बिग्रिएको अर्थतन्त्र सुधार हुँदैछ, केही महिनाभित्रै निकै गतिमा आउँछ : प्रधानमन्त्री दाहाल

फाइल तस्बिर

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 19 mins

कैलाली । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र सुधारका लागि मौद्रिक नीतिको कार्यदिशालाई लचिलो बनाएको बताउनुभयो ।

सुदुरपश्चिम महोत्सव उद्घाटन समारोहमा बोल्दै दाहालले अब अर्थतन्त्रले गति लिने बताउनुभयो । मौद्रिक नीति ल्याउँदा ६ दशमलव ५ प्रतिशत नै राखिएको नीतिगत दरलाई पहिलो त्रैमासमा लचकता अपनाई ५ दशमलव ५ प्रतिशतमा झारिएको बताउँदै दाहालले यो काम सरकारकै पहलमा भएको दावी गर्नुभयो ।

पहिलो त्रैमासमै राष्ट्र बैंकले मौद्रिक नीतिका प्रमुख औजारहरुलाई लचिलो बनाएर आगामी दिनमा ब्याजदर थप घट्ने संकेत दिए जस्तै प्रधानमन्त्री दाहालले केही महिनाभित्रै अर्थतन्त्र निकै गतिमा आउने दावी गर्नुभयो । उहाँले हाल रेमिट्यान्स बढिरहेको र धेरै देशहरुको तुलनामा नेपालसंग सञ्चित बिदेशी मुद्रा बढी भएका कारण अर्थतन्त्र धेरै सुधारिएको दावी गर्नुभयो ।

प्रधानमन्त्री दाहालले एनसेल प्रकरणमा बिभिन्न गलत प्रचारबाजी भएपनि आफु दुबहीबाट फर्किएर त्यसको निकास दिन खोजेको बताउनुभयो । बिगतमा नेपाललाई छलेर एनसेलले ढाँटिरहेको बताउँदै प्रधानमन्त्रीले यस पटक नेपालले मुद्धा जितेसंगै एनसेलसंगको जित भएको दावी गनुभयो । सरकारले सोही छानबिनका लागी ५ सदस्यीय समिति गठन गरेको बताउँदै दाहालले समिति देशको पक्षमा निर्णय लिने बिश्वास ब्यक्त गनुभयो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले देशमा निराशा पैदा गर्ने अराजकताबादी हावी भएको बताउनुभयो । आफु प्रधानमन्त्री हुँदा निकै डरलाग्दो स्थितिमा रहेको अर्थतन्त्र निकै सुध्रिदाँपनि केही गलत तत्वहरु जनतामा निराशा फैलाउने काममा मात्रै लागेकाले यस्ता तत्वबाट सचेत रहन आग्रह गर्नुभयो । ब्यवस्था बिरोधी र अराजकताबादी बिरुद्ध सत्ता गठबन्धन र बिपक्षी दल एक भएको उहाँले स्मरण गराउनुभयो ।
उद्योग बाणिज्य संघको मागलाई सम्बोधन गर्नुभएको प्रधानमन्त्री दाहालले सबैभन्दा बढी सुदुरपश्चिमलाइनै प्राथमिकता राखेको बताउनुभयो । सुदुरपश्चिम विश्वविद्यालय, गेटा मेडिकल कलेज लगायत आफ्नै पालामा स्थापना भएको दावी गर्दै दाहालले सुदुरपश्चिमका बिकासका काममा गति दिादै गेटा विश्वविद्यालय सम्बन्धी तत्काल संसदमा विधेयक ल्याउने बताउनुभयो । फाप्ला खेल ग्रामलाई समेत सरकारको गौरबको योजनामा राख्ने प्रधानमन्त्रीदाहालको प्रतिबद्धता थियो ।

प्रधानमन्त्री दाहाललाई महोत्सव आयोजक कैलाली उधोग बाणिज्य संघले सुदुरपश्चिमका बिकास सम्बन्धी बिभिन्न १० माग सहित १० किलोको माला लगाएको थियो । सेती प्रादेशिक अस्पतालमा आइसियू स्थापना, क्षेत्रीय खेलकुद रंगशाला, विश्वविद्यालय स्थापना, अप्टिकल फाइबर विस्तार र दुग्ध प्रशोधन केन्द्रको स्थापना गरी पाँच बुँदा मागको सुनुवाई भइसकेको छ । अन्तराष्ट्रिय क्रिकेट रंगशाल, प्रदेश सभा सम्मेलन गृह, दोधारा–चाँदनी सुक्खा बन्दरगाह, प्रदेशस्तरीय पर्यटन केन्द्र निर्माण, गेटा विमानस्थल धावनमार्ग कालोपत्र तथा अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिनुपर्ने र सेती प्रादेशिक अस्पताललाई सुविधासम्पन्न बनाउने बुँदाहरु आंशिक रुपमा सरकारले सुनुवाई गरेको अध्यक्ष कुँवरले बताउनुभयो ।

प्रधानमन्त्रीको मन्तव्यको यस्ता छन् केही बुँदाहरुः

सुदूरपश्चिमको भूगोल र यहाँका जनतासँग, यहाँको विकास प्रक्रियासँग मेरो बेग्लै प्रकृतिको सम्बन्ध रही आएको छ । मेरो समग्र राजनीतिक जीवन अन्याय र विभेदविरुद्ध सक्रिय रहँदै आयो । सबै जाति, वर्ग, क्षेत्र, भूगोल र समुदायको अधिकार प्राप्ती भएमात्रै साँचो अर्थमा राष्ट्रियताको विकास हुन्छ भन्ने मान्यता अनुरुप ऐतिहासिकरुपमा केन्द्रीकृत राज्य प्रणालीबाट सुदूरपश्चिम प्रदेशले भोग्नुपरेको भौगौलिक, सामाजिक र सांस्कृतिक विभेदविरुद्ध हिजो संघर्षका क्रममा, शान्ति प्रक्रिया र संविधान जारी भएपछि पार्टी र सरकारको नेतृत्वमा रहँदा मैले विशेष भूमिका खेल्दै आएको छु ।
अहिले तेश्रोपटक प्रधानमन्त्री हुँदा सबैभन्दा धेरै भ्रमण र सरकारका तर्फबाट समेत निर्णायक प्रकृतिका कामहरु सुदूरपश्चिमका लागि नै गरिएका छन् । यसको गाम्भीर्यतालाई यहाँहरुले बुझ्नुहुनेछ भन्ने मेरो अपेक्षा छ । प्रधानमन्त्री भएलगत्तै सुदूरपश्चिमबाटै विकास आयोजनाहरुको अनुगमन तथा निरिक्षण गर्ने घोषण गरे अनुसार मैले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको कार्यदेखि खप्तड क्षेत्रलाई सांस्कृतिक तथा प्राकृतिक पर्यटनको केन्द्र बनाउने घोषणाासहित त्यहाँ भ्रमण गरेको विदितै छ । आज यस क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यो सुदूरपश्चिम महोत्सवमा समेत कतिपय महत्वपूर्ण कामहरु छोडेर म यहाँ उपस्थित भएको छु ।
यहाँहरु विदितै हुनुहुन्छ, विभेद र असमानताको अन्त्य, बिभिन्न जाति, वर्ग, क्षेत्र तथा समुदायको मुक्ति र अधिकारका लागि लामो लडाईपछि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भएको हो, यसमा सुदूरपश्चिमका जनताको त्याग र बलिदान स्मरणीय छ । यही त्याग र बलिदानका कारण कुनै बेला केन्द्रीय राज्यसत्तासँग पूर्णरुपमा परनिर्भर रहेको सुदूरपश्चिमले आफ्नै सरकार निर्माण गर्ने परिस्थिति सिर्जना भएको छ भने विकासका अनगिन्ती सम्भावनाका ढोका खुलेका छन् । यहाँका जनताले आफ्नै प्रकृतिको मौलिक विकासको मोडेल पहिचान गर्ने अवसर प्राप्त गरेका छन् ।
सुदूरपश्चिमका जनताले आफ्नो अधिकार प्राप्ती र यस क्षेत्रको विकासका लागि मैले निरन्तर पहलकदमी लिँदै आएको विदितै छ । मेरो पहिलो र दोश्रो कार्यकालमा सुदूरपश्चिमलाई सुन्दरपश्चिम बनाउन, यहाँ रहेका प्राकृतिक सम्पदा, सांस्कृतिक विरासत, विकासका सम्भावनाहरुलाई पहिल्याउँदै यस क्षेत्रको समग्र विकासका लागि निर्णायक र रणनीतिक महत्वका काम अघि बढाएको म पुनः स्मरण गराउन चाहन्छु ।
सुदूरपश्चिम विकास आयोगको गठनदेखि सुदूरपश्चिम विश्वविद्यालयको स्थापना, सुदूरपश्चिम क्षेत्रमा रोजगारी र विकासका लागि उत्तर दक्षिण कनेक्टिभिटी जोडने महाकाली करिडोर, उत्तरतर्फ उरै भञ्ज्यांगदेखि दक्षिणतर्फ भारतको सीमाना जोडने सडक, कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र तथा वेदकोट नगरपालिकाको छेलामा औद्यौगिक क्षेत्र स्थापनाको घोषणा, महाकाली नदीमा मोटरेबल पुल, महाकाली सिँचाई आयोजनाको तेश्रो चरणको कामको शुरुवात मेरो यसअघिका कार्यकालका केही रणनीतिक महत्वका कामहरु रहेका थिए ।
एउटा संयोग नै भनौं, पहिलो र दोश्रो कार्यकालमा शुरु भएका यी कामहरुलाई पूर्णता दिने संयोग पनि मेरै तेश्रो कार्यकालमा भएको छ । गेटामा मेडिकल कलेजका लागि २०६६ सालमा पहिलोपटक बजेट विनियोजन गरिएको र बीचमा विवादित भइ रोकिएको काम म दोश्रोपटक प्रधानमन्त्री हुँदा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेपछि शुरु भएको थियो । सो अनुरुपका संरचना निर्माण करिब सम्पन्न हुने अवस्थामा छन् । अहिले मेरो तेश्रो कार्यकालमा गेटामा मेडिकल कलेज मात्र होइन, शिक्षण अस्पतालसहितको स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भएको छ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नेपालको पहिलो हेल्थ साइन्स युनिभर्सिटी बन्ने र त्यो यही सुपमा बन्ने सौभाग्य प्राप्त भएको छ । विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल, अनुसन्धान केन्द्र, स्कूल अफ हेल्थ साइन्सेज, विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल र अन्य अस्पताललाई समेत शिक्षण अस्पतालको रुपमा विकास गर्ने प्रावधानसहितको विधेयक व्यवस्थापिका संसदमा प्रवेश गरेको छ । छिटै हामी विश्वविद्यालयको विधेयक पारित गरेर कक्षा र अस्पताल सञ्चालन गर्न सक्ने अवस्थामा हुनेछौं । यो विश्वविद्यालय स्थापना भएसँगै एकातिर प्राज्ञिकरुपमा विश्वमैं प्रतिष्पर्धा गर्ने किसिमले स्वास्थ्य बिज्ञान अध्ययनको हब सुदूरपश्चिम बन्ने छ भने अर्कोतर्फ विश्वविद्यालयभित्रै ६ सय बेडको अस्पताल र वरिपरिका अन्य सामुदायिक अस्पतालहरु पनि शिक्षण अस्पतालको रुपमा स्तरोन्नती हुनेछन् ।
मेरो तेश्रो कार्यकालमा भएको भारत भ्रमणका क्रममा समेत सुदूरपश्चिमलाई विशेष प्राथमिकता दिएर कतिपय आयोजनाहरु अघि बढेका छन् । भारतसँग प्रवासनका लागि ऐतिहासिक महत्व बोकेको बैतडीको झुलाघाट र सांस्कृतिक महत्व बोकेको डडेल्धुराको पर्शुराममा महाकाली नदीमा मोटरेबल पुल बनाउने सम्झौता अनुरुप भारतीय पक्षबाट काम अघि बढेको छ ।
नेपाल र सुदूरपश्चिमकै विकासमा निर्णायक भूमिका खेल्ने सुक्खा बन्दरगाह निर्माणका लागि कञ्चनपुरको दोधारा चाँदनीमा शुरु भएको बन्दरगाहको डिपिआरको काम करिब करिब सम्पन्न भएको छ । वर्षौदेखि रोकिएको पञ्चेश्वर जलविद्युत परियोजनाको डिपिआर निर्माणको कामले गति लिएको छ । यसैगरी यस क्षेत्रमा नेपालकै पहिलो इन्स्टिच्यूट टेक्नोलोजी निर्माणको प्रक्रिया अघि बढेको छ । फाप्लामा क्रिकेट मैदान बनाउने कुरा सरकारले नीति तथा कार्यक्रममा नै उल्लेख गर्दै त्यसको काम अघि बढेको छ ।
गौरी फण्टा नाकाको स्तरोन्नती, खप्तड रामारोशन पर्यटन क्षेत्र विकास, बन पैदाबारजन्य उद्योग स्थापना गर्ने, अतरियामा जडिबुटी प्रशोधन केन्द्र स्थापना जस्ता काम पनि मैले अघि बढाएको थिएँ । यी कामहरु समेत अहिलेको कार्यकालमा पुरा गरिनेछन् । चमेलिया, पश्चिम सेती लगायतका कतिपय जलविद्युत आयोजनाका लागि समेत मेरो पालामा निर्णायक कामहरु अघि बढेको यहाँलाई सर्वविदितै छ । यी विकास परियोजनाहरुलाई तीब्ररुपमा सम्पन्न गर्न सरकारका तर्फबाट मेरो पूर्ण प्रयास रहनेछ । यो कार्यकालमा उरै भज्यांग र टिंकर जोडने सडक खण्ड निर्माणलाई विशेष प्राथमिकताका साथ अघि बढाइने विश्वास व्यक्त गर्दछु ।
यसैगरी सुदूरपश्चिम र कर्णालीको समग्र विकासमा ऐतिहासिक महत्व राख्ने १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत परियोजना बनाउने घोषणा भएको छ । खप्तड क्षेत्रलाई सांस्कृतिक र पर्यावरणीय पर्यटनको केन्द्र निर्माणका लागि सरकारले पहल गरेको छ । प्रादेशिक बजेट विनियोजन गर्दा सुदूरपश्चिमलाई न्याय दिने काम भएको छ । हिजो बन्द समाजको रुपमा चित्रित हुने सुदूरपश्चिम अहिले राष्टिय आयामका सबै क्षेत्रमा आफ्नो विशिष्ट उपस्थिति जनाउन सफल बनेको छ । सरकारका तर्फबाट यस क्षेत्रको कृषि, वन, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा अझै सहयोग गर्न तत्पर छ ।
सुन्दर सुदूरपश्चिमको सपना यहाँहरुको मात्रै होइन, यसबाट नेपालका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्ने र हामीले खोजेको समृद्ध संघीय समाजवाद्मदी नेपालको निर्माणमा समेत यसले निर्णायक भूमिका खेल्ने मैले विश्वास व्यक्त गर्न चाहन्छु । यसका लागि यहाँहरुको एकताबद्ध र योजनाबद्ध प्रयास आवश्यक छ । केही समयपछि सुदूरपश्चिम प्रदेश सरकारले लगानी र विकास सम्मेलनको आयोजना गर्न गइरहेको छ । उक्त सम्मेलनमा सुदूरपश्चिम क्षेत्रमा विकास तथा आर्थिक समृद्धिका सबै क्षेत्रको वास्तविक चित्रण गर्दै व्यवस्थित र लागतसहितको कार्ययोजना यहाँहरुले तयार गर्नु हुनेछ र सोही बमोजिम लगानीका क्षेत्रहरु निर्धारण गर्ने, लगानीको वातावरणका लागि आवश्यक नीतिगत तथा संरचनागत व्यवस्था गर्ने काममा यहाँहरु सफल हुनुहुनेछ भन्ने विश्वास लिएको छु । संघ सरकारबाट आवश्यक पर्ने सबै सहयोगका लागि मेरो प्रतिबद्धता रहनेछ ।
मैले शुरुमा नै भनेँ, हामी अहिले आफ्नै मौलिक विशिष्टतामा शासन गर्न सफल बनेका छौं । हिजोका दिनमा केन्द्रीय सरकारसँग पूर्णरुपमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । स्थानीय तहहरु अधिकारसम्पन्न बनेका छन् । त्यसअर्थमा पनि लोकतान्त्रिक गणतन्त्र र त्यसको संघीय स्वरुपको सबैभन्दा बढी महत्व सुदूरपश्चिम र यहाँका जनताले अनुभूति गरेको हुनुपर्छ । हिजो राजा महाराजाहरुको जमानामा, सामन्ती राजतन्त्रको समयमा केही थान सीमित जमिन्दारहरुको मात्रै काठमाडौंसँग पहुँच हुने अवस्थाको अन्त्य भएर अहिले जनताका छोराछोरी प्रदेश र बिभिन्न स्थानीय तहको नेतृत्व गर्न सक्ष मबनेका छन् । संघीय सरकारको बजेट हेर्ने हो भने तुलनात्मक रुपमा सुदूरपश्चिम प्रदेशले न्याय पाएको छ । माथि भनेजस्तो विकासका ठूलाठूला परियोजना अघि बढेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?