काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले चुनाव हारेकालाई आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार नबनाउन नेतृत्वलाई तीव्र दबाब दिएका छन् । बिहीबारदेखि सुरु केन्द्रीय समिति बैठकको पहिलो दिन बिहीबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पटक-पटक अवसर पाएका र गत निर्वाचनमा पराजितलाई उम्मेदवार नबनाउन पार्टी नेतृत्वलाई दबाब दिएका हुन् । बैठकमा बोल्ने नेताहरूले राष्ट्रियसभा सदस्यका उम्मेदवारको छनोट गर्दा पार्टीले पटक-पटक अवसर पाएकाहरूलाई भन्दा अन्यायमा परेकाहरूलाई मौका दिनुपर्नेमा जोड दिएका छन् । चुनाव हारेकालाई आगामी राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउन नहुने मत राख्नेहरूमा संस्थापनइतर समूहका मात्र नभएर संस्थापन पक्षकै नेताहरू पनि छन् । उनीहरूले नयाँलाई अवसर दिनुपर्नेमा पनि जोड दिएका छन् ।
केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले विभिन्न तहमा चुनाव लडेर हारेकाहरूलाई उम्मेदवार बनाउन नहुने धारणा राख्दै भन्नुभयो, ‘अवसर नपाएकाहरूलाई अवसर दिऔँ । मापदण्ड बनाऔँ ।’ चुनावमा पराजित भएकाहरूलाई राष्ट्रियसभामा उम्मेदवार बनाउन नहुनेमा जोड दिनुभएका अर्का नेता राजीव कोइरालाले अन्यथा आफूलाई पनि उम्मेदवार बनाउन माग गर्दै भन्नुभयो, ‘हारेकाहरूलाई राष्ट्रियसभामा उम्मेदवार बनाउने भए मैले पनि चुनाव हारेको हो । मलाई पनि उम्मेदवार बनाऊँ । मापदण्ड बनाऊँ, चुनाव हारेकालाई उम्मेदवार नबनाऊँ ।’ बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणाबारे जानकारी दिँदै पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भन्नुभयो, ‘राष्ट्रियसभा सदस्यको उम्मेदवार छनोट गर्दा कम्तीमा पार्टीले सबैलाई न्याय गरोस्, कसैलाई एउटै व्यक्तिलाई दोहोर्याउने र कसैले कहिल्यै अवसर नपाउने स्थिति नबनोस्, पार्टीले खोजेर भए पनि न्याय गरोस् भन्ने केन्द्रीय सदस्यहरूको धारणा रहेको छ ।’ बैठकमा पाँचवटा विषयमा छलफल चलिरहेको नेता विश्वकर्माले जानकारी दिनुभयो ।
पाँच एजेण्डाहरूमा माओवादी नेतृत्वको गठबन्धन सरकारबारे समीक्षा, पार्टीको सांगठानिक गतिविधि, आसन्न राष्ट्रियसभा निर्वाचन र आगामी फागुनका लागि तय भएको महासमिति बैठकको तयारी रहेका छन् । बैठकको पहिलो दिन सभापति शेरबहादुर देउवाले बैठक सुरु गरेपछि महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू पेस गर्नुभएको थियो । महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि सुरु हुने ‘समुदायमा कांग्रेस’बारे जानकारी गराउनुभएको थियो । क्रियाशील सदस्यता नवीकरणको फारम मंसिरमा पठाएको भए पनि जिल्ला सभापतिहरूले अगाडि नबढाएको उहाँले जानकारी दिनुभयो । सहमहामन्त्री जीवन परियारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि अस्थायी टहरा बनाएको विषयमा जानकारी गराउनुभएको थियो ।
सत्तारूढ दल कांग्रेसले केन्द्रीय समिति बैठकमा सरकार र मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा गर्ने भने पनि बिहीबारको बैठकमा भने सबै मन्त्रीहरू सहभागीसमेत भएनन् । पहिलो दिन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफूले गरेका काम कारबाहीबारे बैठकमा जानकारी गराउनुभएको थियो ।
सरकारका काम कारबाहीप्रति आलोचना
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको आलोचना भएको छ । बैठकमा नेताहरूले धारणा राख्ने क्रममा सरकारमा गएका मन्त्रीहरूले पार्टीको शिर ठाडो हुने काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् । बैठकमा मन्त्रीहरूको कार्यसम्पादनको विषयमा नेताहरूले प्रश्न उठाएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो । सुशासनको विषयमा पार्टी गम्भीर ढंगले जानुपर्छ भन्ने नेताहरूको धारणा रहेको जानकारी दिँदै केन्द्रीय सदस्य शिवाकोटीले भन्नुभयो, ‘हरेक दिनजसो नयाँ-नयाँ घटना आइरहेका छन् । पुस १६ देखि माघ १६ गतेसम्म समुदायमा कांग्रेस अभियान जाँदै छ । यो अभियान भ्रष्टाचार र सुशासनको विषयमा पार्टीले यो गर्छ भनेर दस्तावेज बनाएर जानुपर्छ भन्ने साथीहरूको धारणा छ ।’
मन्त्रीहरू हेरफेरमा कांग्रेस बाधक बन्दैन : विश्वकर्मा
नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरू हेरफेर गर्न चाहेमा कांग्रेस बाधक नबन्ने बताउनुभएको छ । उहाँले संसदीय व्यवस्थामा कसलाई मन्त्री बनाउने भन्ने विषय प्रधानमन्त्रीको निर्णयमा भरपर्ने स्मरण गराउनुभयो । बिहीबार सानेपामा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका विषयमा जानकारी दिने क्रममा नेता विश्वकर्माले भन्नुभयो, ‘मन्त्री हेरफेरको विषयमा बैठकमै छलफल भइसकेको छैन । तर, यो संसदीय व्यवस्था हो । प्रधानमन्त्रीलाई आफ्नो अनुकूलको मन्त्रिपरिषद् आवश्यक पर्छ । एकल सरकार भएको भए प्रधानमन्त्रीले जति बेला पनि मन्त्रीहरू हेरफेर गर्न सक्नुहुन्थ्यो । अहिले गठबन्धनको सरकार छ । तैपनि प्रधानमन्त्रीले गठबन्धनका दलहरूसँग छलफल गरेर जुनसुकै बेला पनि मन्त्रीहरू हेरफेर गर्न सक्नुहुन्छ, त्यसमा कांग्रेस बाधक बन्दैन ।’
प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यभार सम्हालेको एक वर्ष पुगेकोे सन्दर्भमा मन्त्रीका कार्यशैलीमाथि असन्तुष्टि व्यक्त गर्दै कार्यसम्पादनमा कमजोर रहेकाहरूलाई हेरफेर गर्ने बताउनुभएको थियो । नेता विश्वकर्माका अनुसार प्रधानमन्त्री दाहालले दलका नेताहरूसँग व्यक्तिगत रूपमा मन्त्री हेरफेरका विषयमा कुराकानी गरे पनि गठबन्धनमै भने औपचारिक प्रस्ताव आएको छैन । कांग्रेसबाट दुई उपसभापति र प्रवक्तासहित नौजना नेताहरू दाहाल सरकारमा मन्त्री छन् ।
प्रतिस्पर्धी दलहरूलाई हेर्ने दृष्टिकोण तय हुनुपर्छ : महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसका प्रतिस्पर्धी दलहरूप्रतिको पार्टीको आधिकारिक दृष्टिकोण दस्तावेजकै रूपमा ल्याउनुपर्ने बताउनुभएको छ । उहाँले पार्टीले अन्य प्रतिस्पर्धीलाई हेर्ने दृष्टिकोण आधिकारिक रूपमा तयार पार्न प्रस्ताव राख्नुभएको हो । तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको भन्दै महरले अघिल्लो बैठकमा तीनै तहका सरकार सञ्चालनका लागि गठन गर्ने भनिएको संयन्त्र निर्माण किन भएन ? भनी प्रश्नसमेत गर्नुभयो । नेता महरले महासमिति बैठकबाट निर्माण गर्ने पार्टीको नीतिबारे सबै तहका कार्यसमिति, शुभेच्छुक र आम जनतनाको समेत धारणा लिने व्यवस्था मिलाउनसमेत आग्रह गर्नुभयो ।
स्वास्थ्यमन्त्री बस्नेतको ब्रिफिङ : ‘३० हजार कर्मचारीको दरबन्दी खुलाइँदै छ’
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्र सुधारको लागि कानुनी जटिलतादेखि कर्मचारीको अभाव भएको ब्रिफिङ गर्नुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा आफ्नो एक वर्षे रिपोर्ट कार्ड बुझाउँदै मन्त्री बस्नेतले भन्नुभयो, ‘अहिले ९२ हजार कर्मचारीको दरबन्दी आवश्यक छ । त्यसमा अहिले ३० हजार दरबन्दी खुलाउन प्रयास हुँदै छ । ८०० काज फिर्ता गराएर दुर्गम भेगमा खटाउने तयारी भइरहेको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाएर लागू गराउने विषयमा पनि काम भइरहेको छ ।’ पहिलो दिनको बैठकमा कांग्रेसबाट प्रचण्ड सरकारमा रहेका नौमध्ये मन्त्री बस्नेतले मात्रै आफ्नो प्रगति विवरण राख्नुभएको छ । अन्य आठ मन्त्रीले आजको बैठकमा रिपोर्टकार्ड प्रस्तुत गर्ने कार्यसूची छ ।
रोकियो प्रत्यक्ष प्रशारण
नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण रोकेको छ । कांग्रेसले साउनदेखि केन्द्रीय कार्यसमिति बैठक प्रत्यक्ष प्रशारण सुरु गरेको थियो । त्यसबेला पार्टी सभापति शेरबहादुर देउवा स्वयंले लाइभ गर्न जोडबल गर्नुभएको थियो । यसअघि सभापति देउवाले पार्टीमा भएको छलफलका बारेमा भ्रम फैलाइएको भन्दै फेसबुकबाट प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था गराउनुभएको थियो । दुईवटा केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण भयो । तर, बिहीबारको बैठक भने प्रत्यक्ष प्रशारण गरिएन । असोजमा बसेको बैठक पनि प्रत्यक्ष प्रशारण गरिएको थियो । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्राविधिक समस्याका कारण प्रत्यक्ष प्रशारण रोकिएको जानकारी दिँदै भन्नुभयो, ‘प्राविधिक समस्याका कारण प्रत्यक्ष प्रशारण रोकिएको हो । यो सधैँलाई रोकिएको होइन । यो बैठकमा नगर्दा पनि हुन्छ, अर्को बैठकदेखि गरौँ भन्ने भयो ।’ बैठकमा केही नेताहरूले यसबारे सोधीखोजी पनि गरेका थिए ।
राष्ट्रिय मेलमिलाप दिवसमा विशेष कार्यक्रम गर्ने
नेपाली कांग्रेसले यसवर्ष पनि राष्ट्रिय मेलमिलाप दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले मेलमिलाप दिवसको सन्दर्भमा विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यो वर्ष कांग्रेसले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेर दिवस मनाउने जानकारी दिँदै भन्नुभयो, ‘विगतमा हामीले आन्तरिक रूपमा मात्रै यो दिवसलाई मनाउने गरेका थियौँ । तर, मेलमिलाप दिवसले नेपालको राजनीतिमै महत्वपूर्ण अर्थ राखेको पृष्ठभूमिलाई ख्याल गर्दै यो वर्ष सबै राजनीतिक दलहरूलाई समेत बोलाएर अन्तरक्रिया गर्ने तयारी छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच