सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो पार्टीलाई आणविक कार्यक्रमलगायत युद्धको तयारीलाई तीव्रता दिन आग्रह गर्नुभएको छ । आणविक हतियार प्रयोग गरेर ‘उक्साएमा’ प्योङयाङले आणविक हमला गर्न नहिचकिचाउने किमले चेतावनी दिएको एक सातापछि यो भनाइ आएको हो ।
उत्तर कोरियाको वर्षको अन्त्यमा जारी पार्टीको बैठकमा किमले सन् २०२४ का लागि महत्वपूर्ण नीतिगत निर्णय सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । प्योङयाङको सरकारी समाचार संस्था कोरियाली केन्द्रीय समाचार निकाय (केसएिनए)का अनुसार किमले पार्टीलाई सैन्य तथा आणविक हतियारलगायत सबै क्षेत्रमा युद्धको तयारीलाई थप तीव्रता दिन आग्रह गर्नुभएको हो ।
उहाँले वासिंटनसँगको ‘अभूतपूर्व’ उत्तरविरोधी मुठभेडका कारण कोरियाली प्रायद्वीपमा ‘सैन्य स्थिति’ ‘चरम’ भएको बताउनुभयो । टोकियो र वासिंटनले यस वर्ष प्योङयाङले गरेको हतियार परीक्षणको रेकर्ड तोड्ने शृंखलाको सामना गर्दै रक्षा सहयोग बढाएका छन् र हालै उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपणको वास्तविक समयको सार्वजनिक गर्ने प्रणाली सक्रिय गरेका छन् । यसै महिनाको सुरूमा दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा अमेरिकी आणविक शक्तिसम्पन्न पनडुब्बी आइपुगेको थियो । वासिंटनले सियोल र टोकियोसँगको अभ्यासमा लामो दूरीका बमवर्षक विमान उडाएको थियो ।
यसअघि उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा संयुक्त अभ्यासमा बी-५२ बमवर्षक विमानजस्ता अमेरिकी रणनीतिक सम्पत्तिको सहभागितालाई ‘अमेरिकाको जानाजानी आणविक युद्ध उत्तेजक कदम’ भनेको थियो । प्योङयाङले यसैवर्ष सफलतापूर्वक टोही उपग्रह प्रक्षेपण गरेको छ । प्योङयाङले आफ्नो संविधानमा आणविक शक्तिको रूपमा आफ्नो स्थान स्थापित गरेको छ र आफ्नो शस्त्रागारमा सबैभन्दा उन्नत अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम)को परीक्षण गरेको छ ।
उत्तर कोरियाली नेता किमले यसै साताको सुरुमा सन् २०२३ लाई ‘ठूलो परिवर्तनको वर्ष’का रूपमा परिभाषित गर्नुभएको थियो । यसमा प्योङयाङले ‘आफ्नै सेटलाइटबाट विश्वलाई देख्ने विजय’ प्राप्त गर्ने उद्देश्य लिएको थियो । गतहप्ता संयुक्त राष्ट्रसंघको आणविक हतियारमामिला हेर्ने निकायले उत्तर कोरियाको योङब्योन आणविक केन्द्रमा रहेको दोस्रो रिएक्टर सञ्चालनमा आएको भन्दै यसलाई ‘अत्यन्त खेदजनक’ कार्य भनेको थियो ।
‘वल्र्ड इन्स्टिच्युट फर उत्तर कोरिया स्टडिज’का सञ्चालक आन चान इलले एएफपीसँग भन्नुभयो, ‘उत्तर कोरियाले अन्तरकोरियाली सीमा नजिकका क्षेत्रमा रणनीतिक आणविक हतियार तैनाथ गर्ने र नयाँवर्षमा आफ्नो आणविक कार्यक्रमलाई अझ अगाडि बढाउने सम्भावना छ ।’
प्योङयाङले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकामाथि ‘ठूलो दबाब’ सिर्जना गर्न र परम्परागत सहयोगी रूस र चीनसँग घनिष्ठ सम्बन्ध कायम राख्न यस्तो कदम चाल्ने उहाँले बताउनुभयो । गतवर्षको अन्त्यमा भएको पार्टी बैठकमा किमले ‘देशको आणविक शस्त्रागारमा उल्लेखनीय वृद्धि गर्न’ आहृवान गर्नुभएको थियो ।
संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले यसै महिनाको सुरुमा वासिंटनमा आफ्नो आणविक परामर्श समूहको दोस्रो बैठक आयोजना गरेका थिए, जहाँ उनीहरूले उत्तर कोरियासँग द्वन्द्वको स्थितिमा आणविक निरोध विकल्पबारे छलफल गरेका थिए । उनीहरूले प्योङयाङले अमेरिका वा दक्षिण कोरियामाथि गरेको कुनै आणविक आक्रमणले किम शासनको अन्त्य हुने चेतावनी दिएका छन् ।
त्यसपछि उत्तर कोरियाको रक्षा मन्त्रालयका एक प्रवक्ताले अर्को वर्ष वार्षिक संयुक्त सैन्य अभ्यासलाई विस्तार गर्ने र यसमा आणविक अपरेसन ड्रिल समावेश गर्ने अमेरिका र उसका सहयोगी राष्ट्रहरूको योजनाको आलोचना गर्दै यसलाई ‘आणविक टकरावको बारेमा खुला घोषणा’को संज्ञा दिनुभएको थियो । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच