काठमाडौं । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा-नयाँ बुटवल खण्डको उद्घाटन गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सोमबार आयोजनाको दोस्रो खण्डअन्तर्गत पवर्तको कुश्मा नगरपालिका-२ खुर्कोटबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका-१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको करिब ९० किलोमिटर प्रसारण लाइन उद्घाटन गर्नुभएको हो । उक्त खण्डको निर्माण सम्पन्न गरी गत असोज अन्तिमबाट प्रसारण लाइन सञ्चालनमा ल्याइएको थियो ।
कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने आयोजनाको विद्युत् एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रूपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को नयाँ बुटवल सबस्टेसनसम्मको करिब १३० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको छ । प्रसारण लाइनले करिब एक हजार दुई सय मेगावाट विद्युत् भार बोक्न सक्नेछ ।
लुम्बिनी प्रदेशका सांसदहरू खड्ग बस्नेत र वैजनाथ जैसवालले औद्योगीकरणको प्रचुर सम्भावना रहेको नवलपरासी, रूपन्देहीलगायतका जिल्लामा पर्याप्त तथा गुणस्तरीय विद्युत् आपूर्तिको व्यवस्था गर्न र प्रसारण लाइन आयोजना निर्माणका क्रममा स्थानीयसँग गरिएको सम्झौता कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीयरूपमा विद्युत् खपत गर्न, पूर्व-पश्चिम प्रवाह र भारततर्फ निर्यात गर्न नयाँ बुटवल सबस्टेसन विद्युत्को ठूलो पुलिङ हबका रूपमा रहेको बताउनुभयो । देशभर नै प्रसारण लाइनको सञ्जाल बनाउने काम भइरहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आगामी पाँच/छ वर्षभित्रमा छ/सात खर्ब रुपैयाँ आवश्यक पर्ने बताउनुभयो । एसियाली विकास बैंक, नेपाल आवासीय नियोगका निर्देशक आर्नोल्ड कुश्वाले कोरोना महामारी, रुख कटानमा रहेको जटिल कानुनी व्यवस्था पार गर्दै आयोजना सम्पन्न हुनु प्रशंसायोग्य रहेको बताउनुभयो ।
प्राधिकरणले कालीगण्डकी करिडोर प्रसारण लाइनलाई दुर्ई खण्डमा विभाजन गरी निर्माण गरेको थियो । पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटसम्मको करिब ४० किलोमिटर प्रसारण लाइन निर्माण गरिएको थियो । पहिलो खण्डमा नै खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा छन् । दुवै सबस्टेसनमा १००/१०० एमभिए क्षमताका पावर ट्रान्सफर्मर राखिएका छन् ।
कुश्मा-नयाँ बुटवल खण्डमा २३६ वटा टावरहरू निर्माण गरिएको छ । सुनवल नगरपालिका-१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनका लागि टावरहरू निर्माण गरिएका छन् ।
रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध, कोरोनालगायतका कारण कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण प्रभावित भएको आयोजना प्रमुख चन्दन घोषले बताउनुभयो । कुश्मा-नयाँ बुटवल खण्ड निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग २०७४ मंसिरमा ठेक्का सम्झौता भएको थियो । उक्त सम्झौता २०७४ पुसबाट कार्यान्वयनमा आएको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)अन्तर्गत विद्युत् प्रणाली विस्तार परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजना निर्माण गरिएको हो । आयोजनाको अनुमानित लागत करिब ११ अर्ब रुपैयाँ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच