काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताउनुभएको छ । बुधबार चितवनमा १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री महतले भन्नुभयो, ‘तीन करोडभन्दा कमको आयोजना केन्द्रले अघि बढाउँदैन, एक करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन, एक करोडभन्दा तलको आयोजना स्थानीय सरकारले गर्ने कार्यविधि आइसकेको छ । राष्ट्रिय गौरवका आयोजनाबाहेक चार गुणाभन्दा बढी नगर्ने निर्णय भएको छ । अर्को वर्षबाट बहुवर्षे आयोजनामा बजेट नराख्ने र ठेकेदारले दाबी गर्ने परम्परा अन्त्य हुनेछ । जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ । यसले आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछ ।’
अर्थतन्त्रको आवश्यकताअनुसार समयसापेक्ष मौद्रिक नीति हुनुपर्छ भनेर सरकारले निरन्तर पहल गर्दै आएको उल्लेख गर्दै उहाँले अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउने, ब्याजदर घटाउने र लगानी वृद्धि गर्ने भएकाले उपभोक्ताले उपभोग गर्न गाह्रो मान्नुपर्ने अवस्था नरहेको जिकिर गर्नुभयो । मन्त्री महतले चितवन गतिशील जिल्ला भएको भन्दै आदिवासी थारुको संस्कृति, सभ्यता, भाषा र रीतिरिवाज संरक्षण गर्न तथा संसारलाई चिनाउन ठूलो भूमिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसारभरिका पर्यटकका लागि यहाँका वन्यजन्तु, थारुहरूको संस्कृति र परम्परा यहाँको आकर्षण बनेको छ । उनीहरूको संरक्षणमा सरकार कटिबद्ध छ ।’
मन्त्री महतले देशभरिकै विभिन्न स्थानबाट बसाइँसराइ गरेर चितवनमा बसोबास गर्ने विभिन्न पृष्ठभूमिका नागरिक समुदायले चितवनको विकासमा महत्वपूर्ण भूमिका खेलेको र २०४६ पछि चितवनले विकासको फड्को मारेको बताउनुभयो । तर, यसैमा खुसी हुने अवस्था भने नरहेको उहाँको भनाइ थियो । अर्थमन्त्री महतले भन्नुभयो, ‘हाम्रा आवश्यकताहरू परिवर्तित हुँदैछन् । सँगसँगै महत्वकांक्षा वृद्धि हुँदैछ । परिवर्तित संसारसँगसँगै यहाँको पनि परिवर्तन र आर्थिक आकांक्षाअनुरूप हामीले डेलिभरी दिनुपर्नेछ । अहिले आर्थिक सूचकहरू विस्तारै सकारात्मक हुँदैछन् । अहिलेसम्मकै बढी विदेशी पर्यटक आगमन भएको छ । आन्तरिक पर्यटक पनि बढेको छ । यसले सौराहको पर्यटन, व्यवसाय र रोजगारी वृद्धि हुनेछ ।’
त्यस्तै सेयर बजार उकालो लागेको, जग्गा कारोबारमा आएको शिथिलता पनि घट्दै गएको, विदेशबाट आएको विप्रेषण पनि बढिरहेको, ब्याजदर कम हुँदै गएको, ऋणीलाई चैतसम्म भाका दिइएकाले राहत मिलेको, बैंकबाट कर्जा पनि विस्तारै बढिरहेको र मूल्यवृद्धि साढे ५ प्रतिशतमा झरेकाले व्यवसाय कम हुने पनि उहाँले दाबी गर्नुभयो । तथापि नागरिक समाज, सञ्चारकर्मी, निजी क्षेत्र, उद्यमी र राजनीतिक दलबाट अब सकारात्मक डिकोर्षको आवश्यकता रहेको उहाँको भनाइ थियो । मन्त्री महतले भन्नुभयो, ‘यो देशमा बसेर केही हुँदैन, यसको भविष्य छैन, यहाँ बस्नुको औचित्य छैन भन्ने नकारात्मक भाष्य त्यागेर सकारात्मकतर्फ लाग्नुपर्छ । तथ्यांकले अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको छ, यो अवसर उपयोग गर्नुपर्छ भन्ने भाष्य अगाडि बढाउन आवश्यक छ ।’
उहाँले भन्नुभयो, ‘नेपालको जलविद्युत्, कृषि व्यापार, पर्यटन र सूचना प्रविधिले नेपालको अर्थतन्त्रलाई अर्को तहमा पुर्याउँछ । अवसर यहीँ छ, युवाहरूले सूक्ष्म दृष्टिले यहाँका अवसरहरू खोज्नुपर्छ । यो देशमा धेरै गर्न बाँकी रहेकाले अवसर यहीँ छ ।’
पूर्व-पश्चिम राजमार्ग अब छ लेनको बन्ने भएकाले यातायात लागत कम हुन गई पर्यटनलाई सहयोग गर्ने, हेटौंडासम्मको फास्ट ट्र्याक बनिसकेपछि काठमाडौंबाट डेढ घण्टामै पूर्वी चितवन आइपुगिने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘निकुञ्ज र यस वरिपरि बस्ने जनताको भविष्यसँग जोडिएको छ । दुवैको विकास सँगसँगै जानुपर्छ । निकुञ्ज जनताका लागि र जनता निकुञ्जका लागि भन्ने मान्यता सरकारले अघि बढाउँछ । ०२९ सालको ऐन परिवर्तन हुन्छ, निकुञ्ज र पर्यावरणको नाममा आएको पैसा एड्भोकेसी र रिपोर्ट तयार गर्ने नाममा उत्तै फर्किन्छ । अब एड्भोकेसी र रिपोर्टको थप आवश्यकता छैन । निकुञ्ज र पर्यावरणको नाममा आएको पैसा उतै जाने विधि हामी मान्दैनौँ ।’
वन्यजन्तु तीन गुणा वृद्धि भएकाले मानिस र वन्यजन्तुको द्वन्द्व बढेको भन्दै मन्त्री महतले भन्नुभयो, ‘संरक्षणका लागि आएको पैसा वन्यजन्तु र मानिसको जनजीविकामा खर्च हुनुपर्छ, नेपालको ४५ प्रतिशत जमिनमा जंगल छ । केही वर्षको अन्तरालमा हामीले २७ बाट हामीले ४५ प्रतिशत पुर्याएका हौँ । विदेशी सहयोगले जंगल वृद्धि भएको होइन, हाम्रो सामुदायिक वनको अवधारणाले वृद्धि भएको हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच