काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अघिल्ला सरकारको असक्षमताका कारण अहिले अर्थतन्त्रमा समस्या आएको आरोप लगाउनुभएको छ । आफूले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा नरहेको पनि उहाँले दाबी गर्नुभएको छ ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले कोरोनाको समयमा लिइएको खुकुलो मौद्रिक तथा वित्त नीतिका कारण घरजग्गा, सेयर र वस्तु आयाततर्फ उच्च कर्जा प्रवाह भएकोमा विदेशी विनिमय सञ्चितिमा परेको चाप समाधान गर्न भनी लिइएको नियन्त्रणकारी मौद्रिक नीतिले गर्दा कर्जा प्रवाह विस्तार हुन नसकेको, ब्याजदर बढ्न गएको, उपभोग प्रभावित हुँदा र केही वस्तुको आयात प्रतिबन्धका कारण आयात घट्न गएकाले राजस्व संकलन कमजोर भई सार्वजनिक वित्त सन्तुलनमा चाप परेको बताउनुभयो ।
त्यस्तै सार्वजनिक खर्चतर्फ आयोजनाको प्राथमिकीकरणको अभाव र सम्भावित दायित्वको आंकलन नगरी खरिद प्रक्रिया अघि बढाउँदा खर्च व्यवस्थापन चुनौतीपूर्ण अवस्थामा रहेको, कतिपय बाहृय परिस्थितिका कारण पनि अर्थतन्त्रमा शिथिलता आउनमा थप योगदान पुगेको उहाँको भनाइ थियो ।
आफूले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषय अहिले क्रमशः कार्यान्वयनका क्रममा रहेका उल्लेख गर्दै मन्त्री महतले सरकारी खर्चतर्फ वित्त अनुशासनलाई जोड दिइएको, स्रोतको उपलब्धताका आधारमा बहुवर्षीय ठेक्कामा सहमति दिने गरी नयाँ मापदण्ड जारी गरिएको, आयोजनाको महत्वका आधारमा बजेट विनियोजन गर्ने प्रणाली बसालिएको, अन्तर्राष्ट्रिय विकास सहायतासम्बन्धी नयाँ नीतिको तर्जुमा सुरु गरिएको, जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न सुरु गरिएको, जलवायु परिवर्तनका कारण मुलुकलाई पर्न गएको असरको क्षतिपूर्तिस्वरूप अनुदान र सहुलियतपूर्ण ऋण सहायता परिचालनमा जोड दिने नीति लिइएको उहाँले बताउनुभयो ।
बजेटमार्फत् गरिएका नीतिगत परिवर्तन, नयाँ कराधार विस्तार र दरमा गरिएको औचित्यपूर्ण परिवर्तन र राजस्व चुहावट नियन्त्रण गर्न गरिएका प्रयासले परिणाम देखिन थालेको पनि अर्थमन्त्री महतले जिकिर गर्नुभयो । अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको उच्चस्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीति क्रमशः खुकुलो बनाउँदै लगिएको, हालै भएको मौद्रिक नीतिको समीक्षाबाट मौद्रिक नीतिमा महत्वपूर्ण परिवर्तन भएको, प्रधानमन्त्री तथा आफ्नो उपस्थितिमा निजी क्षेत्र, अर्थविद् र सरोकारवालासँग पटक-पटक अन्तरक्रिया गरी प्राप्त सुझावका आधारमा आर्थिक सुधारका विषय अघि बढाइएको पनि उहाँले बताउनुभयो ।
उल्लेखित सुधारका प्रयासले आर्थिक क्रियाकलापहरू क्रमशः चलायमान भएको दाबी गर्दै उहाँले पुँजीगत खर्चतर्फ करिब छ प्रतिशत वृद्धिदर रहेको बताउनुभयो । भन्सार महसुलतर्फ करिब १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ करिब ७.१९ प्रतिशत, आयकरतर्फ करिब १२ प्रतिशत र समग्र कर राजस्वतर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको उल्लेख गर्नुभयो ।
त्यसैगरी वित्तीय क्षेत्रतर्फ मौद्रिक नीतिमार्फत् नीतिगत दर ६.५ बाट घटाएर ५.५, बैंकदर ७.५ बाट सात र निक्षेप संकलनको बोलकबोल दर ४.५ बाट ३.० प्रतिशत कायम गरिएकाले ब्याजदर क्रमशः घट्दै गएको पनि उहाँले बताउनुभयो । अर्थमन्त्रीका अनुसार हाल अन्तर बैंकदर २.५ प्रतिशत हाराहारीमा रहेको छ । २०७९ चैतमा वाणिज्य बैंकहरूको औसत आधारदर १०.४८ प्रतिशत रहेकोमा २०८० असोजमा औसत आधारदर ९.९४ प्रतिशत रहेको छ । २०७९/०८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा ६८.५५ अर्ब रहेकोमा यस वर्ष सोही अवधिमा एक सय ३० अर्ब पुगेको छ भने निक्षेपतर्फ २०७९/०८० को पहिलो चार महिनामा ४६.७४ अर्ब रहेकोमा यस वर्ष सोही अवधिमा दुर्ई सय ४४ अर्ब पुगेको छ ।
२०८० असोजसम्म चालु खाता ५९ अर्बले बचतमा रहेको, ९९ अर्बले शोधनान्तर बचतमा रहेको र १२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी विनिमय सञ्चिति रहेको छ । रेमिट्यान्स आय २०८० असोजसम्ममा ३० प्रतिशतले बढेकाले बाहृय क्षेत्र सन्तुलनको अवस्था राम्रो रहेको, पर्यटक आगमनमा उत्साहजनक वृद्धि भई २०२३ को हालसम्म नौ लाख ५४ हजार पर्यटक आगमन भएको छ, चालु आर्थिक वर्षमा करिब नौ सय मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारणमा जोडिने क्रममा रहेको पनि उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच