सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे दुई फरक पार्टीबाट र बाबुराम भट्टराई, छोरी मानुसी भट्टराईलगायत शक्तिशाली नेताहरूले विभिन्न नाताकै आधारमा सजिलै टिकट पाएका छन् ।
तर, योग्य ठानिएका, समाजमा कहलिएका, नैतिकवान र जनताले आवश्यक ठानेका कतिपयले भने टिकट पाएका छैनन् । राजनीतिक पार्टीप्रति आस्था राख्ने तर सक्रिय राजनीतिमा नलागेर पेशागत योगदान गर्दै आएका योग्य व्यक्तिहरूलाई लत्याएर नेतृत्वले आफ्ना नातेदारलाई टिकट दिएकोमा स्वयं पार्टीभित्रै पनि असन्तुष्टि व्यापक छ । यसरी राजनीतिमा नातेदारले अवसर पाउने संस्कृति लोकतन्त्रप्रति उत्तरदायी नहुने राजनीतिक विश्लेषकहरूको धारणा छ ।

फौजदारी अभियोग लागेका अपराधी, अदालतले भ्रष्टाचार ठहर गरेका भ्रष्टाचारी, समाजलाई सधैं त्रसित र भयभीत बनाउँदै आएका गुण्डा र डनहरूलाई समेत पार्टीहरूले स्वार्थवश टिकट दिँदा उच्च नैतिक आचरण भएका र योग्य उम्मेदवारहरू अवसरबाट वञ्चित भएका छन् । समाजमा उच्च नैतिक आचरण प्रदर्शन हुनेगरी उम्मेदवार मनोनयन गर्नुपर्नेमा त्यस्तो नहुँदा नैतिकताविहीन राजनीतिक आचरणले प्रश्रय पाएको देखिएको छ ।

टिकट वितरणमा दलित र सीमान्तकृतलाई पूर्णरूपमा उपेक्षा गरिएको छ । संविधानले समावेशीताको व्याख्या गरी सबैलाई समान अवसरको व्यवस्था गरे पनि व्यवहारमा त्यो समावेशी देखिएको छैन । दलित, सीमान्तकृत, गरिबहरूलाई टिकट वितरणमा पूर्णरूपमा उपेक्षा गरिएको छ । कुल जनसंख्यामा आधा हिस्सा ओगट्ने महिला र झण्डै १४ प्रतिशत जनसंख्या भएको दलित समुदायबाट अत्यन्त न्यून संख्यामा उम्मेदवार बनाएर राजनीतिक नेतृत्वले संविधानप्रदत्त समावेशी समानुपातिक पद्धतिको उपहास गरेका छन् । योग्य, अयोग्य, आवश्यक, अनावश्यक अनि जनताले रुचाएको, नरुचाएको भन्ने विषयमा कुनै मूल्यांकन नै नगरी आफू र आफ्ना नातेदारलाई टिकट वितरण गरिएकाले असन्तुष्टहरू विद्रोह गरेर बागी उम्मेदवार बनेका छन् । कोही स्वतन्त्र उम्मेदवार बनेका छन् भने कोही पार्टी नै बदलेर अर्कै पार्टीबाट उम्मेदवार बनेका छन् ।

अहिलेको चुनावी राजनीतिमा अराजनीतिक परिदृश्य घनीभूत भएको छ । राजनीतिमा लामो समय योगदान गरेका, निष्ठाको राजनीति गर्ने, योग्य र जनताले आवश्यक ठानेका व्यक्तिलाई भन्दा ठूला व्यापारी अथवा उद्योगपति, आपराधिक पृष्ठभूमि भएका पहुँचवाला व्यक्तिलाई टिकट दिएर राजनीतिक नेतृत्वले अराजनीतिक अभ्यासलाई प्रश्रय दिएका छन् भने लोकतन्त्रकै उपहास गरेका छन् । निष्ठा र सिद्धान्तको राजनीतिमा खडेरी परेको छ । टिकट वितरणमा भएको स्वेच्छाचारिताले राजनीतिक सिद्धान्त र निष्ठाको अवमूल्यन भएको छ । नातावाद, परिवारवाद र सम्बन्धवादले प्रश्रय पाएको छ । नेताहरूले निर्वाचनलाई लोकतन्त्रको सौन्दर्यका रूपमा नभई राजनीतिक हतियारको रूपमा प्रयोग गर्न खोजेका छन् ।

राजनीतिक अवसरमा अरूलाई नदेख्ने र आफ्नालाई नछोड्ने प्रवृत्ति सबै राजनीतिक पार्टीमा छ तर हतपति कसैले विरोध गर्ने आँट गर्दैनन् । राजनीतिक पार्टीभित्र दास मनोवृत्ति कायम छ । प्रश्न उठाउनेलाई सिध्याउने खेल पनि राजनीतिभित्र हुनेगरेको छ । त्यही सिध्याउने खेल अन्तर्गत चुनावका बेला योग्य व्यक्तिलाई टिकट नदिएर बदला लिने काम भएको छ । यस्तो संस्कृतिले निष्ठावान, योग्,य इमानदार नेता र कार्यकर्ता राजनीतिबाट निराश भई विस्थापित हुने अवस्था सिर्जना भएको छ ।

बाबुले भोट हालेर जिताएको नेतालाई नातिले पनि भोट हाल्नुपर्ने राजीतिक संस्कारले गर्दा युवापुस्ता निराश छ । अहिलेको स्थितिले नेताहरूको पदमोह र सत्तामोहलाई मात्रै देखाएको छैन, उत्तराधिकारी पुस्ता नभएजस्तो ‘ग्याप’ को स्थितिलाई इंगित गरेको देखिन्छ । सधैँ आफैँ उम्मेदवार हुनुपर्ने, सधैँ आफैँ पदमा हुनुपर्ने र शक्तिमा हुनुपर्ने सोचले नयाँ पुस्ताले अवसरै नपाउने स्थिति सिर्जना भएको छ । यसबाट नयाँ पुस्तामा राजनीतिप्रति नै निराशाको भावनामा वितृष्णा उत्पन्न भइरहेको छ । नयाँ पुस्ता राजनीतिप्रति निरपेक्ष बस्ने सोच र अवधारणाको विकास हुँदै गएको छ ।

देश र जनताले युवावर्गबाट ठूलो आशा गरेको छ तर आसन्न निर्वाचनमा युवाले नै कम अवसर पाएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि २५ देखि ४० वर्षका १ हजार ८ सय ५३ अर्थात् ३०.८२ प्रतिशत युवाले मात्रै उम्मेदवार बन्ने अवसर पाएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा ३४.८५ प्रतिशत युवा उम्मेदवार थिए । यसअनुसार युवा उम्मेदवारी ४.०३ प्रतिशतले घटेको छ । गएको स्थानीय निर्वाचनमा पनि ४१.० प्रतिशत युवा उम्मेदवार थिए भने झण्डै ४०.० प्रतिशतले विजय हासिल गरेका थिए ।

योग्य होस् वा अयोग्य, आवश्यक होस् वा अनावश्यक, जेजस्तोसुकै अवस्थामा पनि विगतमा प्राप्त राजनीतिक शक्तिको आडमा दशकौंसम्म एउटै व्यक्ति राजनीतिमा हाबी भइराख्ने सोचले नयाँ पुस्ताले अवसरै नपाउने, युवापुस्ताबाट योग्य, आवश्यक ठानिएको र जनताले चाहेको व्यक्तिले अवसरै नपाउने स्थिति देखिएको छ । पटकपटक देशको शासनको बागडोर सम्हालिसकेका शेरबहादुर देउवा, केपी ओली, झलनाथ खनाल, पूष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, रामचन्द्र पौडेल, माधव नेपाल, ईश्वर पोखेरल, वामदेव गौतम, कमल थापा आदि इत्यादि नेताहरूले अझै पदलोलुपता देखाउनु अशोभनीयमात्रै होइन लज्जास्पद पनि छ । युवापुस्तालाई अवसर दिएर आफू अभिभावकीय भूमिकामा सीमित हुनुपर्ने नेताहरू नै राजनीतिमा अझै हाबी हुन खोज्ने प्रवृत्ति खेदजनक छ ।

पार्टीले टिकट नदिएको कुण्ठा र आक्रोश पोख्नकै लागि बागी उम्मेदवार बन्नु, पार्टी बदल्नु र स्वतन्त्र उम्मेदवार बन्नु स्वयं आफ्नै लागि शोभनीय कार्य होइन । देश र जनताको सेवा गर्न राजनीतिभित्रै हुनुपर्छ भन्ने पनि छैन ।

योग्य, आवश्यक र जनताले रुचाएका व्यक्तिले टिकट नपाएका कारण बागी उम्मेदवार बन्नु, पार्टी बदल्नु वा स्वतन्त्र उम्मेदवार बन्नु उचित हो । तर, पद, सत्ता र शक्तिकै लागि मात्र पार्टीलाई अन्तरघात गरी बागी उम्मेदवार बन्नु, पार्टी नै बदल्नु वा स्वतन्त्र उम्मेदवार बन्नु राम्रो अभ्यास होइन र यसले राजनीतिमा असल नजिर स्थापित गर्दैन । पार्टीले टिकट नदिएको कुण्ठा र आक्रोश पोख्नकै लागि बागी उम्मेदवार बन्नु, पार्टी बदल्नु र स्वतन्त्र उम्मेदवार बन्नु स्वयं आफ्नै लागि शोभनीय कार्य होइन । देश र जनताको सेवा गर्न राजनीतिभित्रै हुनुपर्छ भन्ने पनि छैन । राजनीतिभन्दा बाहिर अझ भनौँ पद, सत्ता र शक्तिभन्दा बाहिर बसेर त्यस्तो सेवा गर्न सकिन्छ ।

टिकट वितरणमा भएको गलत अभ्यासले नेपाली राजनीतिक संस्कार नै नांगिएको महसुस भइरहेको छ । चुनाव जित्नकै लागि मात्रै गठबन्धन गर्नु, गठबन्धनले नै उम्मेदवार मनोनयन गर्नु, योग्य र राम्रालाई भन्दा आफ्ना नातेदारलाई टिकट दिनमा प्राथमिकता दिनु पक्कै राम्रो अभ्यास होइन । यस्तो अभ्यासले योग्य र नैतिकवान व्यक्तिलाई राजनीतिबाटै विस्थापित गर्ने सम्भावना हुन्छ । योग्यता र नैतिकता नभएका नेताहरू समाजको आदर्श बन्न कदापि सक्दैनन् । अनि यस्ता अयोग्य र नैतिकताविहीन नेताहरूबाट समाज लाभान्वित पनि हुन सक्दैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?