पितृप्रति श्रद्धाभाव व्यक्त गर्ने कार्य श्राद्ध हो । हाम्रा हरेक विशेष कार्यगर्नुपूर्व पितृप्रति श्रद्धाभाव व्यक्त गर्नुपर्ने शास्त्रीय विधान रहेको छ । दशैँ पर्व मनाउनुपूर्व पार्वण अर्थात् सोह्रश्राद्ध गरेजस्तै विवाह, व्रतबन्ध, पुराण आदि विशेष माङ्गलिक कार्य गर्नुपूर्व पनि पितृप्रति श्रद्धाभाव व्यक्त गर्नुपर्ने शास्त्रीय विधि विधान रहेको छ । विशेषतः विवाह व्रतबन्धादि विशेष कार्य गर्नुपूर्व गरिने श्राद्ध विशेषलाई नान्दीश्राद्ध वा आभ्युदयिक वा वृद्धिश्राद्ध पनि भनिन्छ । जसमा पितृलाई देवस्वरूप संझिएर पूजा गरिन्छ ।
यसैगरी दक्षिण दिशाको सट्टा पूर्वफर्किएर, स्वधाको स्थानमा स्वहा, अपसव्यका स्थानमा सव्य, सेता पहेला चन्दन अक्षताका स्थानमा राता चन्दन अक्षतादि वस्तुको प्रयोग गरी यो श्राद्धकर्म सम्पादन गरिन्छ । श्राद्ध विभिन्न प्रकारका हुन्छन् : नित्य, नैमित्यिक, काम्य, सपिण्ड, वृद्धि, पार्वण, गोष्ठी, कर्मांग, तीर्थलागायत । यसमध्येको वृद्धिश्राद्धअन्तर्गतको एक आभ्युदयिक वा नान्दीश्राद्ध हो । मंगल कामना तथा अभ्युदय प्राप्त गर्न यो श्राद्ध गरिन्छ । विशेषतः पुत्रजन्म, चूडाकर्म, उपनयन (व्रतबन्ध), विवाह, गृहप्रवेश, भागवत् पुराण श्रौतकर्मको प्रारम्भमा यो श्राद्ध गर्नुपर्दछ :
‘कन्यापुत्रविवाहेषु प्रवेशेषु च वेश्मनः ।
नामकर्मणि बालानां चूडाकर्मादिके तथा ।।
सिमन्तोन्नयने चैव पुत्रादिमुखदर्शने । नान्दीमुखं पितृगणं पूजयेत् प्रयतो गृही ।।’ (विष्णुपुराण, ३।१३।५-६ )
पितृपूजन स्वरूप गरिने नान्दीश्राद्ध मातृकाको पूजा गरेपछि सम्पादन गर्नुपर्छ भनी बताइएको छ : ‘अनिष्ट्वा पितृयज्ञेन वैदिकं किञ्चिदाचरेत् । तत्रापि मातर पूर्वं पूजनीया प्रयत्नत ।। अकृत्वा मातृयागन्तु वैदिकं यः समाचरेत् । तस्य क्रोध समाविष्टा हिंसामिच्छन्ति मातरः ।।’ (गदाधरभाष्य श्राद्धसूत्रम्, पृ.७९७) मातृका पूजा गरिएन भने मातृकाहरू क्रोधित भई श्राप दिन्छन् र गरिएको कर्मको फल पनि प्राप्त नहुने कुरा शातातपले पनि बताएका छन् : ‘अकृत्वा मातृयागं तु यः श्राद्धं परिवेषयेत् । तस्य क्रोधतमाविष्टा हिंसामिच्छन्ति मातरः ।।’ (निर्णयसिन्धु, तृतीय परिच्छेद शातातपको वचन पृ.७४८) यसैले सर्वप्रथम मातृकाको पूजन गरी आभ्युदयिक श्राद्ध गर्नुपर्दछ । मातृका पूजा गरेर धूपदीप नैवेद्य अर्पण गरेपछि मात्र नान्दीश्राद्ध गर्नुपर्छ भनी कूर्मपुराणमा पनि बताइएको छ : ‘पुष्पैर्धूपैः सनैवेद्यैगन्धाद्यैर्भूषणैरपि । पूजयित्वा मातृगणं कुर्याच्छ्राद्धत्रयं बुधः ।।’ (कूर्मपुराण)
पिता जीवित भए पनि छोराले गर्न मिल्ने श्राद्ध भनेको वृद्धि श्राद्धमात्र हो । पिता जीवित हुँदाहुँदै पुत्रले वृद्धिश्राद्ध गरे पनि आफ्ना पिताले जो जो वा ज जसलाई जुन-जुन नामबाट श्राद्ध गर्दछन् तिनैलाई नाम उच्चारण गरी आभ्युदयिक श्राद्ध गर्नुपर्दछ ।
गौर्यादि षोडशमातृकालाई मातृगण भनी बताइएको छ : ‘गौरी पद्मा शचीमेधा गायत्री (सावित्री) विजया जया । देवसेना स्वहास्वधा मातरो लोकमातरः ।। धृतिः पुष्टिस्तथा तुष्टिरात्मदेवतया सह ।।’ (भविष्यपुराण) यी मातृकाका साथै आदित्यादि सप्तदश गोमयमातृका, गौर्यादि दशतोरणमातृका, नन्दादि सप्त द्वारमातृका, ब्रहृमादि सप्तमातृकाको पनि पूजा गर्नुपर्ने विधान उल्लेख पाइन्छ ।
यसरी मातृकाको पूजापश्चात् गरिने वृद्धिश्राद्धमा माता, पितामही, प्रपितामही पिता, पितामह, प्रपितामह, तथा सपत्नीक मातामह, प्रमातामह, वृद्धप्रमातामहलाई विश्वेदेवपूर्वक श्राद्ध गर्नुपर्दछ भनी निर्णयसिन्धुमा बताइएको छ : ‘मातृभ्यः कल्पयेत्पूर्वं पितृभ्यस्तदनन्तरम् । ततो मतामहानां च कुर्यात्छ्र«ाद्धं क्रमेण वै ।।’ (निर्णयसिन्धु : तृतीय परिच्छेद पृ.७४५ ) वृद्धिश्राद्ध मूलतः पितृकार्य भए पनि यो कार्यलाई देवकार्यका रूपमा लिइएको छ । ‘यथैवोपचरेद् देवांस्तथा वृद्धौ पितृनपि ।’ (निर्णयसिन्धु : तृतीय परिच्छेद हेमाद्रि) वृद्धि माङ्गलिक श्राद्ध भएकाले सव्य एवम् पूर्व फर्केर गरिन्छ ।
यसैगरी पुत्र जन्मादि वृद्धिका अवसरमा नान्दीमुख पितृहरूका लागि दायाँवर्त आहृवान गरी पूजा गर्नुपर्दछ । साथै पिण्डका सन्दर्भमा याज्ञवल्क्यले दही र बयर फल मिसाई पिण्ड दिनुपर्दछ भन्ने कुरा बताएका छन्ः ‘एवं प्रदक्षिणावृत्को वृद्धौ नान्दीमुखान्पितृन् । यजेत दधिकर्कन्धुमिश्रान्पिण्डान्यवैः क्रियाः ।।’ (याज्ञवल्क्यस्मृति, आचाराध्याय श्लो.२५०) । श्राद्धमा तिल प्रमुख वस्तु भए पनि वृद्धिश्राद्धमा तिलको सट्टामा जौ प्रयोग गरिन्छ । ‘तिलसाध्याः सर्वाः क्रिया यवैः कर्तव्याः (याज्ञवल्क्यस्मृति) श्राद्ध गर्दा पितृतीर्थको प्रयोग नगरी देवतीर्थको प्रयोग गरिन्छ । ‘सत्य’ संज्ञक र ‘वसु’ संज्ञक दुई विश्वदेवको स्थापना र पूजा गरिन्छ ।
अन्य श्राद्धहरूमा झैं यस श्राद्धमा समन्त्रक आहृवान, अर्घ्यदान, पिण्डदान, विकिरदान, अक्षयोदकदान, स्वधावाचन गरिँदैन । सङ्कल्पमा ‘अस्मद्’ शब्द तथा ‘वसुरुद्रआदित्य’ स्वरूपको उच्चारण निषेध मानिएको छ । ‘अस्मच्छ्ब्दं न कुर्वीत श्राद्धे नान्दीमुखे क्वचित् ।’ (श्राद्धकाशिका क. ६ पुराणसमुच्चयको वचन) ‘तृप्ता स्थः’ का ठाउँमा ‘सम्पन्नम्’ शब्दको प्रयोग गरिन्छ । ‘स्वधा’ शब्दको प्रयोग गरिँदैन । पिण्डदान अगाडि विकिर भने दिनुपर्दछ । ‘स्वधावाचनलोपो स्ति विकिरस्तु न लुप्यते । सम्पन्नमिति तृप्ताः स्थ प्रश्नस्थाने विधीयते ।। सुसम्पन्नमिति प्रोक्ते शेषमन्नं निवेदयेत् ।।’ (गदाधरभाष्य श्राद्धसूत्रम्, पृ.७९८) आफ्नो कूल परम्पराअनुसार कतै कतै बयर, दही र मह मिलाई वेलको फल परिमाण बराबरका चार पिण्ड दिने चलन छ ।
नान्दीश्राद्ध गरेको दिनदेखि श्रौत यज्ञहरू एक्काइसौँ दिनभित्र, विवाह दशौँ दिनभित्र, चूडाकर्म तीन दिनभित्र, उपनयन (व्रतबन्ध) छ दिनभित्र सम्पादन गरिसक्नुपर्दछ । आशौच आदि छेकथुन नलाग्ने भएकाले भन्दा पनि कर्मको अङ् भएकाले नान्दीश्राद्ध अनिवार्य गर्नुपर्दछ ।
पिता जीवित भए पनि छोराले गर्न मिल्ने श्राद्ध भनेको वृद्धि श्राद्ध मात्र हो । पिता जीवित हुँदाहुँदै पुत्रले वृद्धिश्राद्ध गरे पनि आफ्ना पिताले जो–जो वा ज जसलाई जुन-जुन नामबाट श्राद्ध गर्दछन् तिनैलाई नाम उच्चारण गरी आभ्युदयिक श्राद्ध गर्नुपर्दछ : ‘येभ्य एव पिता दद्यात् तेभ्यो दद्यात् स्वयं सुतः । जीवेत्तु यदि वर्गाद्यस्तद्वर्गं तु परित्यजेत् ।। इदं अपि जीवत्पितृकेणापि कार्यम् ।’ (कर्कस्मृतिः) शातातपको वचनअनुसार कुनै पनि वृद्धि कर्महरूमा पितृहरूलाई तृप्त गर्न सकिएन भने गरेको कुनै पनि कर्मको फल प्राप्त गर्न सकिँदैन र त्यसरी गरिएको विधि राक्षसी विधि हुन जान्छ । ‘वृद्धौ न तर्पिता ये न पितरो पितरो गृहमेधिभिः । तद्धीनमफलं ज्ञेयमासुरो विधिरेव च ।।’ (शातातप निर्णयसिन्धु तृतीय परिच्छेद) यसैले नान्दीमुखश्राद्ध गर्नुपर्दछ ।
कतिदिन अघि नन्दीश्राद्ध गर्न सकिन्छ ?
पूजादि विशेष कर्मको अङ्गकै रूपमा नान्दी श्राद्धलाई लिइन्छ । कार्यको आरम्भ भएपछि समापन पनि गर्नुपर्दछ । यसरी बीचैमा आशौच परेमा पनि नान्दीश्राद्ध गरिएको छ भने उक्त आशौचजन्य दोष रहँदैन कार्य समापन गर्न सकिन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ : व्रतयज्ञविवाहेषु श्राद्धे होमेद्रर्चने जपे । प्रारब्धे सूतकं न स्यादनारब्धे तु सूतकम् ।। (निर्णयसिन्धु)
नान्दीश्राद्ध वा आभ्युदयिक श्राद्धगर्नु भनेको उक्त कार्यको थालनी गर्नु हो । नान्दीश्राद्ध गरेपछि उक्त यज्ञको प्रारम्भ भएको मानिए पनि उक्त कार्यलाई चाँडै सम्पादन गर्नुपर्दछ । यसरी नान्दीपश्चात् कार्यको प्रकृति हेरी निश्चित समयभित्र उक्त कार्य सम्पादन गर्न सकिने कुरा शास्त्रमा उल्लेख पाइन्छ :
‘एकविंशत्यहर्यज्ञे विवाहे दसवासराः ।
त्रिषड्चौलोपनयने नान्दी श्राद्धं विधीयते ।।’ (धर्मसिन्धु : तृतीय परिच्छेद, विवाह प्रकरण) अर्थात् नान्दीश्राद्ध गरेको दिनदेखि श्रौत यज्ञहरू एक्काइसौँ दिनभित्र, विवाह दशौँ दिनभित्र, चूडाकर्म तीन दिनभित्र, उपनयन (व्रतबन्ध) छ दिनभित्र सम्पादन गरिसक्नुपर्दछ । आशौच आदि छेकथुन नलाग्ने भएकाले भन्दा पनि कर्मको अङ् भएकाले नान्दीश्राद्ध अनिवार्य गर्नुपर्दछ ।
वृद्धि वा नान्दीश्राद्ध गर्ने समय
विभिन्न श्राद्धका फरक-फरक काल वा समय विधान गरिएको छ । विशेष गरेर वृद्धिश्राद्ध पूर्वाहृन कालमा गर्नुपर्दछ भनी बताइएको छ ः ‘मातुः श्राद्धं तु पूर्वं स्यात् पितृणां तदनन्तरम् ।
ततो मातामाहानां च वृद्धौ श्राद्धत्रयं स्मृतम् ।।’ (निर्णयसिन्धु : तृतीय परिच्छेद पृ. ७४५ शातातपको वचन) । यसरी हेर्दा आभ्युदयिक वा वृद्धिश्राद्ध प्रातः कालमा गर्नुपर्दछ । अत्रि मुनिका अनुसार जन्मनिमित्तक समयबाहेकका अवस्थामा वृद्धिश्राद्ध पूर्वाहृनमा नै गर्नुपर्दछ । जन्मनिमित्तक बृद्धिश्राद्ध भने पुत्र जन्मेका समयमा नै गर्नुपर्दछ भन्ने शास्त्रीय मान्यता छ ।
‘पूर्वाहृणे वै भवेद् वृद्धिर्विना जन्मनिमित्तकम् ।
पुत्रजन्मनि कुर्वीत श्राद्धं तात्कालिकं बुधैः ।।’ (निर्णयसिन्धु, तृतीय परिच्छेद पृ. ७४५ अत्रि) विशेष माङ्गलिक कार्यको अङ्गका रूपमा नान्दीश्राद्धलाई लिइएको छ ।
वृद्धिश्राद्धको एक भेदका रूपमा पनि यो श्राद्धलाई वर्णन गरेको पाइन्छ । विशेषतः विवाह, व्रतबन्ध, चूडाकर्म, गृहप्रवेश, विभिन्न श्रौतयज्ञ आदि कार्यमा पूर्वाङ्गरूप नान्दीश्राद्ध गर्नु अनिवार्य मानिन्छ । देवपूजा गर्नु तथा पितृपूजा नगर्नु भनेको पितृहरूलाई अपमान गर्नु र पितृप्रति कृतघ्न बन्नु हो । सबै प्रकारका विघ्न बाधा हटाई तत्काल उदय हुने मनोकामना पूर्तिका लागि नान्दीश्राद्ध गरिन्छ । कर्ताले आफूले गर्नुपर्ने पितृहरूको सेवा नगरी वा श्राद्ध नगरी अन्य कर्मलाई मुख्य मानेर कर्म गर्दा त्यसको फल प्राप्त हुँदैन र त्यस्तो कर्म आसुर कर्म बन्न पुग्दछ । यसैले विधिपूर्वक नान्दीश्राद्ध गर्नुपर्दछ भनिएको छ । विशेषतः विवाहादि विशेष यज्ञअनुष्ठान गर्दा उक्त कर्मको अङ्गस्वरूप पितृपूजाको उद्देश्य राखी गरिने नान्दी वा आभ्युदयिक श्राद्ध हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच