रास्वपाको वडा अधिवेशन आजदेखि

हिमालय टाइम्स
Read Time = 3 mins
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो ।
सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । ‘निर्वानपछि एक वर्षमा पार्टीको अधिवेशन सुरु गर्ने निर्णय गरेका थियौँ । औपचारिक रुपमा अधिवेशन आजदेखि सुरु भएको छ’, उहाँले भन्नुभयो, ‘सात प्रदेशमा सात वडामा वडा अधिवेशन आजै सक्छौँ । हामीले निरन्तररुपमा वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर क्रमशः राष्ट्रिय महाधिवेशनको बाटो खुलाएका छौँ ।’
रास्वपाले भरतपुर महानगरपालिका–११, जितपुर सिमरा उपमहानगरपालिका–२, पोखरा महानगरपालिका–१०, बुटवल उपमहानगरपालिका–१३, इटहरी उपमहानगरपालिका–२०, भेरीगङ्गा नगरपालिका–६ र टीकापुर नगरपालिका–१ मा आज वडा अधिवेशन गर्दैछ । सातै प्रदेशका ती वडामा रास्वपाका केन्द्रीय प्रतिनिधि सहभागी हुँदैछन् । पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाल, सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ र केन्द्रीय सदस्य विजय जैरु विभिन्न वडामा केन्द्रीय प्रतिनिधि रहनुभएको छ ।
‘जलेश्वर बैठकबाट पार्टीको वैचारिक धार स्पष्ट गरेका छौँ । यसलाई स्थानीय तहसम्म पु¥याउने मुख्य एजेण्डा हो’, प्रमुख सचेतक परियारले भन्नुभयो ।
सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठले प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘११ जनामध्ये कम्तीमा चार महिला सदस्य अनिवार्य गरेका छौँ । चार जनामध्ये पनि एक जना अनिवार्यरुपमा दलित महिलाको व्यवस्था गरिएको छ । छ जना ४५ वर्षमुनिका युवा हुनै पर्नेछ ।’ रासस
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?