बर्दियाको मधुवनमा एमालेमै फर्कियो समाजवादीको सिङ्गो नगर कमिटी, पोलिटब्युरो सदस्य गिरीद्वारा स्वागत

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 6 mins

लुम्बिनी । बर्दियाको मधुवन नगरपालिकामा रहेको एकीकृत समाजवादीको सिङ्गो नगर कमिटी एमालेमै फर्किएको छ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले सत्ताकेन्द्रित र पूर्वाग्रहप्रेरित गठबन्धन बनाएर कम्युनिष्ट आन्दोलनलाई नै कमजोर बनाउने काम गरेको भन्दै नगर कमिटी एमालेमै फर्केको हो ।

नेकपा एकीकृति समाजवादीको मधुवन नगर कमिटीका अध्यक्ष एवं जिल्ला कमिटी सचिवालय सदस्य दुर्गाबहादुर रिमालसहित सिङ्गो नगर कमिटी नै एमालेमा फर्किएपछि नगरपालिकाबाट एकीकृत समाजवादी पार्टी रित्तिएको छ ।

अध्यक्ष रिमालसँग जिल्ला कमिटी सदस्यहरु, नगर कमिटीका पदाधिकारी र सदस्यहरू सबै जनाले सामूहिक रुपमा एकीकृत समाजवादी परित्याग गरि आफ्नै मूल घर एमालेमा फर्किएको घोषणा गरेका छन् ।

मधुवनमा आयोजित एक समारोहबीच उनीहरुलाई एमालेका पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज तथा लुम्बिनी प्रदेशका एमाले संसदीय दलका नेता, निवर्तमान मुख्यमन्त्री लिला गिरीले खादा र टिका लगाई मूल पार्टीमा स्वागत गर्नुभएको थियो । उहाँले नेता कार्यकर्ताहरुलाई उचित जिम्मेवारी र अवसर प्रदान गर्न मातहतका पार्टी कमिटीमा निर्णय गरिने पनि उल्लेख गर्नुभयो ।

नेताहरुलाई पार्टीमा स्वागत गर्नै नेता गिरीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य र संकल्प साकार पार्न एमालेकै नेतृत्व जरुरी रहेको उल्लेख गनुृभयो। मुलुकको बृहत्तर हित र जनताको अवस्थामा परिवर्तन ल्याउनका लागि पनि एमालेको नेतृत्वमा तीनै तहमा सरकार हुनुपर्ने नेता गिरीको जोड थियो ।

पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममै समाजवादीको नगर कमिटी एमालेमा समाहित भएको हो । एमालेले बर्दियाका विभिन्न ठाउँमा पार्टी सुदृढिकरण तथा घर फर्क अभियान सञ्चालन गरेको छ । सोही क्रममा बर्दियाका विभिन्न ठाउँमा विभिन्न पार्टीमा रहेका नेता कार्यकर्ताहरु एमालेमै फर्किने क्रम तीब्र भएको छ ।

मधुवनका कम्युनिष्ट नेता दुर्गाबहादुर रिमाल, जिल्ला कमिटी सचिवालय सदस्य तथा मधुवन वडा नं ५ इन्चार्ज यज्ञ मल्ल, जिल्ला कमिटी सदस्य मानबहादुर मल्ललगायतका प्रभावशाली नेता कार्यकर्ताहरु एमालेमै फर्किएपछि मधुवनमा एमालेको शक्ति बलियो बनेको छ ।

त्यसैगरी जिल्ला कमिटी सदस्य एवं नगर उपाध्यक्ष टिकाराम थारू, जिल्ला कमिटी सदस्य एवं नगर सचिव पुष्करराज केसी, जिल्ला कमिटी सदस्य एवं किसान महासंघ जिल्ला उपाध्यक्ष पुष्पा शाही, जिल्ला कमिटी सदस्य एवं किसान महासंघ बर्दिया सदस्य पदम बूढा एमालेमै फर्किएका छन् । जिल्ला कमिटी सदस्यहरू कर्णबहादुर खड्का, हिरालाल भाट, धना पाण्डे, रेश्मी लोहारलगायतका नेताहरु पनि एमालेमै फर्किनुभयो ।

नगरकमिटी उपसचिव खेमकुमारी थापासहित नगरकमिटी सदस्यहरू महेश सिग्देल, राम बोहरा, रामरतन चौधरी, देवकी रिमाल, छवि केसी, खिमा राजी, नरेन्द्रमान मल्ल, सुरज भण्डारी, शेरबहादुर खड्का, मिना खड्का, देवी गुरुङ्ग, कल्पना थापा मगर, रामबहादुर गुरुङ्ग नेकपा एमालेमा फर्किएको एमाले बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनु भयो ।

आफूले मेहनत गरेर बनाएको पार्टीमा फर्कन पाउँदा हर्षित भएको बताउँदै अध्यक्ष दुर्गाबहादुर रिमालले नगरकमिटीको अत्याधिक बहुमतले निर्णय गरेर नगरको सिंगो पार्टी नै नेकपा एमालेमा फर्किएको घोषणा गर्नुभयो ।

त्यसैगरी बर्दियाकै राजापुर नगरपालिकामा भएको नगरस्तरीय  प्रशिक्षण कार्यक्रममा नेकपा एकीकृत समाजवादीबाट जिल्ला कमिटी सचिवालय सदस्य जयबहादुर शाहु, जिल्ला कमिटी सदस्य घनश्याम थारू र कृष्ण शर्मा पनि एमालेमै फर्किएका छन् । त्यसैगरी २०७४ मा वडाध्यक्ष रहेका फुलाराम थारू नेकपा माओवादी परित्याग गरी पुनः एमाले मै फर्किनुभयो ।

बर्दियामा नेकपा एमालेले साउन १५ गते देखि २२ गते सम्म जिल्लाका ८ ओटै पालिकामा पार्टी प्रशिक्षण कार्यक्रम कार्यक्रमको आयोजना गरेको छ । प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री, पोलिटब्युरो सदस्य एवं बर्दिया इन्चार्ज लिला गिरीको नेतृत्वमा जिल्लाका विभिन्न क्षेत्रमा विशेष प्रशिक्षण र घरफर्क अभियान सञ्चालन भएको एमाले बर्दियाका अध्यक्ष श्रेष्ठले बताउनु भये ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?