वरिष्ठ पत्रकार पोखरेलको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस) का पूर्वनिमित्त महाप्रबन्धक गोकुलप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा आज निधन भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य, नेपाल प्रेस इन्स्टिच्युट (एनपिआई) का संस्थापक महासचिव र दुई कार्यकाल अध्यक्ष हुनुभएका पोखरेल गोरखापत्र दैनिकका पूर्वसम्पादक र ‘मुना’ बाल मासिक (बालपत्रिका) का संस्थापक प्रधानसम्पादक पनि हुनुहुन्थ्यो । गोरखापत्र संस्थानको राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त पोखरेल पछिल्लो समयमा फोक्सोसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । पत्रकारितामा स्नातकोत्तर र अङ्ग्रेजी साहित्यमा पनि दखल राख्नुहुने पोखरेलले अस्पतालको शय्याबाटै काठमाडौँ उपत्यकामा वातावरण प्रदूषण वृद्धि हुँदा चिन्ता व्यक्त गर्दै यसका लागि जनचेतना जगाउन जोड दिनुभएको थियो । धनकुटाको कोचिण्डेमा विसं १९९३ मा जन्मनुभएका पोखरेल काठमाडौँ बस्दै आउनुभएको थियो ।

एनपिआईका कार्यसमिति सदस्य कपिल काफ्लेका अनुसार पोखरेलको आज बिहान १०:३० बजे निधन भएको हो । उहाँले पोखरेल नेपाली पत्रकारिताका धरोहर रहनुभएको बताउनुभयो । पोखरेलका छोरा अष्ट्रेलियाबाट आएपछि पार्थिव शरीरलाई मङ्गलबार बिहान अन्त्येष्टि गरिने जनाइएको छ । दिवङ्गत पोखरेलका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?