विश्वविद्यालयहरूको गुणस्तर त्यहाँको उत्पादनले निर्धारण गर्ने गर्दछ । परीक्षा उत्तीर्ण गरिसकेपछि विद्यार्थीहरूले प्राप्त गरेको सैद्धान्तिक र व्यावहारिक ज्ञानले विश्वविद्यालयको गुणस्तरलाई व्याख्या गरिरहेको हुन्छ । प्रमुख सूचक उत्पादन भए तापनि विश्वविद्यालयमा हुने अध्ययन-अनुसन्धान र त्यहाँ हुने प्राज्ञिक एवं शैक्षिक क्रियाकलापहरू पनि गुणस्तर मापनका सूचकहरू हुन् । साथै विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरू र कर्मचारीहरूको शैक्षिक योग्यता, प्राज्ञिक दक्षता र लगनशीलताले पनि विश्वविद्यालयहरूको दिशा निर्देश गरिरहेका हुन्छन् । विश्वविद्यालयहरूमा प्रवेश गराइने नयाँ प्राध्यापक तथा कर्मचारीहरूको स्तरले विश्वविद्यालयको भावी अवस्थालाई प्रष्ट चित्रण गरिरहेको हुन्छ ।
नेपालका सबैजसो विश्वविद्यालयहरूको गुणस्तरका बारेमा बारम्बार प्रश्न उठ्ने गरेको छ । प्रायशः विश्वविद्यालयहरू सैद्धान्तिक ज्ञान बाँड्नमै सीमित रहने र कर्मस्थलमा पुग्दा त्यहाँका उत्पादनहरू अन्यौलमा रहनुपर्ने अवस्था अहिलेको प्रणालीले सिर्जना गरिरहेको पाइन्छ । कतिपय शिक्षकहरू विनातयारी कक्षामा प्रवेश गर्ने, २० वर्षअघि तयार गरेको नोट सधैं बाँडिरहने, विद्यार्थीहरू नियमित रूपमा कक्षामा नजाने र परीक्षामा उत्तीर्ण हुन आवश्यक पाठ्य सामग्रीमात्रै पढेर जाने जस्ता कुराहरूले विश्वविद्यालयहरूको गुणस्तर खस्काइरहेका छन् । परीक्षाको केही दिनअघि मात्रै किताब खोलेर जेनतेन उत्तीर्ण हुने मनसाय बोकेका विद्यार्थीहरूको संख्या अधिक हुँदा पनि विश्वविद्यालयहरू खस्किँदै गएका छन् ।
गुणस्तरीय उपप्राध्यापक भर्ती गर्न सकिएन भने विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्ने कुरा सपनामै सीमित हुनजान्छ । योग्य परीक्षार्थीहरूलाई फालेर नातागोता, सम्बन्धी, राजनीतिक निकटता आदिलाई योग्यताको सूची बनाई उपप्राध्यापकहरू छनौट गरियो भने विद्यार्थीहरूले उपयुक्त ज्ञान प्राप्त गर्ने सम्भावनै रहँदैन ।
ज्ञान बाँड्न सक्रिय रहने शिक्षकहरूको कमी उल्लेख्य छ । पिरियड सकेर तलब पकाउने शिक्षकहरूको संख्या बढी भए भने पनि विश्वविद्यालयहरूले प्रगति गर्न सक्दैनन् । विद्यार्थीहरू पनि ज्ञान आर्जन गर्नभन्दा प्रमोसन लक्षित र रोजगार लक्षित पढाइका लागि मात्र विश्वविद्यालय प्रवेश गर्ने गर्दा विश्वविद्यालयहरूको जो मूल उद्देश्य हो सो पूरा हुन नसकेको देखिन्छ । त्यसमाथि नियमित जसो हुने प्राध्यापक, विद्यार्थी र कर्मचारीहरूको आन्दोलन र हड्तालहरूले विश्वविद्यालयलाई गुणस्तरमा फड्को मार्न अवरोध सिर्जना गरिरहेका मात्रै छैनन् कि विश्वविद्यालयहरू कसरी धानिने भन्नेमा नै सीमित हुन पुगेका छन् । अनुसन्धानको पाटो प्रायशः विश्वविद्यालयहरूमा अत्यन्त न्यून छ । अधिकांश शोधग्रन्थहरू कपी पेस्टमा नै पूरा हुने गरेका छन् ।
प्रसंग अहिले नेपाल संस्कृत विश्वविद्यालयको उठाउन खोजिएको हो । नेपाल संस्कृत विश्वविद्यालयले हालै प्राध्यापक पदका लागि विज्ञापन आहृवान गरेर त्यसको पदपूर्ति पनि गरिसकेको छ । सहप्राध्यापक र उपप्राध्यापक तथा कर्मचारीहरूका लागि गरिएको विज्ञापन विविध विवादका बीच मिति सर्दै र सञ्चालित हुँदै आइरहेका छन् र अहिले उपप्राध्यापकका लागि आहृवान गरिएको विज्ञापनको परीक्षा चल्दैछ । प्राध्यापक पदका लागि लिइएको अन्तर्वार्तामा केहीमा प्रश्न उठे पनि अधिकांश सन्तोषजनक नै रहृयो तर उपप्राध्यापकका लागि लिइने भनिएको परीक्षामा परीक्षा हुनु अगावैदेखि विवाद उत्पन्न हुन पुगेकाले विश्वविद्यालय संवेदनशील हुन जरुरी छ ।
गुणस्तरीय उपप्राध्यापक भर्ती गर्न सकिएन भने विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्ने कुरा सपनामै सीमित हुन जान्छ । योग्य परीक्षार्थीहरूलाई फालेर नातागोता, सम्बन्धी, राजनीतिक निकटता आदिलाई योग्यताको सूची बनाई उपप्राध्यापकहरू छनौट गरियो भने विद्यार्थीहरूले उपयुक्त ज्ञान प्राप्त गर्ने सम्भावना नै रहँदैन । विगतका केही छनौटहरूलाई हेरेर यसपटक पनि त्यस्तै हुन्छ कि भन्ने आशंका धेरैको मनमा रहेको हुँदा त्यसलाई चिरेर पारदर्शी रूपमा योग्यको छनौट गरेको प्रमाण पेश गर्न सक्नुपर्ने दायित्व नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको काँधमा आएको छ ।
संस्कृत विश्वविद्यालयले अहिलेसम्म केही गर्नै सकेन भन्ने अतिरञ्जित कुराहरू पनि बाहिर सुनिन्छन् । यहाँका उत्पादनमा गुणस्तरको कुनै संकेत नै भेटिँदैन भनेर संस्कृत विश्वविद्यालय बन्द गराउन चाहनेहरूले अनावश्यक हल्ला चलाएको पनि पाइन्छ । नेपालमा आवश्यक संस्कृतका उच्चशिक्षा प्राप्त जनशक्ति र नेपाली विषयका केही ज्ञाताहरू यही विश्वविद्यालयले आपूर्ति गरिरहेको सबैले देख्दा देख्दै पनि प्रश्न उठाइने गरिएको छ । यो विश्वविद्यालयका उत्पादनले अमेरिका, बेलायत, जर्मनी आदि देशका ठूला विश्वविद्यालयहरूमा अध्ययन, अनुसन्धान र प्राध्यापन गर्दै आइरहेको कुरा समाजकै सामु प्रष्ट छ र पनि विश्वविद्यालयको उत्पादनमा शंका गर्ने गरिन्छ ।
कारण के हो भने चामलमा कालो ढुंगा प्रष्टै देखिए झैँ प्रमाणपत्र हासिल गरेको तर आफूले उत्तीर्ण गरेको विषयमा फिटिक्कै ज्ञान नभएको मान्छे छर्लंगै देखिन्छ । उर्लँदो खहरे गडगडाए झैँ जसको योग्यता छैन उही नै विद्वान् र प्राज्ञ हुँ भनेर जताततै कुर्लदै हिँड्नाले पनि योग्यता भएकाहरूलाई छायाँमा पार्ने गरेको छ । साथै दश जनामा सात जना योग्यता भएका उपप्राध्यापकमा छानिएका भए तापनि तीन जना सोर्सफोर्स वा नातागोताका आधारमा प्रवेश पाउँदा विश्वविद्यालयहरू माथि प्रश्न उठ्ने गरेको छ र त्यही नियति संस्कृत विश्वविद्यालयले भोग्नुपरेको छ ।
प्राध्यापकहरू माथि समाजको बेग्लै विश्वास थियो । निजामती कर्मचारीहरूले भ्रष्टाचार गरेका समाचारहरू बारम्बार आइरहँदा भ्रष्टाचार गर्ने सम्भावना नै नभएका प्राध्यापकहरू राष्ट्रका गहना जस्तै थिए । जब त्रिभुवन विश्वविद्यालयको सेवा आयोग विवादमा तानियो त्यसपछि भने प्राध्यापकहरूमाथि रहेको समाजको विश्वासमा कमी आएको छ । संस्कृत विश्वविद्यालयको सेवा आयोग भने भाग्यले आजसम्म नतानिएका कारण विगतमा जस्तै केही गडबडी गर्न सकिन्छ कि भन्ने लागेको भए त्यो चाहना अब चाहनामै सीमित गरिदिए हुने भएको छ । आफूभन्दा जेठो विश्वविद्यालयका पदाधिकारी र गड्बड गर्ने प्राध्यापकहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कठघरामा परेको देख्दादेख्दै पनि संस्कृत विश्वविद्यालयको सेवा आयोगले गलत काम गर्ने मनसाय राख्यो भने त्यो उनीहरू आफैँले आफ्नो खुट्टामा बन्चरो हानेको बाहेक केही हुनेवाला छैन ।
यतिबेला सबैभन्दा सचेत र सम्वेदनशील हुनुपर्ने वर्ग भनेको प्राध्यापक नै हो । योग्यहरू प्राथमिकतामा परे जस पाउने प्राध्यापकले नै हो । अयोग्यहरूको हालीमुहाली भयो भने अपजसको भागी हुनुपर्ने पनि प्राध्यापकले नै हो ।
कसैले उजुरी हालेमा उत्तरपुस्तिका मगाएर अख्तियार र अदालतले हेर्ने परम्पराको सुरुवात भइसकेको छ । नलेखेको कापीमा नम्बर हालेका, गलत उत्तरमा नम्बर हालेका, केरमेट गरी नम्बर सच्याएका परीक्षकहरू र गलत काम गर्न लगाउने पदाधिकारीहरूले नसिहत पाएदेखि जागिर गुमाएसम्मका कारबाही भएका ज्वलन्त उदाहरण हाम्रा सामु छन् । वरिष्ठ भइसकेका प्राध्यापकहरूले सामान्य लोभमा अयोग्यलाई योग्य बनाएर उपप्राध्यापकमा सफल बनाए बापत् आफू असफल हुन गई पाकिसकेको पेन्सनसमेत गुमाएको अब संस्कृत विश्वविद्यालयको परीक्षाको उत्तरपुस्तिका परीक्षण गर्न जाने प्राध्यापकहरूले ख्याल गरेकै हुनुपर्दछ ।
शंका उत्पन्न गराउने काम केही प्राध्यापकहरू र विद्यार्थी संगठनहरूबाट भइरहेको छ । कतिपय पदाधिकारीका क्रियाकलापले पनि संशय पैदा गरिरहेको छ । कहिले प्रश्नपत्र निर्माणकर्ताको नाम बाहिर आयो भन्ने हल्ला चल्नु, कहिले उत्तीर्ण गराउनुपर्नेहरूको लिष्ट परीक्षापूर्व नै तयार भइसक्यो जस्ता समाचार आउनु, कहिले कुनै अमूक संगठनको सदस्यता लिए उत्तीर्ण भइन्छ भन्ने हल्ला चल्नुले समग्र संस्था नै बदनाम भइरहेको छ । यस्ता हल्लाहरू चल्दै जाँदा निष्पक्ष परीक्षा सञ्चालन गर्छु भन्ने सेवा आयोगलाई पनि बिनासित्तीमा कलंकित हुनु परिरहेको छ ।
यति हुँदाहुँदै पनि योग्य पन्छाएर अयोग्य भित्र्याउने काम भयो भने नेपाल संस्कृत विश्वविद्यालयलाई कसैले जोगाउन सक्दैन । अयोग्यहरूको हुल भित्रियो भने विश्वविद्यालय धरापमा पर्दछ र आफ्नो र आफू निकट भनेर कापीमा नम्बर हाल्ने प्राध्यापकले पाउने भनेको पेन्सन कारबाहीमा नपरे पनि विश्वविद्यालयको खराब परिस्थितिका कारण नपाउने परिस्थिति निर्माण हुन जान्छ । अयोग्य शिक्षकहरू भएको विश्वविद्यालयमा विद्यार्थी पढ्न आउने त सम्भावना नै रहँदैन । विद्यार्थी नभएको विश्वविद्यालय सरकारले पालेर राख्ने कुरा पनि हुँदैन ।
यतिबेला सबैभन्दा सचेत र सम्वेदनशील हुनुपर्ने वर्ग भनेको प्राध्यापक वर्ग नै हो । अरू व्यवस्थापन जो कसैले गरे पनि उत्तरपुस्तिका परीक्षण प्राध्यापकले नै गर्ने हो । योग्यहरू प्राथमिकतामा परे जस पाउने प्राध्यापकले नै हो । अयोग्यहरूको हालीमुहाली भयो भने अपजसको भागी हुनुपर्ने पनि प्राध्यापकले नै हो । त्यसैले विश्वविद्यालयको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण जिम्मेवारी प्राध्यापककै हुने भएकाले आफू कार्यरत वा आफूले पेन्सन बुझिरहेको विश्वविद्यालयलाई सम्मानित संस्था बनाउन सबैले ध्यान दिनेछन् भन्ने अपेक्षा गरिएको छ ।
यसपटकको परीक्षामा मुद्दा पर्दैन भनेर कसैले ग्यारेन्टी गर्न सक्दैन । संस्कृत विश्वविद्यालय सानो भएकाले यहाँका उत्पादनका बारेमा पनि एकअर्कालाई सबै थाहा छ । को योग्य छ र को अयोग्य भन्ने पनि सबैको जानकारीमा छ । यदि कुनै अयोग्यको नाम निस्किएमा सेवा आयोग त विज्ञले दिएको नम्बर भनेर पन्छिन सक्दछ तर नम्बर हाल्ने प्राध्यापक उम्कने ठाउँ कतै रहँदैन । त्यसैले जो जति कापी परीक्षणमा जाँदै हुनुहुन्छ, उहाँहरू सबै सचेत प्राध्यापक हुनुहुन्छ भनेर विश्वास गर्दै यो पटकको सेवा आयोगको परीक्षाले संस्कृत विश्वविद्यालयलाई स्वच्छ संस्थाको छवि बनाउन सहयोग गर्नेछ भन्ने विश्वास गरिएको छ । एक सिटमा एकजना मात्रै परीक्षार्थी भए पनि सही उत्तरमा मात्रै नम्बर दिने परिपाटी बसाल्नै पर्दछ ।
प्राध्यापकले सोच्नुपर्ने भनेको के हो भने म एकजनाको बद्नियतले सम्पूर्ण प्राध्यापक वर्ग नै कतै बदनाम त हुँदै छैन ? उच्चशिक्षा प्रदान गर्ने व्यक्तिले मनन गर्नुपर्ने कुरा के हो भने कतै मेरा क्रियाकलापले कतै उच्चशिक्षा प्रदायक संस्था विश्वविद्यालय धराशायी हुँदै त छैन ? विद्वान् वर्गमा पर्ने भनेर चिनिने प्राध्यापक सम्वेदनशील हुनुपर्ने केमा हो भने कतै मैले दिएको नम्बरले भोलिको नेपालको उज्वल भविष्यमा खुँडा प्रहार त हुँदै छैन ? मलाई लाग्दछ, एक-दुईजना बेइमान भए पनि अधिकांश प्राध्यापकहरू आफ्नो, विश्वविद्यालयको र समग्र देशका बारेमा सोचेर नै काम गर्दछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच