टी-२० लिगका थप दुई टोली घोषणा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिग खेल्ने थप दुई टिम र टिम मालिक घोषणा गरेको छ । क्यानले बिहीबार पत्रकार सम्मेलनमा थप दुई टिम र टिम मालिकको घोषणा गरेको हो ।

थपिएका दुई टोलीमा पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेड रहेका छन् । पोखराको मालिकमा पोस्टराज ज्ञवाली, सुवोध त्रिपाठी र अतिस ज्ञवाली रहनुभएको छ । फारवेस्टको मालिक एसआर स्पोर्ट्स एण्ड मिडिया भेन्चर्स युकेका रुपिन्दर बाग्गा रहनुभएको छ ।

क्यानले यसअघि चार वटा टिमको नाम र टिम मालिक घोषणा गरिसकेको छ । पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । जसका चार टोलीमा विदेशी लगानी रहेको छ । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म हुनेछ ।

कान्तिपुर क्यापिटलमा कान्तिपुर मिडिया ग्रुपको लगानी रहेको छ । लुम्बिनीको सञ्चालकमा सञ्जय शर्मा रहनुभएको छ । अमेरिकामा अवस्थित नेपालीहरूको अल स्टार्स टोलीले लुम्बिनी क्लबको स्वामित्व लिएको हो ।

यस्तै, भारतको गोल्ड स्पोर्ट्स प्रालिले जनकपुरको प्रतिनिधित्व गर्नेछ । यस्तै विराटनगर सुपर किंग्सलाई भारतको डायमण्ड डिजी क्यापले खरिद गरेको छ । विराटनगरको मालिकमा विक्रम यादव र जनकपुरका गौरीशंकर धामनी रहनुभएको छ ।

टी–२० लिग गभर्निङ बढीका संयोजक तथा क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले नेपालबाट लगानी नपाएको भन्दा पनि टी-२० लिगको फ्रेन्चाइज टिममा विदेशी व्यवस्थापन हुनु सामान्य र सर्वव्यापी अभ्यास रहेको बताउनुभयो ।

‘इण्डियन प्रिमियर लिग (आइपिएल) छाडेर संसारको हरेक फ्रेन्चाइज लिग हेर्ने हो भने टिमको स्वामित्व धेरै विदेशी टोलीले लिएका छन् । संसारका हरेक फ्रेन्चाइजमा विदेशी मालिक हुने व्यवस्था सामान्य हो । ‘जसले उचित प्रस्ताव ल्याउँछ र जसलाई हामीले विश्वास गर्छौंँ त्यही टिमले मान्यता पाउने हो,’ मल्लले भन्नुभयो, ‘श्रीलंकन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिगका टिमहरूमा विदेशी लगानीका टिम छन्, हामीले फ्रेन्चाइज टोली नपाएकाले विदेशी लगानी लिएको हिसाबमा यसलाई बुझ्न मिल्दैन ।’

प्रतियोगिता होम तथा अवेका रूपमा गरी डबल राउण्ड रोबिनका आधारमा हुनेछ । प्रतियोगितामा ‘ए’ ग्रेडमा रहेका खेलाडीले १५ लाख, ‘बी’ ग्रेडमा रहने खेलाडीले १० लाख र ‘सी’ ग्रेडमा रहने खेलाडीले पाँच लाख रुपैयाँ न्यूनतम पाउनेछन् ।

भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स नेपाल टी-२० लिगको रणनीतिक र कमर्सियल साझेदारीका रूपमा रहनेछ । क्यानले नेपाल टी-२० आयोजना गर्न थ्री स्पोर्ट्ससँग आठ वर्षका लागि ३३ करोडको रुपैयाँमा बेचेको छ । तोकिएकै समयमा लिग गर्ने क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?