![के छ हाम्रो पूर्वीय दर्शनमा ?](https://ehimalayatimes.com/wp-content/uploads/2022/10/Achyut-Prasad-Paudel.jpg)
म्याग्दी । म्याग्दीमा वन फँडानी रोकिएपछि सामुदायिक वन र खोरियाहरू घना जंगल बन्दै जाँदा जंगली जनावरहरूको रजगज बढ्दै गएको छ । समुदायको जिम्मामा रहेका सामुदायिक वनमा काठदाउरा, घाँस र स्याउला फँडानी रोकिएपछि म्याग्दीका सामुदायिक वन हराभरा भएका छन् । वन क्षेत्र हराभरा र घना बन्दै गएपछि जंगली जनावरहरूको वृद्धि भएको र पछिल्लो समय ती जंगली जनावरहरू गाउँ बस्तीमा नै प्रवेश गर्न थालेका म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोटका टकबहादुर विकले बताउनुभयो ।
म्याग्दीको रुम, निस्कोट, ओखरबोट, देवीस्थान, बगरफाँट सामुदायिक वन, गौश्वारा सामुदायिक वन, भकिम्ली, अर्मन, बरंजालगायत ७३ वटा सामुदायिक वन अहिले घना जंगलमा परिणत भइसकेका जिल्ला वन डिभिजन कार्यालय म्याग्दीले जनाएको छ । वन घना बन्दै गएपछि अहिले ती जंगलहरूमा जंगली जनावरहरूको वृद्धि भएको र जंगली जनावरहरू गाउँबस्तीमा नै प्रवेश गरेर खेतीपाती नष्ट गर्नुका साथै मानिसहरूलाई दुःख दिन थालेका स्थानीयले बताएका छन् ।
२०५१ सालदेखि सुरु भएको सामुदायिक वनको अवधारणाअनुरूप समुदायस्तरबाट वनको संरक्षण थालिएपछि वनजंगलमा वृद्धि हुनुका साथै ग्रामीण रोजगारी र विपन्न समुदायको उत्थानमा सामुदायिक वन उपभोक्ता समूहहरूले महत्वपूर्ण योगदान गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीले जनाएको छ । डेढ दशक अघिसम्म नांगा डाँडा, खोला बगर, सार्वजनिक जग्गा अहिले बाक्लो वनका रूपमा परिणत भएको मालिका गाउँपालिका-६ का तीर्थबहादुर सिउथानीले बताउनुभयो । ‘पहिले गाईवस्तु चराउने रित्ता पाखा अहिले घना जंगलमा परिणत भएका छन्’ सिउथानीले भन्नुभयो, ‘पहिला–पहिला सबै वनमा नै निर्भर रहन्थे, घाँस, दाउरा, स्याउला, काठ सबै वनबाटै ल्याउनुपर्ने हुन्थ्यो, त्यसैले पहिला पातलिएको वन अहिले गाउँलेले फँडानी रोकेपछि मौलाएको हो ।’
वन जंगलमा अहिले कुकाठ मात्रै होइन सुकाठ (दार र फर्निचरका लागि काम लाग्ने काठ) पनि कसैले काट्न नचाहने भएकाले जंगली क्षेत्र विस्तार भएको निस्कोट सामुदायिक वन उपभोक्ता समितिका सदस्य रणबहादुर विकले बताउनुभयो । ‘पहिला पहिला रातारात फँडानी हुने वन अहिले हराभरा भएको छ । वनभित्र जंगली जनावरको रजगज छ । मानिस वनमा पस्नै डराउने गरेका छन्’ विकले भन्नुभयो, ‘सामुदायिक वनले चरिचरनमा रोक लगाएका छन् । चरिचरन रोकिनुका साथै घाँस दाउरा गर्न गाउँले जंगल पस्न छोडेपछि प्राकृतिक रूपमा नै वन जंगल हराभरा हुन थालेका हुन् ।’
सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीका अनुसार जिल्लाका ३५० बढी सामुदायिक वनको अवस्था अहिले सुधार हुँदै गएको छ । सामुदायिक वनको आम्दानीले सामाजिक उत्तरदायित्वमा महत्वपूर्ण भूमिका खेल्दै आएको जिल्ला वन डिभिजन कार्यालय म्याग्दीका चन्द्रमणि सापकोटाले बताउनुभयो । ‘समुदायमा हस्तान्तरण भएपछि सामुदायिक वनहरू समृद्धिको आधारका रूपमा अघि बढिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘समुदायले संरक्षण गर्न थालेपछि वन क्षेत्र वृद्धि भएको छ, वातावरणीय सन्तुलन गर्न योगदान गरेको छ, गरिबी निवारण, आयआर्जन, नेतृत्व तथा क्षमता विकास, सामाजिक विकास, समावेशी संरचनाजस्ता नमुना कार्यले सामुदायिक वन क्षेत्र समृद्धिको बलियो आधारका रूपमा स्थापित भइरहेका छन् ।’
जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समूहले वनको नजिक र टाढा रहेका सबै उपभोक्तालाई समेट्दै प्राकृतिक स्रोतको समुचित उपयोगमा जोड दिँदै आएको महासंघले जनाएको छ । महासंघ तथा उपभोक्ता समूहको निर्णायक पदमा महिला, गरिब, विपन्न, आदिवासी जनजाति, अल्पसंख्यक समुदायलाई ५० प्रतिशत सहभागिता सुनिश्चित गरी नेतृत्वमा ल्याउने काम सामुदायिक वनको उत्कृष्ट र सफल अभ्यास रहेको सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीका भूतपूर्व अध्यक्ष देवबहादुर घलेले बताउनुभयो ।
सामुदायिक वन ग्रामीण महिला तथा विपन्न समुदायका लागि आयआर्जनको माध्यम बनिरहेको छ । वनमा आधारित जडीबुटी तथा वनपैदावर विपन्न समुदायको आम्दानीको प्रमुख स्रोत बनेको छ । जिल्लाका अधिकांश सामुदायिक वनमा जडीबुटी र घाँस खेती हुने गरेकाले विशेष गरी महिलाहरूलाई आत्मनिर्भर बनाउन सहज भएको भूतपूर्व अध्यक्ष घलेको भनाइ छ । हालसम्म सरकारले सातवटै प्रदेशमा २२ हजार २२२ वन समूहलाई हस्तान्तरण गरिसकेको छ । देशका कुल सामुदायिक वन समूहमध्ये लगभग ३० प्रतिशत आर्थिक रूपमा कमजोर छन् । कुल वन क्षेत्रको १७ प्रतिशत संरक्षण क्षेत्र बनाउने अन्तर्राष्ट्रिय अभ्यास रहे पनि नेपालमा करिब ४० प्रतिशत वन संरक्षण क्षेत्रको रूपमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच