त्यहाँ नजानु भनेपछि त्यो ठाउँमा नगई नछाड्ने, यहाँ नहेर्नु भने कसैले भने त्यहाँ चियाएर भने पनि नहेरी नहुने विचित्रको बानी थियो मेरो । यो बानीले एक पल्ट जेठा बुढा र कर्कीनी भाउजूका कृत्य पनि थकौले घारीमा देखेर बेस्सरी पिटाइ खाएको थिएँ । रागे गोरु बुधुनेका बारीमा पसेर मकै खाएछ र बाले अर्मल पनि तिर्नुपरेको थियो । अचेल मजस्तै बानी भएका पुगनपुग तीन करोड नेपालीलाई देख्दा मलाई सन्तोष मिलेको छ । हालका हाम्रा प्रधानमन्त्रीसँग न धैर्य छ, न योजना छ, न कुनै काम गर्ने उत्साह र सीप छ । उहाँमा सत्तामा टिक्न, शक्ति हत्याउन र दिनका दशवटा नयाँ झूट कुरा गरेर भए पनि जनता अल्मल्याउन प्रकृतिले दिएका वरदानको सामथ्र्य छ ।
ठग्न नयाँ ठाउँ चाहिन्छ त्यसैले उहाँ एकै ठाउँबाट कहिल्यै चुनाव लड्नुहुन्न । उहाँसँग जे छैन नेपाली जनता त्यही खोज्छन् अनि ? ढाँट्न, दम्भ प्रदर्शन गर्न, आफूलाई मन नपरेको मान्छेलाई किनारा लाउन र पहिला पढ्न नपाएको हीनभाव ढाक्न भाका नभाका धाक लाउन बांगिएको चोर औंलो ठड्याएर दुनियाँलाई हो रहेछ कि क्या हो बनाउने कुरा गर्न हालका प्रमुख प्रतिपक्षीदलका नेताको जोडी तिनै लोकमा खोजे पाउँन सकिँदैन । यो उहाँको सकारात्मक शक्ति हो । उहाँले देशको विकास गर्छु भन्नु, म सहनशील छु भन्नु, मेलमिलाप र छलफलबाट समस्याको समाधान खोज्छ भन्नुु, भ्रष्टाचारका विरुद्ध शून्य सहनशीलता अपनाउँछु भन्नु जस्ता कुरा गोहीले खान पाएपछि उसका आँखामा आउँने आँसुजस्तै हुन् ।
कृषिप्रधान देश आज अनिकाले भएको छ । नेपाली जनताले उत्पादन गरेका सामानको सरकारले ढुवानी सञ्जाल नबनाएर भारतीय बिचौलिया र नेपाली बिचौलियाको मनोपोली चलेको छ । उब्जनी सडकमा फाल्न र खाल्डो खनेर गाड्न या खेतबारीमा नै सुकाउन बेलाबेला नेपाली किसान विवश भएका देखिन्छन् ।
यस्तै एकजना अर्का महामहिम छन् जो सत्ताका लागि बकुल्लो भनेर नेपाली समाजमा चिनिएका महामना हुन् । उनका आफन्तले गल्ती गरे भने त्यो तपाईंका फलानाले गल्ती गरो भन्नेलाई झाँको झारिहल्छन् । बीपीका पाइला पछ्याएर यहाँ आएँ त भन्छन् तर बीपीलाई सम्मान किन गर्नुपर्छ भन्ने नै उनले बुझेका छैनन् । यिनलाई बुझाउन पनि कसैले सक्दैन । अहिलेका हाम्रा सम्माननीय राष्ट्रपतिले बुझाउन खोजेका त थिए तर नसकेपछि आफैँ चरण दर्शनतिर लागेर अहिले त्यसैको न्यानो ताप्दै हुनुहुन्छ ।
साँढेका अण्डकोशका दायाँ र बायाँका ठूला थुन देखेर दुँदेरो बोकेर दूध दुहुन जानेको जे हाल हुन्छ त्यही हाल यिनलाई भोट दिएर जिताउनेको हुँदा पनि यी लोभी लाल्ची मतदाता कहिले पार्टीका नाममा, कहिले इतिहासका नाममा त कहिले अब सुध्रेलान् भन्ने नाममा दुवाली फर्काएर थापेका ढडियामा माछा परे झैँ पर्न छाडेका छैनन् । यिनका कृत्यले गर्दा आज देशको सबैभन्दा जेठो र साधनसम्पन्न विश्वविद्यालय निरीह र कंगाल बन्दै जानलागेको छ । आफ्नो स्वार्थ पूरा हुन्छ भन्ने लागेपछि यी तीनैजना चुठुवामा पनि भात खान तयार हुँदारहेछन् भन्ने त भर्खरै सम्पन्न देशको आमचुनावमा यिनले गरेको सठबन्धने गठबन्धनले पनि स्पष्ट पारेकै छ ।
तर पनि हामी मतदाता भनाउँदा कहिले गाउँले राजाका रैतान त कहिले अलि ठूला राजाका रैतान, अनि कहिले राणाका उपभोग्य दास दासी, त कहिल चाहिँ दलका भेडाबाख्राबाट कहिल्यै माथि उठेर देशको नागरिक बन्न सकेनौँ । यसरी हेर्दा यी तीन जनाभन्दा सडल दिमाग र सडलै चरित्र भएका आमनागरिक भनाउँदा हामी दास, खवास नै यो देशलाई अविकसित र गरिब बनाउन अहं भूमिकामा रहेका देखिन्छौं । आज जुन विषय लिएर स्नातक उत्तीर्ण गरेको भए पनि स्नातकोत्तरमा आफूले चाहेको प्रायोगिक विषय नभएका जति विषयमा प्रवेश पाउने गरी धमाधम विश्वविद्यालयका सम्बद्ध निकायले निर्णय गरेर सूचना प्रकाशन किन गर्नुप¥यो भने लेटर ग्रेडिङ सिस्टमबाट परीक्षाको गुणत्मकता मापन गर्ने तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको अति विकसित गिदी र मालिकका अगाडि जीहजुर गर्ने दास शिक्षाक्षेत्रका विज्ञ भनाउँदाका कर्तुतले १२ कक्षा पास गरेका कोही नेपालमा नबस्ने अवस्थाको सिर्जना भएको छ ।
कृषिप्रधान देश आज अनिकाले भएको छ । नेपाली जनताले उत्पादन गरेका सामानको सरकारले ढुवानी सञ्जाल नबनाएर भारतीय बिचौलिया र नेपाली बिचौलियाको मनोपोली चलेको छ । उब्जनी सडकमा फाल्न र खाल्डो खनेर गाड्न या खेतबारीमा नै सुकाउन विवश भएका देखिन्छन् बेला बेला नेपाली किसान । यस प्रकारको दुःखद् काम सरकारको नीति र गतिहीनताबाट आएको देखिन्छ । सरकारमा गएका मान्छे जति सबैजसो या त भ्रष्टाचारी छन् या त दास खवास छन् । तीन वटा राजनीतिक ठेकेदारका मतियार दास । बेलायतमा एक अवधि सांसद भएका जोन स्टु अर्ट मिलले संसद्मा गरेको भाषणवली पढ्नु त के ? यिनले नाम पनि नसुनेका हुनसक्छन् । प्रदीप गिरिबाहेक खोइ त्यस्तो सांसद ?
जनता राजनीतिमा सधैं सक्रिय हुँदैनन् हुन सक्दैनन् तर आवधिक चुनावका बेला जनताले पात्र छानेर जिताउन नसकेपछि मुलुक बरवाद हुन्छ बहुदलीय प्रथामा । बहुदलीय प्रजातन्त्रमा दल जनताप्रति संवेदनशील हुनुपर्ने ठाउँमा दलका नेता सत्ता, आर्थिक भ्रष्टाचार, नसनाता र पत्नी, साला, प्रेमी बनेर निक्लँदाको यो दुष्परिणाम हो । राजनीतिले देशको सुशासन, उद्योग, शिक्षा, वाणिज्य र विश्वविरादरीसँगको कूटनीतिक सम्बन्धलाई मजबुत बनाएर देश र जनतालाई उत्तरोत्तर गतिशील बनाउन प्रयास गर्नुपर्ने ठाउँमा तिनै दलका ठूला नेता भनाउँदा ‘यद्भविष्यति तद्भविष्यति’ जे जे हुन्छ हुन्छ आफूलाई पुग्ने कमाइहालियो भनेर नीच मार्ने प्रवृत्तिका बनेका छन् ।
यी यस्तो प्रवृत्तिवान् बन्नाको कारण पनि दोस्रो र तेस्रो तहका युवा नेता नेतृ नै हुन् । यी दृष्टिहीन, चरित्रहीन र योजना एवं व्यक्तित्वविहीन हुनाको दुष्परिणाम हो । युवा पुस्ता सक्रिय, सजग र कर्मण्य भएको भए तीनै दलका पारे गोरुका काँधमा जुवा रहने थिएन । यतातिर नयाँ पुस्ताले सोच्नु र तदनुकूल आफ्ना क्रियाकलापलाई परिचालन गर्नु आवश्यक छ । जसरी आगाको नाम लिंँदैमा आगाले पोल्दैन, घिउको नाम काड्दैमा मुखमा घ्यूका लप्पा पर्दैनन् ठीक त्यसैगरी दलका युवकले पनि म युवक हुँ, बुढाले ठाउँ छाड्नुपर्छ भन्दैमा मान्छे युवक बन्दैन । युवकोचित काम क्रिया र निर्णय भएका घटना कति छन् त ? भनेर हामीले हे¥यौँ भने ठूला दलमा लग्भग शून्य हात लाग्ने अवस्था रहेको देखिन्छ ।
भक्तपुरका जगन्नाथ आचार्य किसानसँग सम्बद्ध थिए । उनले बनाएको कृषिसंगठनको सञ्जालमा आत्माराम ओझा, सूर्यभक्त अधिकारी, वासुदेव कोइरालाजस्ता मान्छेले किसानलाई अहोरात्र सहयोग सल्लाह दिने गरेको मैले देखेको थिएँ । सूर्यभक्त अधिकारीका घरमा कार्यकर्ताका निमित्त २४ सै घन्टा भान्सा तयार हुन्थ्यो ।
गगनले हिम्मत गरे केही कुरामा तर उनी पनि आँधी बेहरी ल्याउने गरी जनताको दिल छुने कार्यक्रम लिएर देशका कुनाकन्दरामा कति हिँडे त ? विश्वप्रकाश शर्मा धेरै वर्षको प्रतीक्षापछि झापाबाट जितेर आएका युवक महामन्त्री हुन् तर मैले झापालीकै मुखबाट सुनेँ अब विश्वप्रकाशले चुनाव जितेर आउने सम्भावना क्षीण भएको छ । उनी कोशी घटनामा नराम्रोसँग चुके भनेर पनि भन्दारहेछन् । गगनको पनि उनकै निर्वाचन क्षेत्रमा लोकप्रियताको ग्राफ अधोयात्राशील भयो भनेर उनकै युवक अनुयायीका मुखबाट सुन्न थालेँ । म भर्खरै रसुवा र नुवाकोटतिर घुम्न गएको थिएँ त्यहाँ नयाँको भन्दा पुरानै पुस्ताका अर्जुननरसिंह केसी र डा.रामशरण महतको दब्दबा आज पनि कायमै छ ।
यिनका विकल्पमा कुनै युवक उभिएको देखिएन । अहिले एमाले र कांग्रेसका युवकलाई ठेक्कापट्टा र ग्रुपिजममा लट्टू पारेर नेताले आफू साँढे बनिरहने जाल फालेका छन् । त्यो रहस्य एमालेका भजनमा लागेका युवा सर्कलले पनि बुझेका छैनन् र कांग्रेसकाले पनि फलाना दाइ र अम्काना दाइका दौराको फेर तथा भाउजूका सारीका सप्कामा जति शक्ति काहीँ देख्न नसक्नु यो देश र जनताको दुर्भाग्य हो । राजनीति नित्य क्रियाशीलता र नित्यजनताका घरदैलाको कुरा पनि हो । नेपाली कांग्रेसको इतिहास हेर्दा गिरिजाप्रसाद कोइराला एकमात्र यसरी अहोरात्र संगठन, पार्टी, साथी, कार्यकर्ता भनेर मरिमेट्ने चरित्रका नेता थिए । साधारणभन्दा साधारण कार्यकर्तालाई पनि मर्का बुझेपछि म छु तिमी चिन्ता नमान भनेर वचन दिने र काम गरेर गराएर साबित पनि गर्ने बानी, चरित्र र स्वभाव थियो उहाँसँग ।
अर्का थिए भक्तपुरका जगन्नाथ आचार्य उनी किसानसँग सम्बद्ध थिए । उनले बनाएको कृषिसंगठनको सञ्जालमा आत्माराम ओझा, सूर्यभक्त अधिकारी, वासुदेव कोइरालाजस्ता मान्छेले किसानलाई अहोरात्र सहयोग सल्लाह दिने गरेको मैले देखेको थिएँ । सूर्यभक्त अधिकारीका घरमा कार्यकर्ताका निमित्त २४संै घण्टा भान्सा तयार हुन्थ्यो । गिरिजाप्रसाद कोइराला छउन्जेल विराटनगरको कोइराला निवास पनि अनाथ, भोका बिखर्चीको वैकुण्ठ धाम थियो । जहाँ सुशीला, रोषा, नोनाजस्ता नारीरत्न बस्तथे । बीपी र गिरिजाप्रसाद कोइरालाका अनन्य भक्त थिए कोही भने कोही किसुनजीका भक्त थिए ।
सहकारीका क्षेत्रमा गिरिजा दाइले लगाएका अर्का मान्छे थिए दीपकप्रकाश बाँस्कोटा । उनको निष्ठाको यात्रा अभिवन्दनीय चरित्रस्मारक बनेर आएको छ । मानव स्वतन्त्रता, प्रजातन्त्र र आर्थिक सबलताका लागि बाँस्कोटाले गरेको सङघर्षबाट आजका कथित युवाले खोइ सिको लिएको ? साँच्चो कुरो गर्ने हो भने मजस्तो पेशा व्यवसायमा रहेको मान्छे जति पनि आजका कांग्रेसका युवा कार्यकताले देशदर्शन गर्न सकेको देख्दिन म । अनि कसरी हुन्छ संगठन, कसरी हुन्छ जुम्सापनको अन्त्य ? पार्टी आज केन्द्रदेखि वडा तहसम्मै धमिरा लागेर भित्रभित्रै चिरा परेको छ । काममा, संगठनमा पद्र्धा छैन, पदमा सुविधामा भएका पद्र्धाले पार्टीलाई कमजोरमात्रै बनाउँछ ।
यसरी सांगठनिक चरित्रमा खडेरी परेका बेला पनि देशका कुना कन्दरामा पुगेर बाल, वृद्ध, युवा व्यापारी, किसान, बिरामी, असक्तलाई भेट्ने काम गरिरहेका डा.शेखर बिहानीपखको शुक्रतारा जस्ता देखिएका छन् भने शेरबहादुर दाइ भाग्यको फल टिप्नैमा मस्त देखिन्छन् । कांग्रेस सकिने भयो सत्ता लिप्साले उब्जाएका जुम्सापनले भने एमालेलाई ओलीका दम्भले भित्रभित्रै धमिरा छिराएर भविष्यविहीन बनाउँदै लगेको देखिन्छ । एमालेमा भित्री तागत होस् या नहोस् बाहिर दम्भ प्रदर्शन गर्न छाड्नु हुँदैन भन्ने पञ्चतन्त्रे नीतिको रटान छ ‘निर्विषेणापि सर्पेण कर्तव्या महति फटा,...फटा टोप भयंकरः’ अस्तु भवतु सव्व मंगलम् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच