लाइसेन्स नभएकाहरुले नै हुइँक्याउँछन् अटो, एकवर्षमा १८ दुर्घटना

कर्णाली राजमार्गमा सञ्चालन भइरहेका अटो । तस्बिर : मान बहादुर विश्वकर्मा/हिटा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 6 mins

कालीकोट । कालीकोटसहित कर्णालीका अधिकांश सडक जोखिमयुक्त छन् । तर यहीँ जोखिमयुक्त सडकमा लाइसेन्स बिनाका चालकहरुले नै अटोरिक्सा चलाउँछन् । अटो चलाउने मात्रै होइन, कच्चि सडकमा त झन् क्षमताभन्दा बढी यात्रु बोक्ने र मनपरी भाडासमेत अशुल्ने गरेको पाइएको छ ।

तीब्रगति, चालकले मदिरा सेवन गर्ने, साँघुरो र अप्ठेरो सडकका कारण जिल्लामा अटोरिक्सा दुर्घटना बढ्दै गएको छ । ट्राफिक प्रहरीमा बरिष्ठ हवल्दार टिकाराम सिग्देलका अनुसार असुरक्षित ओभर टेक तथा ओभर स्पिडका कारण पनि कालीकोटमा दुर्घटनाको जोखिम बढ्दो छ ।

वर्षा हुने बित्तिकै कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्ड पुरै बिग्रिने र ३ पांग्रे अटो चलाउन जोखिम हुने गर्छ । जिल्ला ट्राफिक प्रहरीका कालीकोटका अनुसार २०८० सालमा अटोरिक्सा मात्र १८ वटा दुर्घटना भएका छन् । त्यसमा २ जना यात्रुले जीवन गुमाएका छन् ।

कर्णाली राजमार्गस्थित दैलेखको दैखोलादेखि जुम्लाको सिमाना नाग्म बजारसम्म ७० किलोमिटर सडक कालीकोट खण्डमा पर्छ । त्यस खण्डमा स्थानीय रुटमा गाडी नचल्दा अटोरिक्साकै भर रहेको खाँडाचक्र-३ ताडीका कमलराज पाण्डेको भनाइ छ । पाण्डे खाँडाचक्र-३ का भएपनि व्यवसाय लागि उहाँ खाँडाचक्र-५ तेस्रो बजारमा बस्नुहुँन्छ । उहाँलाई दैनिक आवतजावत गर्न अटोरिक्साको नै भर पर्नुपर्ने बाध्यता छ ।

स्थानीय सरकारले कार्यविधि नबनाउँदा अटोरिक्सा सञ्चालन अव्यवस्थित रहेको उहाँको भनाई छ । ‘न कुनै निकायमा दर्ता छन् न चालकको लाइसेन्स नै’ उहाँले भन्नुभयो, ‘अटोलाई व्यवस्थित गर्न सके यात्रा सहज र सुरक्षित हुने थियो ।’ खाडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाहीले १ वर्षअघि अटोरिक्सा सञ्चालन अव्यवस्थित गर्न लागिएको बताउनु भएको थियो तर अटोरिक्सा अहिलेसम्म पूर्ण रुपमा व्यवस्थित हुन सकिरहेको छैन् ।

केहीँ अटोरिक्सा नगरपालिकामा दर्ता छन् । कार्यविधि बनाएर सबैलाई व्यवस्थित गर्नका लागि छलफल भइरहेको शाहीको भनाइ छ । प्रशासकीय अधिकृत शाहीका अनुसार नगरपालिकामा ८९ अटोरिक्सा मात्र दर्ता भएका छन् । अटोरिक्सा व्यवसाय दर्ताको लागि नगरपालिकाले यसअघि विभिन्न पटक सूचना निकालि सकेको छ । तर टोरिक्सा चालकले त्यसलाई बेवास्ता गर्दै आएका छन् । नगरपालिकाले अटोरिक्सा व्यवसाय दर्ताको लागि फेरि सूचना निकाल्ने तयारी गरिरहेको छ ।

ट्राफिक प्रहरीका बरिष्ठ हवल्दार सिग्देलले ट्राफिक कार्यालय र नगरपालिकाबीच समन्वय नहुँदा अटोरिक्सा सञ्चालन व्यवस्थित हुन नसकेको बताउनुभयो । बरीष्ठ हवल्दार सिग्देलका अनुसार ट्राफिक कार्यालयले अटोरिक्सा सञ्चालन गर्न चालक अनुमतिपत्र अनिवार्य लिनुपर्ने, सवारीसाधन दर्ता गर्नुपर्ने, अटोरिक्सा चालक र यात्रुको बिमा गर्नुपर्ने, ब्लुबुकमा उल्लेख भएअनुसार मात्र यात्रु ओसारपसार गर्न पाउने लगायत निर्णय एक वर्षअघि नै गरेको थियो । यता जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमै भएको यस्तो निर्णय अहिलेसम्म पूर्ण रुपमा निर्णय कार्यान्वयन भएको छैन् । जिल्लामा सञ्चालित १२ अटो चालककोचालके अनुमति पत्र नै छैन् ।

अटो व्यवसायी नारायणप्रसाद देवकोटाले भाडा दर प्रशासनले तेलको मूल्य अनुसार समायोजन नगर्दा आफूहरु मर्कामा रहेको बताउनुभयो । तेलको मूल्य बढे पनि भाडा दर नबढेको उहाँको गुनासो छ ।

व्यवसायी देवकोटाका अनुसार मान्ममा पेट्रोलको मूल्य प्रतिलिटर २ सय रुपैयाँ छ । तर भाडादर हेरफेर नहुँदा २ वर्षअघिकै लिनु परेको छ । उहाँका अनुसार खाँडाचक्र-६ मोल्फामा मात्र १९ अटो सञ्चालनमा छन् । अटो खरिद गरेर सबै ठाउँमा लाग्ने कर बुझाउँदा ७ लाख रुपैयाँ लगानी भएको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?