उद्योग बाणिज्य संघले लगाएको मेलाको फोहोर युवाहरुले उठाए

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 6 mins

नवलपरासी । बर्दघाट उद्योग बाणिज्य संघले मेला लगाएको बर्दघाट मण्डपमा मेला सम्पन्न भए पछि युवाहरुले फोहोर उठाएका छन् । मेलालाई मुख्य आम्दानीको श्रोत बनाउँदै आएको बर्दघाट उद्योग बाणिज्य संघ जिम्मेवारी कमजोर देखिएको छ । मेला लागाउनु पुर्व नै सरसफाई उपसमिति बनाएको बताए पनि मेला सकिएपछि सरसफाई गरेको देखिएन ।

संघले बर्दघाटमा गत चैत्र २३ गते देखी बैशाख ३ गते सम्म बर्दघाट मण्डपमा मेलाको सातौं संस्करण लगायो । तर त्यहि मेलाका कारण उत्पन्न भएको फोहोर ब्यबस्थापन नगरेको पाइएको छ । मेला सकिएको झण्डै दुई साता हुनै लाग्दा मेलामा रहेका प्लाष्टिक जन्य फोहोर हावा हुरीले यत्रतत्र उडाएर वाताबरण नै प्रदुषित बनाएको छ ।

विगतका मेलाहरुमा हरेक दिन मेला स्थलबाट फोहोर संकलन गरी ब्यवस्थापन गर्दै आईरहेको बर्दघाट बजार विकास समितिले यसपटक फोहोर संकलन गरेन । फोहोर ब्यबस्थापनका लागि कर्मचारी खटाउनु पर्ने र त्यसका लागि खर्च आउने भएकोले उद्योग बाणिज्य संघले ठेकेदारलाई जिम्मा रहेको बताएपछि मेलाको ठेकेदार संग कुरा गर्दा चासो नदिएका कारण फोहोर उठाउन नसकिएको बर्दघाट बजार विकास समितिका अध्यक्ष गोविन्द आचार्यले बताउनुभयो ।

मेला संचालन गरेबापत ठेकेदारबाट उद्योग बाणिज्य संघले लाखौं रकम बुझ्ने गर्दछ । यसो त मेलाका नाममा संस्थाको नाम बेच्ने र स्थानिय पुँजी पलायन प्रति गम्भिर नभएको उद्योग बाणिज्य संघलाई आरोप लाग्दै आईरहेको छ । हुन पनि त्यस्तै भयो । मेला सकिएपछि मेला स्थलमा रहेको फोहोर ब्यवस्थापन गर्नुपर्नेमा लामो समय सम्म फोहोस ब्यवस्थापन हुन सकेन । संघलाई पटक पटक फोहोर ब्यवस्थापन गर्नका लागि आग्रह गरे पनि ठेकेदारलाई देखाएर जिम्मेवारीबाट पन्छिएको स्थानिय बताउँछन् ।

फोहोरले बर्दघाट मण्डप कुरुप त बनेकै थियो हावा हुरीले प्लाष्टिकजन्य फोहोर उडाएर नजिकैको बस्ती र जंगल क्षेत्रमा पुर्‍याएका कारण यसले पर्यावरणमै गम्भिर असर पार्ने अवस्था रहेको थियो । संघलाई पटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि एकजना युवा चित्रबहादुर बर्मा कप्तानले सामाजिक संजालमा स्टाटस लेखेर फोहोर उठाउनका लागि ईच्छुक सबैजना जुट्नका लागि आग्रह गरे । बर्माकै आग्रह अनुसार बुधबार ईन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु बर्दघाट शाखाका कर्मचारीहरुको टोली संगै अन्य केही युवाहरु स्व स्फुर्त रुपमा फोहोर संकलनमा सहभागि बने ।

मेला लगाएर रकम लिने उद्योग बाणिज्य संघ फोहोर सफा गर्न ठेकेदारलाई देखाएर तर्किन नमिल्ने बर्माको भनाई छ । उहाँले भन्नुभयाे- “स्थानियले ठेकेदारलाई चिनिदैन मेला बर्दघाट उद्योग बायिाज्य संघले लगाएको हो फोहोर ब्यवस्थापनको जिम्मेवारी पनि संघलेनै लिनुपर्थ्यो तर आर्थिकमा मात्र केन्द्रित भएको देखियो । त्यसैले हामीले फाहोर उठाएका हौं ।”

मेलाबाट उत्पादन भएका प्लाष्टिक जन्य फोहोरले पर्यावरणमा गम्भिर असर गर्ने भएकोले आफुहरु टिम नै सरसफाई कार्यमा खटिएको सुविसु बर्दघाटका प्रमुख अर्जुन भण्डारीले बताउनुभयो । सामाजिक संजालमा देखेर सरससफाईमा सहकार्य गरिएको भण्डारीको भनाई छ ।

उद्योग बाणिज्य संघका महासचिव गंगा पाठकले सरसफाई गर्ने काम सरसफाई उपसमितिको जिम्मेवारी भएको बताउनुभयो । पाठकले भन्नुभयो-“ मेला सकिएपछि सामान उठाउँदै थिए त्यसपछि हामीले सरसफाई गर्नुपर्ने थियो । सरसफाई समिति बनाएकोले समितिले गरे होला भन्ने ठानेका थियौँ तर भएको रहेनछ ।”

अध्यक्ष लेखनाथ न्यौपानेले भने सरसफाईको विषय अनावश्यक मार्केट लिएको बताउनु भयाे । 'हामीले सरसफाईका लागि ३ जनालाई खटाएका थियौं । उनीहरुले सफा गरिरहेकै थिए युवाहरु विहानै आएर सफा गर्नु भएछ । फोहोर उठाउने जिम्मेवारी हाम्रो हो हामीले गछौं ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?