गण्डकी प्रदेश पर्वत जिल्लाको जलजला गाउँपालिका-४ मा बुबा मोहनबहादुर श्रेष्ठ र आमा टीकाकुमारी श्रेष्ठको कोखबाट जन्मिनुभएका सुरज श्रेष्ठ यतिबेला काठमाडौंमा रहेर आफ्ना क्रियशन श्रोता/दर्शकमाझ पस्किरहनुभएको छ । उहाँको हालै ‘बेनी बजारमा’ गीत आएको छ । ५० भन्दा बढी गीत सार्वजनिक गर्नुभएका सुरजका १७ भन्दा बढी गीतका भिडियो श्रोता/दर्शकमाझ आएका छन् । उहाँका ‘लाग्दैन निद्रा’, ‘भुलेउ कि’, ‘कालो कपाल’, ‘मुद्दा हालिदिन्छु’, ‘जिस्काम्चे मुइयाले’, ‘चञ्दा’, ‘पहिलो माया’ जस्ता गीत औधी मन पराइएका छन् । पछिल्लो समय कला क्षेत्रमा राम्रो हुँदै गएको भए पनि देशको परिस्थितिले एक खालको नैराश्यता आएको उहाँ बताउनुहुन्छ । हालै ‘बेनी बजारमा’ गीत श्रोता/दर्शकमाझ ल्याउनुभएका गायक सुरज श्रेष्ठसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः-
हाल केमा व्यस्त हुनुहन्छ ?
गीत संगीतको भेलमा होमिएको मान्छे, त्यसमा नै बगिरहेको छु हाहा..। भर्खरैमात्र एउटा नयाँ गीत ‘बेनी बजारमा’को बिरूवा रोपेको छु । त्यसलाई मलजल गर्नमा अलि व्यस्त छु भन्नुपर्ला ।
यो क्षेत्रमा कसरी आउनुभयो ?
म स्कुल पढ्दा थाहा थिएन यो गीत संगीत बन्ने प्रक्रिया कस्तो हुन्छ तर आफूलाई मजा लाग्ने सुन्नसँगै गुनगुनाउन । धेरै साथीहरूमध्ये अति नै मिल्ने साथी दुईचारजना थियौँ । हामी पढाइका अलावा फिल्म अत्यधिक हेर्ने । कोही साथीहरू त आफ्नो मन परेको हिरोको फिल्म आयो भने त राती सुतेको बेला पनि उठाएर लग्थे । त्यस्ता साथीहरू थिए जुन फिल्म हेर्यो त्यसका गीतहरू कण्ठस्थ गर्ने बानी पर्यो । तर, त्यतिबेला लाग्थ्योे हिरोले नै होला सबै गर्ने, थाहा थिएन गाउने फरक हुन्छ । मेरो प्लस टु बेनीमा नै भयो र फरदर स्टडीका लागि काठमाडौं आउनुपर्ने भयो । अनि बल्ल थाहा पाएँ संगीतको पढाइ पनि हुन्छ । अनि त के खोज्छस् कानो आँखो भइगयो नि । बिए पढाइसँगसँगै संगीत शिक्षाको पनि श्रीगणेश भयो । मेरो एमएको पढाइ सकियो अनि थेसिस लेख्ने क्रममा मेरा सांगीतिक साथीहरूले भन्नुभयो अब तिमीले गीत निकाल्नुपर्छ । यहाँबाट सुरु हुन्छ मेरो संगीत यात्रा अहिलेसम्म अनवरत बगिरहेको छ ।
यहाँको स्वरमा रहेको गीत ‘बेनी बजारमा’ हालै बजारमा आएको छ, कस्तो पाउनुभएको छ प्रतिक्रिया ?
यो गीतलाई जस्तो मिहिनेत सायदै मेरो अरू गीतहरूलाई गरेको होला । जन्मदिने आमाबाबा, हुर्केको, खेलेको परिवेश सबैलाई प्यारो लाग्छ । संगीतकार दीपक शर्माले यही परिवेशको एउटा मिठो सिर्जना दिनुभयो र यसलाई सिँगार्ने काम एरेञ्जर नरेन्द्र वियोगीले गर्नुभएको छ । यसलाई कुनै पनि क्षेत्रबाट कमी नहोस् भनेर मैले मेरो क्षेत्रबाट सय प्रतिशत दिने कोसिस गरेको छु । यो गीत बेनी बजारमा भन्दैमा क्षेत्रीय गीत भन्ने लाग्न सक्छ तर त्यो बिलकुल होइन । अरू गीतहरू जस्तै माया प्रेमकै गीत हो । हजुरहरूले हेर्नुभयो भने थाहा हुन्छ । बेनी बजारमा भन्ने शब्दका कारण शब्दलाई न्याय दिनका लागि नै यसलाई बेनी बजार र आसपासको क्षेत्र जलजला गाउँपालिकालगायत कुस्मा, बागलुङमा यसको छायाँकन गर्नुपर्ने भयो, यसले त्यस क्षेत्रको पर्यटन विकासमा पनि टेवा पुग्ने मेरो विश्वास छ । यस गीतसँग आबद्ध सम्पूर्ण साथीहरूले आफ्नो ठाउँबाट सय प्रतिशत मिहिनेत गर्नुभएको छ । उहाँहरूप्रति आभारी छु । भर्खर-भर्खर दर्शक/श्रोतामाझ ल्याएको छु । एकदमै राम्रो प्रतिक्रिया पनि पाइरहेको छु । अरू यस्तै काम गर्ने ऊर्जा मिलेको छ ।
अहिले राम्रो गर्नेलाई फलिफाप नै छ । यसैबाट धेरै संगीतकर्मीको गाँस, बास र कपासको राम्रो व्यवस्था भएको पनि छ । कसैलाई फेरि गाह्रो पनि छ । तर, कस्तो गीत चल्छ, कस्तो चल्दैन अन्योलको अवस्था छ । यद्यपि अहिले धेरै कलाकारले बजार बुझेका छन् । प्रविधि बुझेका छन्, त्यसले आर्जन गर्ने माध्यम फराकिलो पनि भएको छ । यसका बाबजुद पनि कलाकारमा देशको परिस्थितिले गर्दा होला एक किसिमको नैराश्यताचाहिँ छ । धेरै कलाकारहरू पलायन हुने परिस्थिति मैले देखेको छु ।
अहिलेसम्म कति गीत गाउनुभयो, केही गीतको नाम लिनुपर्दा ?
अहिलेसम्म ५० जति गीत भए कि तर भिडियोको हिसाबले १६/१७ भयो । जस्तै ‘लाग्दैन निद्रा, भुलेउ कि, कालो कपाल, मुद्दा हालिदिन्छु, जिस्काम्चे मुइयाले, चञ्दा, पहिलो माया’ लगायत छन् ।
यो क्षेत्रमा नआउनुभएको भए यहाँलाई हामी यतिबेला कहाँ पाउँथ्यौँ होला ?
यो क्षेत्रमा नआएको भए अपसन त धेरै थियो । शिक्षण पेशा, आर्मी अथवा निजामतीतिर हुन्थेँ होला ।
अहिले संगीतको बजार कस्तो पाउनुहुन्छ ?
अहिले राम्रो गर्नेलाई फलिफाप नै छ । यसैबाट धेरै संगीतकर्मीको गाँस, बास र कपासको राम्रो व्यवस्था भएको पनि छ । कसैलाई फेरि गाह्रो पनि छ । तर, कस्तो गीत चल्छ, कस्तो चल्दैन अन्योलको अवस्था छ । यद्यपि अहिले धेरै कलाकारले बजार बुझेका छन् । प्रविधि बुझेका छन्, त्यसले आर्जन गर्ने माध्यम फराकिलो पनि भएको छ । यसका बाबजुद पनि कलाकारमा देशको परिस्थितिले गर्दा होला एक किसिमको नैराश्यताचाहिँ छ । धेरै कलाकारहरू पलायन हुने परिस्थिति मैले देखेको छु ।
राम्राभन्दा ‘झुर’ गीतले बजार तताइरहेको देख्दा कस्तो लाग्छ ?
यो पनि एक किसिमले राम्रै होला । हरेक कुराको एउटा सीमा हुन्छ । निश्चित सीमा पार गरेपछि कुनै पनि कुराको पराकाष्टा नै भएपछि आफैं तल झर्ने नै हो । यसमा पनि अहिलेको हाम्रो देशको राजनीतिक परिस्थितिलाई उदाहरणका रूपमा लिन सकिन्छ । कति थेग्ने के जनताले । हामी पोजिटिभ नै हुनुपर्छ । राम्रो काम गर्नुपर्छ, राम्रो नै हुन्छ ।
सुरज श्रेष्ठ को हो ?
सुरज श्रेष्ठ सांगीतिक क्षेत्रको एउटा इमान्दार साधक हो । उसलाई कसैको लोभ, मोह र डाह छैन । आफ्नो कर्ममा विश्वास गर्छ । निष्कलंक, स्वच्छ मान्छे, निरन्तर बगिरहने खोला हो ।
लामो समयदेखि यो क्षेत्रमा हुनुहुन्छ, के पाउनुभयो, के गुमाउनुभयो ?
धेरै गुमाएको पनि छु, धेरै पाएको पनि छु । गुमाएँ यो अर्थमा कि मेरो बुबाआमाको सपना गुमाएको जस्तो लाग्छ । किनकि उहाँहरूको सपना मेरो यो क्षेत्र थिएन । उहाँहरू छोराले पढाइ सकेर गाउँ फर्कियोस्, आफूसँगै होस् भन्ने थियो । तर, त्यो भएन । यसका लागि मैले परिवारसँग निकै संघर्ष गर्नुपर्यो । अहिले अलि बुझ्न थाल्नुभएको छ । के पाएँ भन्नुपर्दा दर्शक/श्रोताको माया पाएको छु । उहाँहरूको साथ पाएको छु । उहाँहरूको हौसलाले आत्मबल पाएको छु । जीवन जिउने आधार पाएको छु । एकजना बुद्धिजीवी दाइले भन्नुहुन्थ्यो, ‘जीवनमा जन्तीभन्दा पनि मलामी कमाउनुपर्छ ।’ त्यसले मलाई साह्रै छोएको थियो । देशको गहना हुन पाएको छु, गर्वको कुरा होइन त हाहा...।
अन्त्यमा ?
यो हाम्रो सुन्दर देश साँच्चिकै सुन्दर होस् । हरेक नेपालीले गर्व गर्ने देश बनोस् । सम्पूर्ण नेपालीले यहीँ केही सिर्जनशील, उत्पादनशील काम गर्ने वातावरण बनोस् । सम्पूर्ण देश बनाउन गएका नाइके, भरौटे सच्चिऊन् र देश विकासमा लागून् साथै कलाकारलाई सौहार्दपूर्ण वातावरणमा काम गर्ने माहोल सिर्जना होस् अनि मात्र अर्को स्वरसम्राट, भजन शिरोमणि जन्मन्छ । जय देश, जय संगीत ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच