छानबिनलाई वस्तुनिष्ठ बनाउन भन्दै ललितपुरका सीडीओ गृह मन्त्रालय र प्रहरी प्रमुख हेडक्वार्टर तानिए

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ ।

शुक्रबार ललितपुरकाे बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको विद्यार्थीको प्रदर्शनमा दुई युवकको मृत्यु भएकाे थियो ।

साे घटनालाई लिएर गृह मन्त्रालयले शनिबार उपप्रधान एवम गृहमन्त्रीस्तरीय निर्णय गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई मन्त्रालय तानेको हाे । यस्तै गृहले ललितपुरका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएपी) सिद्धिविक्रम शाहलाई  पनि प्रहरी प्रधान कार्यालय हेडक्वार्टर तानेको हो ।

उक्त घटनाका सन्दर्भमा छानविन समितिले काम गरिरहेको हुँदा छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि सो बमोजिम कार्यान्वयन गरिने भएकोले छानबिन समितिको कामलाई वस्तुनिष्ठ बनाउन उनीहरुलाई फिर्ता बोलाएको गृहमन्त्रालयका सहसचिव एवम प्रवक्ता नारायण भट्टराईले जानकारी दिनुभयो ।

घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल र माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय सम्बन्धित मन्त्रालयबाट भएको छ । साथै ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी बरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ ।

गृह मन्त्रालय सरकार अत्यन्त संवेदनशील रहेको र उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गरेका उल्लेख गरेको ५ । सबै नागरिकहरुकले आफ्ना विषयहरु शान्तिपूर्ण रुपमा राख्न पाउने अधिकारको सुनिश्चितता प्रदान गर्न सरकार निरन्तर लागि परिरहेको मन्त्रालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?