कांग्रेस संस्थापक नेता स्वर्गीय दुर्योधन गिरी को हुन् ?

हिमालय टाइम्स
Read Time = 6 mins

-राजकुमार कार्की
ओखलढुंगा । स्वर्गीय दुर्योधन गिरी ओखलढुंगा जिल्लाको साबिक फेदिगुठ गाउँविकास समिति वडा नं ३, हाल चम्पादेवी गाउँपालिका वडा नं ४ फेदिगुठमा जन्मनु भएको हो । सानै उमेरदेखि नै राजनीतिक परिवर्तनका लागि सकृय गिरी २३ वर्षको उमेरमै नेश्नल कलेज (हालको शंकरदेव क्याम्पसको) सभापति बन्नु भएको थियो । २००२ सालमा जन्मनु भएका गिरी, सानै उमेरमा विद्यार्थी राजनीतिबाट राजनीतिक जीवन शुरुवात गर्नुभएको थियो ।

पञ्चायती सरकारले विभिन्न अवसरहरुको प्रालेभन देखाउदा पनि प्रलोभनको पछि नलागि देश र जनताकै लागि लड्ने अठोट गरेर प्रजातन्त्र प्राप्ति लागि लडिरहनु भयो । पद र पैसाको पछाडी नलागी निष्ठावान राजनीति गर्ने गिरी कहिल्यै पनि लाभको पदको लागी संघर्ष नगरेको समकक्षीहरु बताउँछन् ।

सानै उमेरदेखि राजनीतिमा होमिनुभएको उहाँ प्रजातन्त्र प्राप्तिका लागि निकै ठुलो संघर्ष गर्नुभएको पुराना निष्ठावान राजनीतिज्ञ गिरीको निधन भएको छ ।

उहाँको काठमाडौंस्थित स्टार अस्पतालमा उपचारको क्रममा बिहिबार निधन भएको हो । २००२ साल फागुन २१ गते पिता स्व. गडुलध्वज गिरी र माता स्व.नर माया गिरीको साहिला सुपुत्रको रुपमा फेदिगुठमा जन्मनु भएका गिरीको निधन २०८० साल मंसिर २१ गते स्टार हस्पिटल काठमाडौंमा भएको छ ।

गिरीको निधनले ओखलढुंगा जिल्लाको एक निष्ठावान राजनीतिज्ञको अवसान भएको ओखलढुंगा कांग्रेसको ठम्याई छ । गिरी ओखलढुंगा कांग्रेसको संस्थापक नेता हुनुहुन्थ्यो । स्वर्गीय गिरी २०२३ सालमा २१ वर्षकै उमेरमा नेपाली काँग्रेस सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आबद्ध भई राजनीतिमा होमिनु भएको भतिजा धनबहादुर गिरीले जानकारी दिनु भयो ।

‘राजनीति’ जनताको हक र अधिकारका लागि हो, पद र पैसाको लागि होइन भन्ने सोँच बोक्नु भएका गिरी पटक–पटक पञ्चायती सरकारले अवसरको प्रलोभन देखाउदा पनि कहिल्ये डगमगाउनु भएन । तत्कालीन सुर्य बहादुर थापा नेतृत्वको पञ्चायती सरकारले जिएम र अन्चलाधिसको पद थमाउदै पञ्चायती बिरुद्धको गतिविधीमा नलाग्न आग्रह गर्दा पनि उहाँ नमान्नु भएको कांग्रेस नेता नन्दलाल गिरीले बताउनु भयो । नेपाली कांग्रेसका नेता एवं समाजसेवी धन बहादुर गिरीका अनुसार, ‘म जागिर खानको लागि लडेको होइन, जनताको हक अधिकार र प्रजातन्त्र पाप्तिका लागि लडेको हुँ ।’ उहाँ भन्नुहुन्थ्यो । नेशनल कलेजको सभापति हुँदा, देशका विभिन्न जिल्लाबाट काठमाण्डौ अध्ययन गर्न आएका विद्यार्थीहरुलाई आवश्यक सहयोग गर्दै कांग्रेस बनाउने काम गर्नुहुन्थ्यो । कांग्रेसको संगठन बलियो भएमात्र, प्रजातन्त्र स्थापना र संस्थागत हुन्छ भन्ने अडिग विश्वास बोकेका गिरी जीवनको अन्तिम समयमा पनि संगठनकै चिन्ता गरिरहनु हुन्थ्यो ।

विद्यार्थी राजनीतिमा लागेकै कारण त्रिभुवन विश्वविद्यालयको सहायक कर्मचारीको पदबाट तत्कालीन प्रशासनले पदबाट बर्खास्त गरेको थियो । २०४६ सालको राजनीतिक परिवर्तन पछि निरन्तर रुपमा नेपाली कांग्रेसको सदस्य रही संगठन निर्माणमा लागी रहनु भयो । २०४९ सालको स्थानिय तहको निर्वाचनमा जिल्ला विकास समितिको सदस्य पदमा निर्वाचीत हुनुभएको थियो । उहाँ गाविससँग विशेश्वर कार्यक्रमको अध्यक्ष भएर पनि काम गर्नु भएको थियो ।

पञ्चायत बिरुद्धको गतिविधीमा संलग्न भएकै कारण पटक–पटक प्रहरीले पक्राउ गरि विभिन्न यातना दिईएको थियो । सुन्धारास्थित भद्रगोल कारागारमा राखि तीन महिना भन्दा बढी निरन्तर यातना दिइएको थियो ।

२०५८÷०५९ सालमा शेर बहादुर देउवाले नेतृत्व गरेको प्रजातान्त्रिक कांग्रेसको ओखलढुंगा जिल्लाको सभापति पनि बन्नु भएको थियो । ओखलढुंगाको कांग्रेसमा विभिन्न पदमा रहेर वा नरहेको बेलामा पनि संगठन निर्माणमा लागिरहनु हुन्थ्यो । नेपाली कांग्रेसका संस्थापक नेता, प्रजातान्त्रिक ओन्दोलनका सेनानी दुर्योधन गिरीको निधनले नेपाली कांग्रेस ओखलढुंगालाई अपुरणीय क्षति भएको पार्टी सभापति तेजेन्द्र खनालले बताउनु भयो । स्वर्गीय गिरीको परिवारमा एक छोरा एक छोरी हुनुहुन्छ । धर्मपत्नीको भने यसअघि नै निधन भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?