यो साता दुई लोकतन्त्रवादीहरूसँग भेट हुन पुग्यो । छुट्टाछुट्टै दुई कार्यक्रममा भेटिएका छोप्राक, गोरखाका कृष्णप्रसाद पोखरेल र नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा.कुलप्रसाद कोइराला दुबैको इतिहास र प्रजातन्त्रप्रतिको समर्पण रोमाञ्चक छ । दुबैजनालाई मैले धेरै वर्षअघिदेखि नै चिन्दथेँ र उहाँहरूका योगदानका बारेमा धेरथोर जानकार पनि थिएँ । समय नै बलवान् रहेछ, जे कुराका लागि पनि समय आउनै पर्ने रहेछ । मन लागेको प्रशंसा गर्न पनि समय नै कुर्नुपर्ने रहेछ ।
लोकतन्त्र स्थापना र यसको सम्बद्र्धनमा निरन्तर योगदान दिने यी दुबै पात्रका बारेमा केही न केही लेख्न दुबैजनाका इतिहासले घच्घच्यायो । राणाकालमा त होइन, पञ्चायतले नागरिक स्वतन्त्रता खोस्दा त्यसैको विपक्षमा लागेका पोखरेल र कोइराला माओवादीहरूबाट मानव अधिकारको व्यापक उल्लंघन हुँदा समेत कत्ति नडराई निरन्तर जनताका अधिकारका बारेमा विचार प्रवाह गरिरहे । नेपालमा इतिहास भएको मानिस जीवनभर छट्पटाएर बाँचेको हुन्छ र मरेपछि उसको गुनगानले देश गुञ्जन्छ, त्यतिबेला ती सबै प्रशंसका शब्दहरूको न कुनै महत्व हुन्छ न प्रभावकारिता नै । त्यसैले उहाँहरू सक्रिय रहँदा रहँदै उहाँहरूका संघर्षलाई सलाम गर्दै यो आलेख प्रस्तुत गरिएको छ । यो छोटो आलेखमा त एकदुई घटनालाई मात्रै स्मरण गर्न सम्भव हुन्छ तर कुनै अध्येतालाई इतिहास जान्न मन लागेमा पात्र खोजीमा भने सहयोगी हुनेछ ।
कृष्णप्रसाद पोखरेल सरको छातीमा माओवादीहरूले बन्दुक तेस्र्याए । प्रशिक्षार्थीहरू सबै भागे तर पोखरेल सर एक्लै लडिरहे । माओवादीहरूले तीन गोली चलाए, दुईवटा गोलीले कपडा छेडे भने एक गोली पोखरेल सरले छले । निडर पोखरेल सरलाई आक्रमण गरी हत्या गर्न आएका माओवादीहरू परास्त भएर फर्किए ।
मुण्डमुण्ड बुद्धि, कुण्डकुण्ड पानी भने झैँ एउटै खोलाको पानी खाए पनि र एउटै कक्षामा बसेर अध्ययन गरे पनि मति भिन्न हुने रहेछ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र चिकित्सक उपेन्द्र देवकोटासंग एउटै कक्षामा अध्ययन गरेका कृष्णप्रसाद पोखरेल दुबैभन्दा अलग देखिए । कक्षामा प्रथम, दोस्रो र तेस्रो स्थानका लागि सधैं प्रतिस्पर्धा गर्ने यी तीन पात्रहरूमध्ये बाबुराम भट्टराईले गलत राजनीतिको बाटो समाते र सत्र हजार निर्दोष नेपालीले अनाहकमा ज्यान गुमाउन पर्ने अवस्थाको नायक बने । निरंकुश राजतन्त्रको समर्थन गर्दै मन्त्री बन्न उपेन्द्र देवकोटा लालायित भए तर पोखरेल भने परोपकार माध्यमिक विद्यालय, जौबारी, गोरखाका शिक्षक एवं प्रधानाध्यापक हुँदै दुर्गम गोरखाका बालबालिकालाई शिक्षित बनाउने अभियानमा जोडिए ।
गलत कुराका विरुद्धमा स्पष्ट अडान राख्ने पोखरेल सही विचारका पक्षमा त्यत्तिकै अडिग थिए र अहिलेको प्रौढावस्थामा पनि उनको जोसमा कुनै कमी आएको छैन । युवावस्थामा नागरिक स्वतन्त्रताका बारेमा आफ्ना सम्पर्कमा रहेकाहरूलाई सचेत गराउँदै आएका पोखरेल आज पनि त्यत्तिकै सक्रिय छन् । कक्षाभित्र अब्बल शिक्षकका रूपमा प्रस्तुत हुने पोखरेल विचार प्रस्तुतिमा उत्तिकै प्रखर मानिन्छन् । उनले पढाएका विद्यार्थी अहिले ठूलाठूला पदमा छन् । ती विद्यार्थीहरूसँग सोध्ने हो भने पोखरेलको नाम सुन्ने बित्तिकै सम्मानले शिर निहुर्याउँछन् ।
प्रजातन्त्रका पक्षमा सतिसाल भएर उभिँदा झण्डै मारिएका कृष्णप्रसाद आज पनि कुनै लोकतन्त्रका शत्रुहरूसँग डराउँदैनन् । विसं २०५७ साल मंसिर ११ गते २४ जना शिक्षकहरूलाई गोरखा जिल्लाको सदरमुकाममा रहेको माध्यमिक शिक्षा परियोजनाको तालिम कक्षमा पोखरेल सर तालिम दिँदै थिए, एक्कासि माओवादीहरू बन्दुकसहित प्रवेश गरे । कृष्णप्रसाद सरको छातीमा बन्दुक तेस्र्याए । प्रशिक्षार्थीहरू सबै भागे तर पोखरेल सर एक्लै लडिरहे । माओवादीहरूले तीन गोली चलाए, दुईवटा गोलीले कपडा छेडे भने एक गोली पोखरेल सरले छले । निडर पोखरेल सरलाई आक्रमण गरी हत्या गर्न आएका माओवादीहरू परास्त भएर फर्किए ।
यति हुँदा पनि पोखरेल सरको आस्था डग्मगाएन । माओवादी हिंसा चरमोत्कर्षमा पुग्दा पनि उनको प्रजातन्त्रप्रतिको विश्वास उडेन, झन् प्रबल बनेर गयो । विद्यार्थी कालमा लैनचौरस्थित अस्कल क्याम्पसमा नेवि संघको राजनीति गर्दै कमल थापाहरूसँग चुनाव लडेका पोखरेलले शिक्षक भएपछि अहिलेका गृहमन्त्री नारायाणकाजीहरूलाई समेत पढाएका थिए । त्यसैले होला विद्यार्थीकालमा नारायणकाजी पनि प्रजातन्त्रवादी नै थिए भनिन्छ । पोखरेल सरको प्रजातन्त्रप्रतिको समर्पणले नेपालको लोकतान्त्रिक भनिएको राजनीतिक दल नेपाली कांग्रेसलाई फाइदा पुगेकै होला तर कांग्रेसले उनलाई आजसम्म सम्झे जस्तो लाग्दैन । न उनी कहिल्यै आफ्नालागि केही माग्न कतै गएका छन् न उनको योगदानलाई स्मरण गरेर कसैले सम्मान गरेको छ । यद्यपि नेपालमा लोकतन्त्र संस्थागत हुँदैछ भनेर हर्षित नै देखिन्छन् ।
विगतको एक चुनावमा बाबुराम भट्टराईले पोखरेल सरलाई नमस्कार म बाबुराम भन्दै फोन गरेछन् । त्यति भन्ने बित्तिकै पोखरेल सरले एकोहोरो रूपमा बाबुरामलाई उनका कर्तुतहरूका बारेमा विस्तार गरेर आज तिम्रो योजना सफल भएको भए मेरो १७औं स्मृतिदिवस हुन्थ्यो किन फोन गर्छौ भनेर बाबुरामलाई एकशब्द बोल्नै नदिई फोन राखिदिएछन् । अरू जस्तै आश र त्रासमा बाँच्ने भएको भए पूर्वप्रधानमन्त्री जस्तो मान्छेले फोन गर्दा निश्चय नै पोखरेल सरले केही न केहीको सौदाबाजी गर्थे होलान् तर उनी आफ्नै अडानमा रहे ।
अर्का सत्पात्र कुलप्रसाद कोइराला पनि नेपालमा प्रजातन्त्रको स्थापनार्थ त्यसैगरी संघर्ष गरेका व्यक्ति हुन् । जति संघर्ष गरेका थिए त्यति नै फल प्राप्त गरे कि गरेनन् थाहा छैन तर यिनले भने नेपालको दोस्रो विश्वविद्यालय नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति हुने अवसर भने पाए । ठूलो पदमा पुग्छु भनेर आन्दोलनमा होमिएका त होइनन् तर आन्दोलनकारीहरूको मूल्यांकन के कसरी भइरहेको छ भन्ने चाहिँ महत्वपूर्ण हुँदो रहेछ । प्रजातन्त्र मास्न अग्रसर हुनेहरूलाई नै लोकतन्त्रमा पुरस्कृत गरिरहनाले लोकतन्त्रवादीहरूको मनोबलमा असर पार्ने नै रहेछ । यद्यपि नेपालमा लोकतन्त्र स्थापना भएको देखेर हर्षित हुनेहरू मध्येको अग्रपंक्तिमा कोइराला छन् ।
कतिपय पुस्तक र लेखहरूमा कुलप्रसाद कोइरालाको नाम गाँसिने गर्नाले कोइराला सर पूर्णतः उपेक्षामा पर्ने गरेका चाहिँ छैनन् । ‘प्राडा.तुलसीराम वैद्य : अभिव्यक्ति र उद्गार’ शीर्षकको पुस्तकमा कोइरालाको नाम ठाउँठाउँमा पढ्न पाइन्छ । उक्त पुस्तकका अनुसार राष्ट्रिय विकास सेवा कार्यक्रम विसं २०३५-३६ समूह अन्तर्गत कोइराला सल्यान जिल्लामा खटिएका थिए । दमाचौर माध्यमिक विद्यालयमा नेपाली पढाउन पुगेका कोइरालाले विद्यार्थीहरूलाई नेपाली विषय पढाउनुका साथै पञ्चायतको विरोध गर्नुपर्ने कारणहरू र नेपाली कांग्रेसले लिएका नीति र प्रजातन्त्रका फाइदाहरूका बारेमा पनि पढाउन थालेछन् । यसबाट रुष्ट प्रमुख जिल्ला अधिकारीले तर्साउँदा, कारबाहीको डर देखाउँदा र पञ्चायतको समर्थनमा निवेदन दिए छाडिदिने आश्वासन दिँदा उल्टै प्रतिवाद गरी तुलसीराम सरको सहयोगबाट फुत्केका रहेछन् ।
विनोद दाहाल लिखित ‘ओखलढुंगा सशस्त्र क्रान्ति : पृष्ठभूमि, कारण र परिणाम’ पुस्तकमा पनि कोइरालाको योगदानका बारेमा पढ्न पाइन्छ । विसं २०३१ साल ताका अन्य साथीहरूका साथमा बम पड्काउने तालिम लिन भारतको सीतामढी गएको उल्लेख गरिएको छ । शहीद केशव कोइरालाहरूको संगतमा रहेका कोइराला मटिहानीको छात्रावासमा बसेर संस्कृत पढ्ने क्रममा प्रजातान्त्रिक आन्दोलनका विभिन्न कालखण्डहरूमा जोडिएको पाइन्छ । नेपालमा ल्याएको बम लुकाउने आदि कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ ।
अर्का सत्पात्र कुलप्रसाद कोइराला पनि नेपालमा प्रजातन्त्रको स्थापनार्थ त्यसैगरी संघर्ष गरेका व्यक्ति हुन् । जति संघर्ष गरेका थिए त्यति नै फल प्राप्त गरे कि गरेनन् थाहा छैन तर यिनले भने नेपालको दोस्रो विश्वविद्यालय नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति हुने अवसर भने पाए ।
डा.बद्रीनारायण गौतमद्वारा लिखित ‘नेपाली कांग्रेस र प्रतिरोध आन्दोलन, २०२५-२०३१’ पुस्तकमा समेत आन्दोलनकारीको चर्चा पाएका कुलप्रसाद सरको लोकतान्त्रिक आन्दोलनप्रतिको योगदानलाई कदापि अवमूल्यन गर्न हुँदैन । गौतमका अनुसार जनकपुर चौकी हान्ने योजना अन्तर्गत नेपालमा बम भित्र्याउने क्रममा विसं २०३१ असार ५ गते ल्याइएका हतियार लुकाउने समस्या पैदा भएको थियो । ज्ञानकुप छात्रावासमा अध्ययनमा रहेका कोइराला त्यतिबेला छात्रावास कार्यसमितिको कार्यवाहक सभापति समेत रहेछन् । त्यतिबेला उनले भनेका थिए रे-म आफ्नो बाकसमा सुरक्षित राखिदिन्छु, चिन्ता नगर, म नमर्दासम्म सुरक्षित हुन्छ । त्यही क्रममा छात्रावासमा नजरबन्दमा परेको इतिहास पढ्न पाइन्छ ।
यति गरेका कुलप्रसाद राजनीतिमा भने अड्न सकेनन् । पहाडको बाहुनको छोरो गाँस, वासको जोहो गर्न विश्वविद्यालयको प्राध्यापनमा प्रवेश गरे । प्राध्यापन गरुञ्जेल पनि प्रजातन्त्रकै पक्षधर रहे र अहिले अवकाशका बेलामा पनि नेपालमा स्थापित लोकतन्त्र कसरी सबल हुनसक्दछ भनेर चिन्ता गरिरहन्छन् । लोकतन्त्रवादी नेताहरूका कमजोरीका कारण लोकतन्त्रवादी भनिएको नेपाली कांग्रेसमा लाग्दै गएको खिया देखेर आक्रोशित हुने गर्दछन् । लोकतन्त्र विरोधीहरूका विरुद्ध र लोकतन्त्रका नाममा कमाउ धन्दामा लागेकाहरूका विरुद्ध आगो ओकली रहन्छन् ।
कोइराला सर उपकुलपति रहेका बेला विशेष चर्चामा रहे । सुशील कोइराला प्रधानमन्त्री रहेका बेला उपकुलपति बनेका यिनी पदमै रहँदा प्रधानमन्त्री हुन केपी ओली आइपुगे । क्यानडामा आयोजित संस्कृत सम्मेलनमा सहभागी हुन विमानस्थल पुगेको थाहा पाएपछि ओलीले प्रहरी लगाएर प्रधानमन्त्री निवास, बालुवाटारमा कोइरालालाई ल्याए । प्रहरीको घेरामा राखेर उनी चढ्ने जहाज उडिसकेपछि मात्रै कोइरालालाई छाडे । यो काण्ड नेपालमा उपकुलपति अपहरण काण्डका रूपमा विशेष चर्चामा रहृयो । यसको एमाले बाहेकका सबै दलहरूले विरोध गरे र संसद्मा आवाज समेत उठाए । केही प्राध्यापकहरूका बीचमा मात्रै चर्चित कोइरालालाई नेपालभर नै ख्यातिप्राप्त हुने अवसर केपी ओलीले प्रदान गरेका थिए । प्रधानमन्त्री या कुलपति भनेर ओलीसँग डराएनन्, कोइराला कम्मर कसेर यो काण्डको विरुद्धमा उभिएका थिए ।
वचने का दरिद्रता राम्रैसँग पढेका कोइराला सरले समय-समयमा भने कडा वचन प्रयोग गरिरहन्छन् । खरो र ठाडो भाषामा प्रस्तुति दिने गर्नाले कतिपय बेला आफ्नै प्रशंसक र समर्थक गुमाउँदै गएका पनि छन् । आफ्नो आत्माले सही देखेपछि कसले के भन्ला भन्ने नसोच्ने उनको बानी छ । सत्तरी पुग्न लागेका बेला आफ्नो कमजोरी सच्याउँछन् भन्ने त नसोचे हुन्छ तर सत्य भए पनि अप्रिय नबोल भन्ने वेदको मन्त्र कोइराला सरले किन पचाएका होलान् भन्ने चाहिँ लागिरहन्छ । कसैले नजिक भएर कुरा गर्न आयो भने महादेव चाँडै खुशी हुने भएका कारण आशुतोष भनिए झैँ यिनी पनि फुरुंग भइहाल्छन् । आएको व्यक्तिले स्वार्थवश आफूलाई प्रयोग गर्दै त छैन भन्ने हेक्का राख्दैनन् ।
यस्ता हजारौं लोकतन्त्रवादी छन्, जसले यो मुलुकमा लोकतन्त्र स्थापनाका लागि रगत पसिना बगाए । सच्चा लोकतन्त्रवादी पर्दा पछाडि रहेका छन् भने वर्तमान समयमा लोकतन्त्रको पगरी ओढेर छद्मभेषीहरू लोकतन्त्रको पहरेदार बन्न आइपुगेका छन् । लोकतन्त्रका हिमायती भनिएका राजनीतिक दलहरू र नेताहरू यस्तै अवसरवादीको चंगुलमा फस्दै गएका छन् र सच्चा लोकतन्त्रवादी पाखा पर्दै गएका छन् । यही प्रवृत्तिलाई बढावा दिँदै जाने हो भने नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न निश्चय नै मुस्किल पर्दछ ।
लोकतन्त्रको संघर्षमा होमिएकाहरूको सम्मान गर्नुपर्ने नेपाली कांग्रेसले नै हो । यस्तै लोकतन्त्रवादीहरूका मतले नेपाली कांग्रेस संसद्मा कहिले ठूलो दल त कहिले दोस्रो दल बन्दै आएको छ । नेकपा एमाले, माओवादीहरू बेलाबेलामा तेस्रो दल बने झैँ हुनबाट कांग्रेसलाई बचाउँदै आएका सच्चा लोकतन्त्रवादीहरूले नै हो । गत महाधिवेशनका बेला बाँडिएका दश लाख क्रियाशील सदस्यहरूले बचाएका हुन् भन्ने कांग्रेसले ठानेको छ भने त्यो महाभूल हो । चुनाव पटक-पटक आउँछ, साख जोगाइराख्ने हो भने इमानदारहरूको खोजी जरुरी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच