भारतको कोलकाता र सिक्किममा नौमती बाजाको माग

हिमालय टाइम्स
Read Time = 8 mins

झापा । भारतको दार्जीलिङ, सिक्किममा हुने कार्यक्रममा नौमती बाजाको माग हुन थालेपछि झापाली महिलाको टोली पटकपटक पुग्न थालेका छन् । महिलाको बाजाको टोली ती स्थानमा पुगेर उत्कृष्ट बाजा बजाएबापत पुरस्कारसमेत प्राप्त गर्न थालेपछि उनीहरुको मनोबल बढेको छ ।

जिल्लामा नौमती घन्काउने महिलाको दुई दर्जनभन्दा बढी टोली तयार भइसकेका छन् । तीनमध्ये आर्ट स्टुडियो महिला नौमती बाजाको टोली भारतको सिक्किम, दार्जीलिङ र कोलाकता पुग्न थालेको हो ।

विवाह, व्रतबन्ध, गुन्यूचोली, पुराण, उद्घाटन र साधारणसभालगायत कार्यक्रममा एउटै पहिरनमा सजिएका महिला टोलीले नौमती बाजा घन्काउँदै गरेको रोचक दृश्य झापामा पछिल्लो समय बाक्लै देख्न पाइन्छ । विर्तामोड-२ की शान्तादेवी पौडेलको नेतृत्वमा झापामा महिलाको नौमती बाजा बजाउने पहिलो टोली बनेको थियो ।

पाँच वर्षअघि पश्चिम नेपालमा एउटी महिलाले नर्सिङा बाजा फुकेको देखेपछि उहाँलाई महिलाको अलग्गै टोली बनाउने रहर जागेको पौडेलले बताउनुभयो । “त्यसबेला मेरो नेतृत्वमा गाउँका महिला नाटक खेल्ने गर्थे । रुवा र खरानीको धागोजस्ता राम्रा नाटकमा उत्कृष्ट अभिनय गरेसँगै विर्तामोडलगायत झापाका विभिन्न स्थानमा नाटक मञ्चन गरेका थियौँ । पछि उक्त टोली महिला कलाकारका रुपमा परिचित बनेको थियो”, उहाँले भन्नुभयो ।

सोही टोलीलाई समेटेर शान्ताले नौमती बाजा बजाउने समूह खडा गर्नुभयो । आवश्यक तामिल लिएपछि विर्तामोड वडा नं २ का तत्कालीन वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलाले टोलीलाई बाजा किन्न रू डेढ लाख बजेट दिनुभएको संस्थाकी अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नमूना कार्य भन्दै कनकाई नगरपालिकाले पनि बाजा खरिदका लागि रू ३० हजार थपिदिएको थियो ।

केही नयाँ काम गरौँ भन्ने शान्ताको त्यही हुटहुटीले झापामा महिला मात्र रहेको पहिलो नौमती बाजा बजाउने टोलीको जन्म भयो । उहाँहरुले टोलीलाई संस्थागत गर्दै ‘आर्ट स्टुडियो महिला नौमती बाजा संस्था’ दर्ता गर्नुभएको छ । पौडेलका अनुसार टोलीमा १४ जना सबै महिला सदस्य छन् । समूहमा नौमती बाजामा चाहिने दमाहा, टेम्को, बाम्ताल, झ्याम्टा, ढोलक, सनाई र नर्सिङा रहेका उहाँले जानकारी दिनुभयो ।

विभिन्न कार्यक्रममा समूहले निश्चित शुल्क लिएर बाजा बजाउँदै आएको पौडेलले बताउनुभयो । उहाँका अनुसार अवधि र अवस्था हेरेर शुल्क निर्धारण हुने छ । एउटा कार्यक्रममा बाजा बजाएबापत बढीमा रू दुई लाखसम्म शुल्क पाउने गरेको संस्थाकी कोषाध्यक्ष गोमादेवी विमलीले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा कार्यक्रमबापत टोलीले नेपालमा रू १५ हजारदेखि ३० हजारसम्म शुल्क लिने गरेको छ ।

भारतमा भने भारू ५० हजार शुल्क निर्धारण गरिएको विमलीले जानकारी दिनुभयो । “केही समयअघि जिल्लामा महिलाले नौमती बाजा बजाउँछन् भन्ने थाहा पाएपछि दार्जीलिङका एक जना सैनिक जर्नेलले आफ्नो छोराको बिहेमा बाजा बजाउने टोली झिकाउनुभएको थियो । दार्जीलिङबाट कोलकातामा जन्ती जाँदा रू ५० हजार दिने सहमति भएको थियो”, उहाँले भन्नुभयो, “हामीले नौमती बजाएको मन पराएर उहाँहरुले भारू डेढ लाख दिनुभयो ।”

बाजा बजाउन आमन्त्रण गर्नेहरुले टोली र बाजा बोक्नका लागि गाडी भाडा व्यहोर्ने गर्नुभएको विमलीको भनाइ थियो । उहाँका अनुसार काठमाडौँमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी चढाउँदा झापाको यही टोलीले नौमती बाजा बजाएको थियो । ऊबेला बाजा बजाएबापत रू एक लाख शुल्क दिइएको उहाँले जानकारी दिनुभयो ।

भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले एउटा कार्यक्रममा नौमती बजाउन उहाँहरुको टोलीलाई निमन्त्रणा गर्नुभएको थियो । तामाङले महिलाको नौलो र राम्रो कार्य भनेर प्रशंसा गर्दै भारू एक लाख पुरस्कार दिनुभएको थियो । टोलीले चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीमा बाजा बजाउँदै दोहोरीसमेत खेल्ने अवसर पाएको थियो ।

संस्थाकी अध्यक्ष शान्तादेवी पौडेलले नौमती बाजा बजाउन सुरु गर्दा आफू र आफ्ना साथीले पारिवारिक र सामाजिक असहयोग खेप्नुपरेको बताउनुभयो । दलितले मात्र बजाउने बाजा भनेर अपहेलना गर्न खोजिए पनि आफुहरुले बलियो आत्मविश्वास र लगनका साथ डटेर सामना गरेको उहाँले अनुभव सुनाउनुभयो ।

“यस्तो दमाईं बाजा पनि महिलाले बजाउने भनेर परिवारका सदस्यबाटै साथीहरुले अवहेलना भोग्नुपर्‍यो”, अध्यक्ष पौडेलले सङ्घर्षका दिन सम्झिँदै भन्नुभयो, “सुरुमा कसैले पनि साथ दिएनन् । तथापि हामी पछाडि हटेनौँ । अहिले चाहिँ प्रशस्त आम्दानी र सामाजिकरुपमा प्रशंसा हुन थालेपछि परिवारका सदस्य खुसी छन् ।”

टोलीका सदस्यहरुले घरको कामधन्धा छाडेर बाजा बजाउन जाने भएकाले सङ्कलन भएको आम्दानीको ९० प्रतिशत बाँडेर लिने गरेका छन् । दश प्रतिशत आम्दानी चाहिँ संस्थाको कोषमा जम्मा गर्दै आइएको कोषाध्यक्ष विमलीले बताउनुभयो ।

लोकभाका र चल्तीका जुनसुकै गीतमा सुमधुर धुन निकाल्ने महिलाको नौमती टोलीलाई अचेत कार्यक्रममा भ्याइनभ्याइ छ । व्यवसायिकरुपमा शुल्क लिने भएकाले आयआर्जनका दृष्टिले प्रशस्त आम्दानीको स्रोत बनेको छ भने सामाजिकरुपमा पनि प्रशंसा हुन थालेको छ । यसरी महिलाले नौमती बजाएर कला, संस्कृतिको संरक्षण हुनुका साथै यस क्षेत्रको पहिचानमा योगदान पुगेको स्थानीय बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?