✍️ राजेश अधिकारी
लजाई लजाई भेट्ने गथ्र्यौं गाई गोठालामा
कर्के नजर लगाई हेथ्र्यौं मेला-खेतालामा
पानी भर्ने बहानामा भेट्थ्यौँ पँधेरोमा
इसाराले नै बोल्ने गथ्र्यौं साँझको अँधेरोमा ।
मट्याङ्ग्रामा बाँधी पत्र फाल्थ्यौँ खोलापारि
परेवाले ल्याउथ्यो चिठी माई खोलावारि
लुकी–चिहाई हेर्ने गथ्र्यौं नाच्दै रोदिघरमा
मायाप्रीति बसिहाल्थ्यो ख्यालठट्टाकै भरमा ।
बैंसालु तन रमाई डुल्यो लेक र बेंसीमा
अर्गानिक माया जवान दिल बेहद खुशीमा
घाँसदाउरा गर्दा बेंसीमा झर्दा जोडिन्थे दुई मन
सुसेली सुसाई मुसुक्क मुस्काई डुलिन्थे रनवन ।
गोठालो जाँदा वनफल खाँदा मिल्दथे दुई दिल
दोहोरी गाउँदा पिरति लाउँदा हुन्नथ्यो मुस्किल
खेल्दथेँ गुच्चा, पाङ्ग्रा र गट्टी बालक कालमा
कान्छीको मनमा गुलेली ताकी पार्दथेँ जालमा ।
दोबाटो ढुकी झ्याङमा लुकी कुर्दथेँ उनीलाई
प्रतिज्ञा गरी लगाएँ माया अनन्त जुनीलाई
निस्छल प्रेम पवित्र माया बाजेको पालाको
अर्गानिक प्रीति पुरानो थिति मौलिक चालाको ।
गर्देऊ सेभ यो मेरो माया दिलको मेमोरीमा
नफालीदेऊ न डिलिट गरी रद्दीको टोकरीमा
राखेको छु तिम्रो त्यो फोटो दिलको कम्प्युटरमा
भगाई लान्छु चढी तिमीलाई मनको मोटरमा ।
तिम्रो माया मेगाबाइट भए मेरो गिगाबाइट
मेरो ल्यापटपमा बस्ने खेल्ने तिम्रै मात्रै राइट
प्रेम प्रस्ताव स्वीकार गरी ईमेल पठाऊ सानी
म हुँ तिम्रो दिलको राजा तिमी मेरी रानी ।
मोनिटरमा तिमी हाँस्छौ मधुर मुस्कान छरी
स्क्रिनसेभरमा तिमी नाच्छौ छम छम गरी
यो छातीको मोबाइलमा राख्छु म तिम्रो फोटो
कुल्चिएर मेरो माया नबनाऊ है खोटो ।
रिप्लाई देऊ प्रेम प्रस्तावको कुरीबस्या छु म
एसएमएसमा उत्तर पाउन ब्याकुल भको छु म
मेरो दिलको वाइफाईले तिमीलाई नै खोज्छ
तिम्रो मनको म्यासेन्जरले कहिले मलाई रोज्छ ?
मोबाइल फोनमा भाइबर-इमो तिम्रै निम्ति राखेँ
वाट्सएप-फेसबुक सर्फिंग गरी तिमीलाई ताकेँ
नभेटिकनै भिडियो च्याटमा बस्छ गहिरो प्रेम
विज्ञानको आशिर्वाद यो प्रिय डिजिटल प्रेम ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच