आक्रोशित बन्दै सिरहाका मिटरब्याजपीडितहरू, साहुले हडपेको जमिनको धान काटेर भित्र्याए

हिमालय टाइम्स
Read Time = 5 mins

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले मिटरब्याज (अनुचित लेनदेन)का उजुरीहरुको समयमा समाधान दिन नसक्दा उजुरीकर्ताहरु आक्रोशित बन्न थालेका छन् । यसैको परीणाम जिल्ला सदरमुकाम सिरहा नगरपालिका-१९ सन्हैठामा बिहीबार मिटरब्याजपीडितले साहुले हडपेको जमिनको धान काटेर भित्र्याएका छन्।

रामशरण यादवले गाउँकै योगेन्द्र यादवसँग २०६१ पुस १ गते १ लाख रुपैया लिएबापतको धितो दुई कित्ता जमिन १० कठ्ठा ११ धुर र ३ कठ्ठा ९ धुरसहित जम्मा १४ कठ्ठा जमिन धितोबापत राजीनामा पास गरेर लिएको ऋण तिरिसके पनि सबै जमिन हडपेको मुद्दा समयमा मिलापत्र हुन नसक्दा पीडिले बिहीबार खेतको धान काटेकार भित्र्याएका हुन् ।

रामशरणले एक लाख रुपैयाँ लिएबापत थप ४ लाखको कपाली र १४ कठ्ठा जमिनसमेत धितोबापत राजीनामा पास गरेको बताए ।

उनले रकम लिएको दुईवर्ष भित्रै योगेन्द्रको घर बनाउने बेलामा इँटा, बालुवा र गिट्टी आफ्नै ट्याक्टरमा घरसम्म पुर्‍याएर उनको रकम हिसाव मिलान भइसकेको बताए ।

त्यसपछि जमिन फिर्ता गरिदिन आग्रह गर्दागर्दै योगेन्द्रले ४ लाखको कपाली अदालतमा मुद्दा लगाएर  थप दुई बिगाहा १० कठ्ठा छ धुर जमिन डाक लिलाम गरेर लियो। तत्कालीन अवस्थामा ४ लाखको ब्याज जोडेर पुग्ने गरी जमिनको मूल्याङ्कन गर्ने अधिकारीलाई समेत प्रभावमा पारेर उनले आफ्नो जमिन हडपेको रामशरणका छोरा विन्देश्वर यादवले बताए ।

२०६५ पछि पटक पटक गाउँमै सामाजिक छलफलहरु भए पनि उनले वास्ता गरेनन् । पटक-पटकको सामाजिक छलफलहरु उनले जमिन फिर्ता गरिदिने भने पनि जमिन फिर्ता गरेनन् ।  समाजको दवावपछि योगेन्द्रले २०६९ माघ १८ गते योगेन्द्रको छोरा अमितको नामबाट रामशरण यादव र रामनाथ यादवको नाममा एक विगहा ४ कठ्ठा जमिन फिर्ता गरिदिए ।

त्यसलगतै योगेन्द्रका छोरा, श्रीमतीले हकदावी मुद्दा लगाएर २०७५ जेष्ठ २ गते जमिन पुनः फिर्ता लिए। उनीहरुले जवरजस्ती हडपेको जमिनमध्ये ५ कट्टा १६ धुर पाँच लाखको दरले बेचेको पनि पीडितहरुले सुनाए ।

पटक पटक जालझेल गरेर हाम्रो जमिन उनीहरुले लिए पनि सबै जमिन आफैले भोग चलन गर्दै आएका थिए । पछिल्लो दुई वर्ष देखि योगेन्द्रले हकभोगसमेत खोसेपछि उनीहरु अहिले जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनमा उजुरी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले पटक पटक पत्र काटेर छलफलमा बोलाए पनि योगन्द्र उपस्थित नहुने बताए । उनीहरु बिच पछिल्लो पटक यहि मंसिर ११ गतेको छलफलमा योगेन्द्रले १४ कट्टा जमिन किनेको र बाँकी जमिन आफूसँग लिएको ऋण बापत अदालतबाट जमिन डाक लिलामगरी लिएको उल्लेख भएको छ ।

जिल्ला प्रशासन कार्यायको ढिला सुस्ती र अक्रमण्यताले पीडितहरु झन पीडित र आक्रोशित बनेका छन् । यहि घटनाले पनि पीडितहरुको आक्रोश देखिएको स्थानीय जानकारहरु बताउँछन् । यसअघि पनि मिटरव्याज पीडितहरुले जिल्ला सरमुकाममा प्रमुख जिल्ला अधिकारीको विरुद्ध नाराबाजी गरेका थिए ।

स्थानीय जानकारहरुका अनुसार अनुचित लेनदेन समितिले यस्ता मुद्दाहरुलाई समयमै सहि ढङ्गले निर्णय नगरे मिटरव्याज पीडितरु अझ आकोषित हुने देखिन्छ । यसखालको घटनाले झडप र विग्रहको अवस्था आउनसक्ने सामाजिक अगुवाहरु बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?