वडा अध्यक्षमाथि जातीय विभेद

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 6 mins

कालीकोट । कालीकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नम्बर–२ का वडा अध्यक्ष करबीरे बिश्वकर्मा माथि जातीय विभेद लक्षित गाली-गलौज भएको छ । सोही गाउँपालिका वडा नम्बर–१का स्थानीय गोकुल बोगटीले वडा अध्यक्ष बिश्वकर्मालाई लक्षित गाली-गलौज गरेका हुन् ।

पाँचवर्ष अघि बनेको स्वास्थ्य चोैकीको बिषयलाई लिएर बदालकोट स्वास्थ्य चौकीका कार्यालय सहयोगी समेत रहेका बोगटीले सामाजिक सञ्जाल फेसबुक मार्फत वडा अध्यक्ष बिश्वकर्मालाई जातीय विभेदको असभ्य भाषा प्रयोग गर्दै गालीगलौज गरेका छन् ।

कार्यालय सहयोगी बोगटीले फेसबुक स्टाटसको कमेन्ट बक्समा ‘ए डुम कोमारा’ भन्दै गाली गरेका छन् भने फोन कलमा घरमा बम पड्काउने र मार्ने समेत धम्की दिएको रेकर्ड अहिले सामाजिक सञ्जालमा बाहिरिएको छ ।

सामाजिक सञ्जालमा वडा अध्यक्षमाथि गालीगलौज सहित जातीय विभेद गरेपछि जिल्लाका दलित अधिकारकर्मीहरुले जातीय छुवाछूत तथा भेदभाव सम्बन्धि कसुर ऐन २०६८ र संसोधित २०७५ अनुसार कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कालीकोटमा ठाडो उजुरी दिएका छन् ।

कथित माथिल्लो जात भनिनेबाट वडाध्यक्ष समेत जातीय विभेदको शिकार बनेपछि अधिकारकर्मिहरुले जिल्ला प्रहरी कार्याल कालीकोटमा बोगटीविरुद्ध जातीय विभेद सम्बन्धी ठाडो निवेदन दिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक प्रकाश केसीले बताउनुभयो ।

प्रहरीका अनुसार यो सरकारबादी घटना भएका कारण यसका लागि सबै प्रमाण उपलब्ध भएमा मुद्धा दर्ता हुने केसीको भनाइ छ । वडाध्यक्षलाई गाली गर्ने बोगर्टीलाई प्रहरीले प्रकाउ गरिसकेको छ ।

केहो थियो घटना ?

केही वर्ष पहिले भवन डिभिजन जुम्लाले पचालझरना गाउँपालिका–१ र २ को बीचमा स्वास्थ्य चौकी भवन निर्माण गरेको थियो । सोही स्वास्थ्य चौकी भवन पाइक नपर्ने ठाउँमा निर्माण गरेको भन्दै स्वास्थ्य चौकी हस्तान्त्रणको विवाद समुदायमा बल्झिएको थियो ।

केही समुदाय जहाँ भवन छ त्यहाँबाट सेवा दिनुपर्छ भन्ने र केही वडा नम्बर–२ को पुरै र वडा नं. १ को बहुमत समुदायले भवन पाइक नपर्ने ठाउँमा निर्माण गरेर स्वास्थ्य सेवासमुदायको पहुँच भन्दा टाढा सार्न खोजिएको भन्दै विवाद गरेका थिए ।

उक्त बिवादमा वडा वडा नं. १ र २ नं वडा अध्यक्षले विज्ञप्ति प्रकाशित गरेर स्वास्थ्य चौकी हाललाई साविककै ठाउँबाट दिनु पर्ने बताएका थिए । त्यसको बिपक्षमा रहेका गोकुल बोगटीले वडा नं–२ का अध्यक्ष करबीरे विश्वकर्माले सुदन कठायतको स्टाटसमा रीप भनेर कमेन्ट गरेको खुलेको छ । सोही बिषयलाई लिएर गोकुलले वडा अध्यक्षको स्टाटसमा दलित समुदायमाथि नै प्रहार गरी विभेद हुने तरिकाले गालिगलौज गरेको हुन् ।

वडा अध्यक्ष बिश्वकर्माका अनुसार स्वास्थ्य चौकीका बोगटी माथि कुनै पनि प्रकारको त्यस्तो रिसिभि नभएको कमेन्ट पनि नगरेको र अर्कैको कुरामा आएर आफुसँग जोडिएर जातीय विभेद हुने शब्द प्रयोग गरेको बताउनुभयो ।

नेपालको संविधान २०७२ को भाग ३, धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको मौलिक हकमा जातीय भेदभावविरुद्ध दण्डनीय व्यवस्था गरेको छ । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि ३ वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

यता दलित अधिकारकर्मी रमेश नेपालीले जिल्लामा प्रतिनिधि नै जातीय विभेदमा पर्ने गरेको बताउनुभयो । केही समय पहिले सान्नीत्रिवेणी गाउँपालिका–६ का वडा अध्यक्ष रंगराज सार्की आफूलाई वडा सचिव रामप्रसाद संज्यालले विभेद गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन जिल्लामा पुग्नुभएको थियो । पछि वडा सचिव संज्यालले माफी मागेपछि घटनाको मेलमिलाप भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?