सप्तकोशीमा श्रीलङ्का टापु जोड्ने झोलुङ्गे पुल बन्ने

रासस
Read Time = 4 mins

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ को ठाकुरबारीबाट श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । नेपालकै ठूलो सप्तकोशी नदीमाथि बन्ने उक्त झोलुङ्गे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ ।

सङ्घीय सरकारको ठूला झोलङ्गे पुल निर्माण विभागअन्तर्गत सप्तकोशीमा पहिलो पटक यति लामो झोलुङ्गे पुल निर्माण हुन लागेको बराहक्षेत्र नगरका आर्थिक विकास संयोजक तेजबहादुर गुरुङले बताउनुभयो । पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।

गुरुङका अनुसार सुनसरी क्षेत्र नं ४ का सङ्घीय सांसद तथा पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुल योजनामा पार्नुभएको हो । झोलुङ्गे पुल सर्भेका लागि ऋषिकेश सर्बिस प्राइभेट लिमिटेड काठमाडौंले डिपिआरको ठेक्का पारेर काम अन्तिम चरणमा पुगेको योजनाका सबइन्जिनियर रञ्जितकुमार यादवले जानकारी दिनुभयो । सबइन्जिनियर यादवको नेतृत्वमा सर्भेको काम अन्तिम चरणमा पुगेको हो ।

सबइन्जिनियर यादवले डिपिआरको डिजाइन तयार भइरहेको भन्दै डिजाइन सकिएलगत्तै कन्स्ट्रक्सनको ठेक्का लाग्ने बताउनुभयो । नमुना झोलुङ्गे पुल नामकरण गरी गत आर्थिक वर्षमा पुलको स्थलगत अध्ययन र निरीक्षण भएको थियो ।

बराहक्षेत्र-६ र ९ तथा उदयपुरको बेलका नगरपालिका-२ र ३ वडा श्रीलङ्का टापु क्षेत्रमा पर्दछ । उक्त क्षेत्र १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइसम्म फैलिएको छ । श्रीलङ्का टापुमा चार हजार पाँच सय घर धुरीका १० हजारबढीको बसोबास रहेको बराहक्षेत्र-६ का वडाध्यक्ष उद्ववप्रसाद पोखरेलले बताउनुभयो । उहाँले पुल बनेपछि श्रीलङ्का टापुवासीको दैनिकी सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

श्रीलङ्का टापु क्षेत्र उर्वर बलौटे, दोमट माटो भएकाले तरकारी र अन्न उत्पादनका लागि राम्रो मानिँदै आएको छ । झोलुङ्गे पुल बनेपछि टापुवासीले उत्पादन गरेका कृषि उत्पादन बजार लान सहज हुने र उनीहरूको जीवनयापनमा सहजता आउने वडाध्यक्ष पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ पुल बनेपछि टापुवासीको जीवनका साथै सिङ्गो बराहक्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि वृद्धि हुने विश्वास छ ।”

जिल्ला सदरमुकाम इनरुवाबाट झन्डै ३५ किलोमिटर उत्तर पश्चिममा पर्ने टापुमा वर्षौँदेखि कृषि र पशुपालन गरेर टप्पुवासीले जीविका चलाउँदै आएका छन् । चारैतिर नदी भएकाले टापुवासी यातायातको साधनका रूपमा डुङ्गाको प्रयोग गर्दै आइरहेका छन् । वर्षायाममा सप्तकोशीमा पानीको बहाब बढ्ने भएकाले डुङ्गाबाट यात्रा गर्दा बर्सेनि कयौँको ज्यान जाने गरेको स्थानीयवासी सन्तोष चन्द्रवंशीले बताउनुभयो । श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुलको निर्माण हुने भएपछि आवागमनमा सहजता हुने उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?