काठमाडौं । नेकपा एमालेले बिहीबारदेखि सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित यात्राको क्रममा शुक्रबार डडेल्धुरा पुग्नुभएका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सत्तारूढ दल कांग्रेस अहिले ‘प्रचण्डपथ’ को भरिया बनेर हिँडेको टिप्पणी गर्नुभएको छ । सत्तारूढ गठबन्धनको प्रमुख घटक कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा आयोजित आमसभामा अध्यक्ष ओलीले कांग्रेसको नीति र अहिलेको गन्तव्यबारे टिप्पणी गर्दै भन्नुभयो, ‘अहिले मोटामोटी रूपमा यो सरकार प्रचण्डपथमा हिँड्न खोजेको छ । कांग्रेस प्रचण्डपथको भरिया बनेको छ ।’
अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकार हल्लिरहेको र कुनै पनि बेला ढल्न सक्ने दाबी गर्दै भन्नुभयो, ‘सरकार हल्लिइरहेको छ । कर्याकमर्याक भइरहेको छ । यो सरकार कुनै समय ढल्न सक्छ । यो गठबन्धनका छेस्काले टिकाएको सरकार हो । गठबन्धनका नेताहरू सत्ता स्वार्थ र कसरी मन्त्री हुने भन्नेमा लागिरहेका छन् । मुलुक बर्बादीको दिशामा जान नदिनका लागि सबै सजग हुनुपर्छ ।’
देश बर्बाद हुनबाट जोगाउन आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउनुपर्छ
पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले २०८४ को चुनावमा नेकपा एमालेले एकल बहुमत नल्याए देश देश रहन्छ कि रहँदैन ? भन्ने आशंका रहेको जिकिर गर्नुभएको छ । गठबन्धन रही रहे सम्हाल्नै नसक्ने गरी देशलाई बर्बादीमा लग्ने दाबी गर्दै ओलीले भन्नुभयो, ‘यो गठबन्धन कथम् कदाचित टिक्यो भने पनि सम्हाल्नै नसक्ने गरी देशलाई बर्बादीमा लग्नेछ । यदि ०८४ को चुनावमा पनि नेकपा एमालेले एकल बहुमत ल्याएन भने देश रहन्छ कि रहँदैन ? देश बर्बाद त भइसक्यो । अझै बर्बाद हुनेछ ।’ उहाँले ०८४ को चुनावमा नेकपा एमालेको नेतृत्वमा सरकार हुनुपर्नेसमेत बताउनुभयो । अध्यक्ष ओलीले नेपाली जनताका बीचमा द्वन्द्व मच्चाउन खोज्नेहरूले सक्रिय भएर आतंककारी गतिविधि गरिरहेको आरोपसमेत लगाउनुभयो । चिहानबाट राजतन्त्र फर्काउन भुतप्रेतवादी तत्व सलबलाएको उहाँको टिप्पणी छ ।
प्रचण्ड र नेपालले एमालेविरुद्ध षड्यन्त्र गरेको आरोप
नेकपा एमालेका अध्यक्ष ओलीले पार्टीभित्र अनेक प्रकारको षड्यन्त्र हुँदा पनि पार्टीलाई जनताले जोगाएको बताउनुभएको छ । मध्यपहाडी लोकमार्ग पदयात्राको क्रममा शुक्रबार डोटीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रचण्ड षड्यन्त्र भए, माकुने षड्यन्त्र भए, अरू षड्यन्त्र भए ती सबै षड्यन्त्रलाई परास्त गरेर पार्टी जोगाउनु भएको छ । पार्टी फेरि पहिलेकै ठाउँमा आएको छ । देशी विदेशी सारा शक्ति लागेर पार्टीलाई सिध्याउन लाग्दा पनि पार्टी सकिएन । तपाईं सबैलाई धन्यवाद ।’ अध्यक्ष ओलीले पार्टी नेता कार्यकर्ताहरूलाई एक भएर काम गर्न पनि निर्देशन दिनुभयो ।
एमालेको अभियानलाई अवरोध गर्ने ‘पहिचानवादी’ को घोषणा
बिहीबारबाट सुरु भएको नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मंसिर २६ गते कोशी प्रदेशको उदयपुरस्थित घुर्मीमा आइपुग्ने छ । घुर्मीमा बृहत् सभाका लागि एमाले कोशी प्रदेश कमिटीले आन्तरिक तयारी तीव्र बनाइरहेको छ । उक्त आमसभामा जिल्ला-जिल्लाबाट नेता तथा कार्यकर्ता ल्याउने एमालेको तयारी छ । घुर्मीबाट यस प्रदेशमा सुरु हुने एमालेको संकल्प यात्रामा अवरोध गर्नका लागि कोशी प्रदेश नामकरणविरुद्धको पहिचानवादी समूहले ‘घुर्मी-चिवाभञ्ज्याङ जनजागरण अभियान’ थालेको छ । एमालेले झुलाघाटमा संकल्प यात्रा सुरु गरिरहँदा उदयपुरको घुर्मीमा ‘घुर्मी-चिवाभञ्ज्याङ’ पहिचानवादी जागरणको उद्घाटन भइरहेको थियो । उक्त कार्यक्रममा कोशीका विभिन्न जिल्लाबाट पहिचानवादी अगुवा र कार्यकर्ता भेला भएका थिए । अभियानको उद्घाटन गर्दै घुर्मी-ओखलढुंगा-सोलु सडकलाई ‘बलबहादुर राई’ मार्गको नामकरणसमेत गरिएको छ ।
एमालेकै अभियानलाई लक्षित गरेर प्रदेश नम्बर १ पुनःनामकरण संघर्ष समितिले मध्यपहाडी मार्गमा पर्ने घुर्मी च्याङ्थापु सडक २६ र २७ गते बन्दको आहृवानसमेत गरेका छन् । यसअघि एमालेका नेतालाई निशाना बनाउँदै आएका पहिचानवादीले योपटक पनि सोही पार्टीलक्षित अवरोधका कार्यक्रमले झडपको सम्भावना बढाएको छ ।
एमालेको अभियानलक्षित पहिचानवादीको आन्दोलनले सुरक्षा चुनौती बढ्ने देखेपछि प्रहरी-प्रशासन सुरक्षा रणनीतिको गृहकार्यमा जुटेको छ । यसका लागि प्रदेशस्थित सुरक्षा निकायको बैठक पटक-पटक बसेको छ । एक-अर्काको स्थान र समय नजुध्ने गरी कार्यक्रम तय गर्न प्रहरीले अनुरोध गरेको छ । पहिचानसहितको प्रदेश पुनः नामकरण अभियान समितिका अध्यक्ष डाकेन्द्रसिंह थेगिमले आफूहरूको जनजागरण अभियान एमाले लक्षित नै भएको स्पष्ट पार्दै भन्नुभयो, ‘हामीले पार्टीलाई भन्दा पनि व्यक्तिलाई लक्षित गरी अभियान सुरु गरेका हौँ । एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई, एमाले नेता महेश बस्नेत र कोशी प्रदेशको पक्षमा मतदान गर्ने ८२ जना प्रदेशसभा सदस्य यात्रामा सहभागी भए हामी अवरोध गर्छौं ।’ एमालेले मध्यपहाडी लोकमार्ग भएर झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको मिति तय गरेसँगै संघर्ष समितिले काउण्टर विज्ञप्ति जारी गरेको थियो । नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले कसैले धम्की दिँदैमा अभियान नरोकिने प्रष्ट पार्दै भन्नुभयो, ‘हामीले यो देशको समृद्धिको लागि अवसर र सम्भावनाका लागि भनेर यात्रा सुरु गरेका छौँ । कसैले भन्दैमा रोक्ने, पार्टीका नेताहरूलाई सहभागी नगराउने भन्ने हुँदैन ।’
एमाले र पहिचानवादीहरूबीच झडप हुनसक्ने आशंका बढिरहेको बेला कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले समन्वय र सहकार्यमा समस्या समाधान हुने जिकिर गर्दै भन्नुभयो, ‘एमालेको अभियान लक्षित गरेर अवरोधको कार्यक्रम सार्वजनिक भएको छ । तर, हामी शान्तिपूर्ण ढंगले नै यो समस्या समाधान गर्न सक्छौँ भन्नेमा विश्वस्त छौँ । लोकतन्त्रमा सबैले आफ्ना कार्यक्रमहरू गर्न पाउनुपर्छ । यही भएर कार्यक्रम नजुधुन् भनेर प्रहरी प्रशासन कोअर्डिनेशन र कोअप्रेसनमा छ ।’
डडेल्धुराबाट देउवालाई फोन
एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई देउवाकै गृह जिल्लाबाट फोन गर्नुभएको छ । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग पदयात्राको क्रममा शुक्रबार डडेल्धुरा पुग्नुभएका ओलीले देउवालाई फोन गर्नुभएको हो । ओलीले देउवालाई फोनमा, ‘जय नेपाल, गन्यापधुरानजिक रहेको अमरगढीमा छौँ । राम्रो छ यतातिर, तपाईंको जिल्लामा आएको बेला यसो सम्झेको नि’ भन्नुभयो । आफ्नो सचिवालयले गुडविल कलका रूपमा भिडियो बनाएपछि सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेख्नुभएको छ, ‘सुन्दर डडेल्धुरा, मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौँ भन्ने लाग्यो । उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नुभयो । धन्यवाद शेरबहादुरजी ।’ नेकपा एमालेले बिहीबारबाट १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान थालेको छ । बिहीबार बिहान साढे ८ बजे अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा झण्डोत्तोलन गरेर अभियानको सुरुवात गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच