काठमाडौं । समाजवादको नेपाली बाटो तय गर्ने उद्देश्य राखेर घोषणा गरिएको समाजवादी मोर्चा, नेपाल ६ महिनामै सेलाएको छ । नेपाली विशेषताको समाजवाद निर्माण गर्ने प्रमुख लक्ष्य राखेर गत चार असारमा बनेको समाजवादी मोर्चा मंसिरसम्म आइपुग्दा सुस्ताएको हो । फुर्तिसाथ घोषणा गरिएको मोर्चा सुस्ताउँदै गएको छ । भदौयता मोर्चाको बैठकसमेत बस्न सकेको छैन । असोज २९ गते सुदूरपश्चिमको धनगढीमा प्रदेशस्तरीय सभा सम्पन्न भएपश्चात् मोर्चाको कार्यक्रम पनि हुन सकेको छैन । त्यसयता मोर्चाको गतिविधि शून्यप्रायः छ ।
समाजवादसँगै विभेदको अन्त्य गर्ने, त्यसका लागि जनदबाब सृजना गर्ने, पिछडिएको क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने, राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा पछाडि पारिएका सीमान्तकृत समुदायका अधिकार प्रत्याभूत गराउनेजस्ता लोकप्रिय उद्देश्य मोर्चाले लिएको थियो । सत्तारूढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा मोर्चामा सामेल छन् । समाजवादी मोर्चाबारे बहस चलाउने नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि हुनुहुन्थ्यो । तर, अन्तिममा मोर्चा घोषणा हुँदा उहाँ अटाउनुभएन ।
गत असार ४ गते काठमाडौंको राष्ट्रियसभा गृहबाट निकै ठूलो राजनीतिक शक्ति निर्माण भएको शैलीमा मोर्चा घोषणा भएको थियो । छरिएर रहेको वामपन्थी एक ठाउँमा भेला भएर ठूलो शक्ति देखाउन समाजवादी मोर्चा घोषणा गरिएको थियो । मोर्चा घोषणा सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उद्घोष थियो, ‘राजनीतिक परिवर्तनविरुद्ध लाग्नेहरूका निम्ति यो युद्धको घोषणा हो ।’ परिवर्तनलाई होच्याउने, अपमानित गर्ने अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरूले टाउको उठाउन खोजेको भन्दै समाजवादी मोर्चा तिनीहरूविरुद्धको युद्ध भएको उहाँको भनाइ थियो ।
मोर्चा घोषणा हुँदै यसको भविष्यलाई लिएर विभिन्न टीकाटिप्पणी भएको थियो । घोषणाकै बेला सरकार टिकाउन वा सत्ता प्राप्तिको भर्याङ बनाउन मात्र मोर्चा गठन आवश्यक नभएका नेताहरूले तर्क गरेका थिए ।
नेतृत्व परिवर्तनमा ढिलाइ
पछिल्लो चार महिनायता मोर्चाको बैठकसमेत बस्न सकेको छैन । गत भदौ ४ गते मोर्चाको अन्तिम बैठक बसेको थियो । बैठकले सातवटै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको थियो । जुन सम्पन्न भइसकेको छ । यस्तै, बैठकले प्रदेशदेखि स्थानीय तहसम्म संरचना विस्तार गर्ने निर्णयसमेत गरेको थियो । यो काम भने पूर्ण रूपमा हुन सकेको छैन । मोर्चाको नेृतत्व चार पार्टीले आलोपालो गर्ने नेताहरूबीच सहमति भएको थियो । जसअनुसार अहिले मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरिरहनु भएको छ । नेतृत्व समयावधि चार महिना रहने सहमति थियो । सहमतिअनुसार नेपालको समयावधि सकिसकेको छ । सहमतिअनुसार एक महिनाअघि नै नेतृत्व परिवर्तन भइसक्नुपर्ने हो । तर, मोर्चाको बैठकै बस्न सकेको छैन । बैठक नै बस्न नसकेको अवस्थामा सहमति कार्यान्वयनको विषयसमेत ओझेलमा परेको छ । नेपालको नेतृत्वमा प्रत्येक पार्टीबाट एक-एकजना सदस्य रहेको सचिवालयसमेत छ । जसको सदस्यमा माओवादीका महासचिव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेता खड्गबहादुर विश्वकर्मा हुनुहुन्छ । एकीकृत समाजवादीकै उपाध्यक्ष प्रमेश हमाल सचिवालयको सदस्य सचिव हुनुहुन्छ ।
शीर्ष नेताको व्यस्तताले बैठक बस्न ढिलाइ
नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले नेताहरूको व्यस्तताको कारण समाजवादी मोर्चाका काम अगाडि बढ्न नसकेको बताउनुभयो । अब छिट्टै बैठक बस्नेबारे छलफल भइरहेको आफूले जानकारी पाएको उहाँले बताउनु्भयो । ‘नेताहरूको व्यस्तताले उहाँहरू जुट्न सक्नुभएको छैन । त्यसैले समाजवादी मोर्चाका कामहरू गर्न विलम्ब भएजस्तो देखिन्छ,’ उहाँले भन्नुभयो, ‘नेताहरू सक्रिय भए तर, मोर्चा निष्क्रियजस्तो बन्यो ।’
हुन पनि मोर्चाको शीर्ष नेताहरू आ-आफ्नो पार्टीको कार्यक्रममा व्यस्त छन् । प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी अध्यक्ष प्रचण्डले सरकारसँगै पार्टीसमेत सम्हालिरहनु भएको छ । उहाँको व्यस्तता स्वाभाविकै हो । स-साना कार्यक्रममा समेत सम्बोधन गर्न जान भ्याउने प्रधानमन्त्री प्रचण्डले मोर्चालाई भने समय दिन भ्याउनुभएको छैन । ठूलो महत्वाकांक्षासहित सुरु भएको मोर्चालाई सक्रिय बनाउनेभन्दा उहाँ बाबुराम नेतृत्वको नेसपासँग एकता गर्ने प्रक्रियामा हुनुुहुन्छ । यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मोर्चाको संयोजक हो । मोर्चालाई सबैभन्दा धेरै सक्रिय बनाउने जिम्मेवारी उहाँकै हो । तर, उहाँलाई विदेश भ्रमण गर्न भ्याइनभ्याई छ । उहाँ एकपछि अर्को विदेश भ्रमणमा गइरहनु भएको छ । नेकपा महसचिव विप्लव पार्टीका विभिन्न कार्यक्रममा सहभागिता जनाइरहनु भएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवको अवस्था पनि उस्तै छ ।
मोर्चा सुस्ताएको छैन, आन्तरिक गतिविधि भइरहेका छन् : उपाध्यक्ष हमाल
एकीकृत समाजवादीका उपाध्यक्ष तथा मोर्चाको केन्द्रीय सचिवालय समिति सदस्य सचिव प्रमेश हमाल भने मोर्चाले आफ्ना गतिविधि गरिरहेको बताउनुभयो । मोर्चा सुस्ताएको नभई जिल्लास्तरका कार्यक्रममा केन्द्रित रहेको उहाँले बताउनुभयो । ‘मोर्चा सेलाएको छैन । मोर्चाले आफ्ना गतिविधि गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘अहिले जिल्लास्तरमा समिति गठन गर्ने काम भइरहेको छ । केन्द्रमा मिडियामा आउने गरी कुनै काम नभएको जस्तो देखिएको मात्रै होला । तर, मोर्चा सक्रिय नै छ ।’ उहाँले शुक्रबार मात्रै मोर्चाको सचिवालय बैठक बसेको बताउनुभयो । बैठकले केही दिनमै केन्द्रीय संयोजन समितिको बैठक बोलाउने तयारी गरेको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच