सप्तरीका युवाले शुुरु गरेको दबाबमूलक आन्दोलनमा जनसमर्थन बढ्दै

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 5 mins

राजविराज । रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान अविलम्ब निर्माण गर्न माग गर्दै सप्तरीका युवाहरूले शुरु गरको दबाबमूलक आन्दोलनमा जनसमर्थन बढ्दै गएको छ ।

उनीहरूले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि दुई घण्टा धर्ना दिएका छन् । उनीहरूको पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत अन्तिम दिन शुक्रबार ऐक्यवद्धता जनाउदै जिल्ला प्रशासन कार्यलयको मूलगेटमा जनप्रतिनिधि तथा सामाजिक अभियन्ताहरू समेत २ घण्टा धर्नामा बसेका थिए ।

आन्दोलन परिचालन समितिका संयोजक तथा सप्तरी युथ नेपाल राजविराजका संयोजक सत्येन्द्र यादवका अनुसार ‘सप्तरीको शैक्षिक लगायत बृहत् हितसँग जोडिएको प्रतिष्ठानको कामकाज अविलम्ब चालु गर्नुपर्ने, जिल्लाको आर्थिक, समाजिक र पूर्वाधार तयारी विकास समितिको म्याद थप गर्नुपर्ने, विकास समितिमा अध्यक्ष लगायतका पदाधिकारी तत्काल नियुक्त गर्नुपर्ने, बजेट व्यवस्थापन गर्नुपर्नेलगायत माग सहितका माग लिएर आन्दोलन शुरु गरेको बताउनु भयो ।

युवाहरूले शुरु गरको दबाबमूलक आन्दोलनमा राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविन, मैथिली साहित्य परिषदका अध्यक्ष अबधेश कुमार झाले ऐक्यवद्धता जनाउँदै सरकारलाई अविलम्ब प्रतिष्ठान निर्माण कार्य सुरु गर्न माग गरेका छन् ।

राजविराज नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नम्बर ८ का वडाअध्यक्ष जय नारायण मण्डल , ७ नम्बरका वडा अध्यक्ष सुभाषचन्द्र यादव, ६ का शशि चौधरी, म–वि–ब क्याम्पसका स्ववियु सभापति रञ्जित कुमार यादव, सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहन यादव, निर्माण स्थलमा रिले अनशन बसिरहेका राम कुमार दास, सप्तरी युथ नेपालका सदस्य मुस्तकिन आलम ,सुरज यादव, बसन्त यादव, अनिल यादव ,एलिस यादव ,ओमकार कर्ण ,करण शर्मा लगायतका सप्तरी युथ आवद्ध युवाहरू धर्ना बसेका छन् ।

पहिलो चरणको कार्यक्रम समापन भएको तथा सरकार अझै गम्भीर नभएकाले थप सशक्त आन्दोलनमा जाने बताउँदै सप्तरी युथका कार्यवाहक अध्यक्ष यादवले छिटै दोश्रो चरणको आन्दोलन घोषणा हुने भएकाले जिल्लाका राजनीतिज्ञ, बुद्धिजीवी, शिक्षक विद्यार्थी, अधिकारकर्मी सहित सबैसँग साथ सहयोगको लागि आग्रह गरेका छन् ।

आर्थिक वर्ष ०७८÷७९ मा प्रतिष्ठानमा कुल ९ करोड ७५ लाख रुपैयाँ बजेट आएको थियो । जसमध्ये १ करोड ९४ लाख ९१ हजार ६ सय १२ रुपैयाँ मात्र खर्च भएको थियो भने ८ करोड २५ लाख ८ हजार ३ सय ८७ रुपैयाँ फिर्ता भएको थियो । खर्च भएकोमध्ये ७२ लाख ३ हजार ३ सय ३० रुपैयाँ प्रतिष्ठानको निर्माणस्थलको जग्गाको तारजाली घेराबेराको भुक्तानी दिइको थियो ।

२०७५ सालमा नेपाल सरकारको मन्त्री परिषदको बैठकले प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको थियो । यद्यपि अहिलेसम्म डिपिआर निर्माण बाहेक त्यहाँ केही काम भएको छैन ।

गजेन्द्र नारायण सिंह अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवम् प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जित कुमार झा सरुवा भएर अन्यत्र गएपछि १ वर्ष यता कार्यकारी निर्देशकको पद समेत रिक्त छ । यस्तै प्रतिष्ठानमा कार्यरत ३ जना कर्मचारीको करार म्याद सकिएपछि प्रतिष्ठान कर्मचारी विहीन बनेको छ ।

पदाधिकारी विहीन समितिको कार्यालयमा लाखौं रुपैयाँ खर्चेर खरिद गरिएका समान थन्किएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?