एक तस्बिर, जसले मधेशकी छोरीलाई उज्यालो संसारमा आउन उक्साएको छ

हिमालय टाइम्स
Read Time = 3 mins

महोत्तरी । दाइजो प्रथाको विकराल समस्या यथावत रहँदा छोरीहरुलाई विद्यालय नपठाउने, बालविवाह गरिदिनेजस्ता प्रवृत्तिले मधेश प्रदेशका गाउँहरु अझै आक्रान्त छन् । तर, पछिल्लो समय महोत्तरीमा कैद गरिएको एक तस्बिरले भने छोरीप्रतिकोे जिम्मेवारीलाई अभिभावकहरुले महसुस गरेको देखिन्छ ।

पत्रकार राजकरण महतोले खिचेको एनसीसी तालिममा सहभागी विद्यालय पढ्ने छोरीहरुको तस्बिर नेपाल आर्मीको नोमिनेसनमा परेपछि मधेशमा छोरीप्रतिको दृष्टिकोणमा नै परिवर्तन विश्लेषण हुन थालेको छ ।

तस्बिरमा अधिकाशं छोरीहरुले सैन्य पोसाक पहिरिएका छन् । विद्यालयमा कक्षा लिइरहेका छात्राहरुको यो तस्बिर झट्ट हेर्दा नेपाल आर्मीको जस्तै लाग्छ । अनुशासित, सौम्य, उत्सुकता, प्रतिबद्धता व्यक्त गरेको जस्तो देखिने तस्बिरले सबैको ध्यान तानेको छ ।

तस्बिर खिच्ने पत्रकार राजकरण महतोले लेख्नुभएकाे छ, ‘महोत्तरीको बर्दिवास नगरपालिका-९ पशुपतिनगरस्थित राष्ट्रिय मावि पशुपतिनाथ बनरझुल्लामा खिचेको तस्बिरले छोरीहरुमा राष्ट्रिय भावना मात्रै जगाएको छैन, घरभित्रको अँध्यारो जीवनबाट निस्किएर उज्यालो संसारमा आउन उक्साएको छ ।’

तस्बिरवाट प्राप्त पुरस्कारकोे हकदार मधेशका सबै अभिभावक र छोरीहरु भएको भन्दै खुसी व्यक्त गर्दै उहाँले भन्नुभएकाे छ, ‘विद्यालय ज्ञानको मन्दिर मात्रै होइन, राष्ट्र भावना विकास गर्ने पुञ्ज पनि हो । त्यसैले हरेक छोरी विद्यालय जानैपर्छ ।’

मधेशमा छोरीहरु दाइजो र घरेलु हिंसाको चरम शिकार हुनुपरेको छ । महोत्तरीकै नेहा चौधरीको पछिल्लो घटनाले देशकै ध्यान खिचेको थियो ।

शिक्षित छोरीले आफुमाथि भएको दमनलाई प्रतिकार गरेको घटना बाहिरिए पनि लुकेका र लुकाइएका कयाैँ घटनाहरुले छोरीहरु अहिले पनि दिनहुँ प्रताडित बनिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?