प्रधानमन्त्री प्रचण्डद्वारा विश्व शान्तिको कामना : विश्व समुदायलाई विकासको मार्गसँगै शान्तिको अपील 

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 5 mins

नवलपरासी । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपबाट विश्व शान्तिको कामना गर्दै  आज दिउँसाे १२ बजेर १२ मिनेटमा दीप प्रज्वलन गर्नुभएको छ ।

पश्चिम नवलपरासीको रामग्राम ७ उजैनीमा रहेको रामग्राम स्तुपमा आयोजना भएको रामग्राम विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बुद्धको सन्देश अहिलेको विश्वभरीनै आवश्यक रहेको बताउनुभयो । मानव जातिरहेसम्म बुद्धले दिएको शिक्षा र सन्देश अनुकरणीय रहिरहने बताउँदै उहाँले विश्व समुदायलाई विकासको मार्गसँगै शान्तिको अपिल गर्नुभयो ।

विकास सँगसंँगै शान्तिका लागि एकजुट हुन आग्रह गर्दै उहाँले रामग्राम बाट धार्मिक, पर्यटन, सामाजीक र आर्थिक विकास गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो,  “म पहिलोपटक प्रधानमन्त्री हुँदा ग्रेट लुम्बिनी डेभलवमेन्ट प्लान अनुसार लुम्बिनी, रामग्राम र तिलौराकोटलाई जोडेर धार्मिक तथा पर्यटकीय विकास गर्नका लागि पहल गरेको थिएँ । ” भारतीय सम्राट अशोकले ठुलो युद्ध पश्चात शान्ति प्राप्तिका लागि नेपालको लुम्विनीमा आई अशोक स्तम्भ खडा गरी शान्तिको कामना गरेको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले आफु पनि देशमा परिवर्तनका लागि युद्ध गरेको र युद्ध पश्चात निरन्तर शान्तिको लागि लागिरहेको बताउनुभयो ।

“ म कहिले शान्तिको लागि संयुक्त राष्ट्रसंघ देखी लिएर विभिन्न राष्ट्रहरु संग कुटनैतिक तवरले दिगो शान्तिका लागि निरन्तर लागिरहेको छु । नेपालको विकासका लागि धार्मिक क्षेत्रको प्रवद्र्धनमार्फत पर्यटकिय क्षेत्रको विकास गर्न सकिन्छ । ” प्रधानमन्त्रीले भन्नुभयो ।

पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गौतमबुद्धको सन्देश फैलाउँदै नेपाललाई बुद्ध सर्किटको रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले रामग्राम र गौतम बुद्ध संग सम्बन्धीत ठाउँहरुको अन्तराष्ट्रिय स्तरमा प्रचार गर्न सके लाखौं पर्यटक भित्राउन सकने भएकोले त्यका लागि आवश्यक पुर्वाधार विकासका लागि सरकाले काम गरिरहेको बताउनुभयो ।

पतञ्जलीका योग गुरु आचार्य बालकृष्णले नेपाललाई भगवान गौतम बुद्धको देश भनेर विश्व सामु चिनाउनु जरुरी रहेको बताउनुभयो । आफ्नो सम्पत्तिलाई रक्षा गर्न जसरी लागिन्छ त्यसंगरीनै बुद्धको ज्ञान र सन्देशलाई संरक्षण सम्पूर्ण लाग्नुपर्ने बताउनुभयो ।

आजको विकासले भयवित बनाईरहेको विश्वलाई भगवान् गौतमबुद्धको सन्देशले मात्रै बचाउन सक्ने उहाँको जिकीर छ । कार्यक्रममा लुम्विनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले नवलपरासी, रुपन्देही र कपिलबस्तुलाई जोडेर बुद्ध सर्किटको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा स्टेफानो लोरीले रामग्रामको विस्तृत गुरुयोजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले रामग्राम र पण्डितपुरसँग बर्दघाटको बुद्धमंगल ताल, सुस्ताको अनोमाघाट, सरावलको करपत्त नगर सुनवलको तरगौली ताल लगायतका ठाउँहरुलाई जोडेर विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?