मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल बाँसबारीस्थित गंगालाल अस्पताल भर्ना हुनुभएको छ । मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई गंगालाल अस्पताल लगिएको थियो । राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले नियमित चेक जाँच गर्दा डाक्टरले निगरानीमा बस्नुपर्ने बताएपछि अस्पतालमा भर्ना गरिएका जानकारी गराउनुभयो ।

अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोली राष्ट्रपति पौडेलेको उपचारमा संलग्न छ । उहाँलाई भिआइपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा भर्ना गरिएको छ । पौडेलको एन्जिओग्राम गरिएको छ । प्रारम्भिक रिपोर्ट राम्रै भए पनि चिकित्सकले उहाँलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखेका छन् ।

यसअघि शनिबार पनि पौडेलको गंगालालमै स्वास्थ्य परीक्षण गरिएको थियो । यसअघि वैशाखको पहिलो साता पनि अस्वस्थ भएपछि पौडेललाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । त्यसपछि उहाँलाई भारतको राजधानी नयाँदिल्ली लगेर त्यहाँस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गरिएको थियो ।

स्वास्थ्य उपचारका लागि देउवा सिंगापुर प्रस्थान
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारको लागि सिंगापुर जानुभएको छ । सभापति देउवा मंगलबार राति ११ बजे सिंगापुर जानुभएको हो । देउवा नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुभएको सचिवालयले जनाएको छ । सभापति देउवाको साथमा उहाँकी पत्नी आरजू राणा देउवा पनि सिंगापुर जानुभएको छ । सभापति देउवाले पछिल्लो एक दशकमा सिंगापुरमा मात्र नियमित उपचार गराउँदै आउनुभएको छ । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार दुई/दुई वर्षमा ‘फलोअप’मा जानुपर्ने थियो । तर, २०७८ असारमा देउवा प्रधानमन्त्री बनेपछि व्यस्तताका कारण ‘फलोअप’का लागि सिंगापुर जान सक्नुभएको थिएन । सभापति देउवाको सचिवालयका अनुसार व्यक्तिगत खर्चमा सिंगापुर फलोअपमा जानुभएका देउवा एक सातापछि स्वदेश फर्किने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?