नेपालकै नमूना विद्यालय कालिकाले मनायो ६३औँ वार्षिकोत्सव

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । नेपालकै नमूना विद्यालय कालिका मानवज्ञान माविले ६३औँ वार्षिकोत्सव शनिबार मनाएको छ । देशकै उत्कृष्ट नतिजा निकाल्दै आएको विद्यालयले बुटवल ११ र १० मा रहेका दुईवटा भवनमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो ।

दिवस मूलसमारोहमा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलको विद्यालयको नतिजा र शैक्षिक गुणस्तर देशकै उत्कृष्ट रहेकाले यसलाई निरन्तरता दिन जनप्रतिनिधिका रूपमा आफूले काम गर्ने बताउनु भयो ।

पौडलले बुटवलसहित पश्चिम नेपालकै विद्यार्थीको भविष्यसँग जोडिएकाले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा समेत स्थानीय सरकारलाई ध्यानआर्कषण गराउनु भयो ।

यस्तै, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले सामुदायिक विद्यालयमा पढाउनुपर्छ भन्ने सन्देश दिन कालिकाले अगुवाइ गरेको बताउनु भयो । गिरीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कालिकाको जस्तै बनाउने गरी नीतिगत रूपमा आफूहरूले काम गर्ने बताउनु भयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले २०७१ सालदेखि विद्यालय पुरस्कृत हुँदै आएको कालिकालाई अब्बल बनाउन निरन्तर लागि परेको बताउनु भयो । थापाले विद्यालयलाई पूर्वाधार सम्पन्न बनाउँदै शैक्षिक गुणस्तरका लागि शिक्षण सिकाइलाई पनि आधुनिक बनाइएको बताउनु भयो ।

यस वर्ष कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीका लागि प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट अंक हासिल गरेबापत १० लाख छात्रवृत्रि र दुई सय जना विद्यार्थीले पूर्ण छात्रवृत्ति प्राप्त गरेको प्रधानाध्यापक थापाले बताउनु भयो ।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडे, विद्यालयका पूर्वप्रधानाध्यापक एवम् क्याम्पसका प्रमुख घनश्याम पाठक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, बुटवल उपमहानगरका प्रतिनिधिलगायतले शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।

वार्षिकोत्सवका अवसरमा विद्यालयले उत्कृष्ट शिक्षक, विभिन्न विद्याका ६० अक्षयकोषबाट १० लाख बराबरको छात्रवृत्ति वितरण, दुईजना पत्रकारलाई सम्मान गरेको छ ।

साथै वार्षिकोत्सवका अवसरमा विभिन्न प्रतियोगितामा उत्कृष्ट भएकालाई सम्मान गरिएको विद्यालयले जनाएको छ। २०१८ साल पुस ७ गते स्थानीय अगुवाहरूको अग्रसरतामा शान्ति नेपाल राष्ट्रिय प्राविका रूपमा स्थापना भएको २०२९ सालदेखि कालिका र २०७५ सालमा मानवज्ञानसँग मर्जर भएर कालिका मानवज्ञानको नामबाट सञ्चालनमा आएको हो । विद्यालयमा हाल ८ हजार ५३ विद्यार्थी अध्ययनरत रहेको बिद्यालयका प्रधानध्यापक दीनेश थापाले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?