नेपाली राजनीतिका उच्चपदस्थ नेताहरूमा व्यक्तिगत स्वार्थ मिल्दा चाटाचाट र अलिकति स्वार्थ बाझियो भने काटाकाट गर्ने अनौठो असहिष्णु चरित्र छ । एक हप्ताअगाडि काटाकाट एकहप्तापछाडि चाटाचाट गर्ने चरित्र किमार्थ राजनीतिक चरित्र होइन । यो नितान्त व्यक्तिगत स्वार्थ हो । यस्तो द्वन्द्व, मतभिन्नता, झगडा, मेलमिलाप र सहकार्यलाई राजनीतिको संज्ञा दिँदा राजनीतिप्रति अन्याय हुन्छ । यस्ता काम राजनीतिका ठेकेदारहरूको गैरराजनीतिक हर्कतभन्दा अन्यथा हुँदैन । व्यक्ति विशेषले सत्ता, शक्ति, धन प्राप्तिसँग सम्बन्धित विषय राजनीति हुँदैन, हुन सक्दैन । राजनीतिको आवरणमा व्यक्तिगत धनार्जनको विषय सभ्य र विकसित राजनीतिक संस्कार, संस्कृतिभित्र पटक्कै पर्दैन । यस्तो अवस्था भनेको राष्ट्रिय स्वार्थ साथै राजनीतिक निष्ठा, आदर्शबाट पूर्णरूपले स्खलित अवस्था हो ।
हिजोका प्राथमिकताबाट राजनीति र राजनेताहरू पूर्णतः विषयान्तर भए । हिजो आन्दोलनको समयमा मुख्य प्राथमिकतामा जनता र जनताका समस्या थिए । अहिलेको मुख्य प्राथमिकता पद प्राप्ति र धन प्राप्तिका लागि भ्रष्टाचार भएको छ ।
पद बाँडफाँड र भ्रष्टाचारका विषयमा कुरा मिल्ने बित्तिकै वर्गशत्रुसँग पनि अप्रत्याशित रूपमा चाटाचाट सुरु हुन्छ । जहाँ अलिकति स्वार्थ जुद्धछ तत्काल काटाकाट-बाझाबाझ अनौठो मानिँदैन । हिजो काटाकाट गर्नेहरूबीच पद र भ्रष्टाचारको रकमको भागबण्डामा कुरा मिल्ने बित्तिकै एकले अर्काको प्रशंसाको प्रतिस्पर्धा सुरु हुन्छ । अलिकति स्वार्थ बाझियो एकआपसमा दुनियाँलाई लाज लाग्ने गाली वर्षन्छ । दशकौंदेखि संघर्षको मोर्चामा सँगै काम गरेका साथीसँग पद, धनको स्वार्थका कारण क्षणभरमा उत्तरी र दक्षिणी ध्रुव बन्न सक्छन् । सधैं वर्गशत्रु देख्ने, भन्नेहरूसँग पद बाँडफाँड र भ्रष्टाचारको विषयमा कुरा मिल्यो भने चाटाचाट गर्छन् । धन्य पद र धनको स्वार्थमा अडेको हाम्रो राजनीति !
राजनीतिमा निष्ठा, आदर्श नैतिकता र इमानदारी जहाँ परित्याग हुन्छ अनि राजनीति भ्रष्टहरूको क्रीडास्थल बन्छ । आदर्श नांगेझार हुन्छ । निर्वाचन जनमत मुखरित गर्ने माध्यम नभएर विभिन्न दलसँग सम्बन्धित भ्रष्ट, तस्कर, दलाल, माफिया र मुनाफाखोरबीचको प्रतिस्पर्धा भएको छ । कुन पार्टीको नेता विजयी भयो भन्नुभन्दा कुन पार्टीको दलालको एजेन्ट विजयी भयो भन्ने चर्चा हुन्छ । निर्वाचन, विजय जस्ता विषयको चासो र चिन्ता उम्मेदवारलाई भन्दा त्यो उम्मेदवारलाई टिकट प्राप्त गर्ने बिन्दुबाटै लगानी गर्ने माफिया, दलाल र तस्करलाई बढी चासो हुन्छ । किनकि, उसको लगानी भएको उम्मेदवारले हार्नु लगानी डुब्नु हो ।
लगानी डुबाउन को चाहन्छ ? दुर्भाग्य निर्वाचनमा प्रतिस्पर्धा नै उम्मेदवारबीच हुँदैन पार्टीहरूका तस्कर, माफिया, मुनाफाखोर र दलालबीच हुन्छ । पद प्राप्ति र भ्रष्टाचारको सम्भावनामा जहाँ जसले भाँजो हाल्छ ऊसँग क्षणभरमै काटाकाट र बाझाबाझ सुरु हुन्छ । गालीगलौज एकले अर्काका कमजोरी सार्वजनिक गर्ने प्रतिस्पर्धा हुन्छ । लाग्छ अब यिनीहरूको सम्बन्ध युगयुगान्तरसम्म बिग्रियो तर यो श्रद्धा र घृणा कति रहन्छ भन्ने अनुमान गर्न सकिँदैन । श्रद्धा गर्नेले स्वार्थ बाझिने बित्तिकै भोलिपल्ट घृणाको विषय जबर्जस्त सार्वजनिक गर्छ । आज घृणा गर्नेले स्वार्थ मिल्यो भने फेरि भोलिपल्टै श्रद्धा गर्न पटक्कै लज्जाबोध गर्दैन । परिवर्तित राजनीतिको मुख्य विशेषता भन्नुपर्छ । लाग्छ सायद नयाँ नेपाल बनाउने राजनीति यही रहेछ ।
नेताहरूबीचको व्यक्तिगत स्वार्थको लेनदेनको निरन्तरताले जनताका आकांक्षा सबैका प्राथमिकता बाहिरका विषय बने । हिजोका प्राथमिकताबाट राजनीति र राजनेताहरू पूर्णतः विषयान्तर भए । हिजो आन्दोलनको समयमा मुख्य प्राथमिकतामा जनता र जनताका समस्या थिए । अहिलेको मुख्य प्राथमिकता पद प्राप्ति र धन प्राप्तिका लागि भ्रष्टाचार भएको छ । हिजो जनतासँग जवाफदेही हुने कसम खाएका अहिले दलाल, तस्कर, माफिया र मुनाफाखोरसँग जवाफदेही हुने कसम खाएका छन् । भाषण जनताको पक्षमा गर्छन् तर व्यवहारमा प्राथमिकता फेरिएको छ । करनी-कथनीबीचको भिन्नताले नेपाल र नेपालीको ढाड सेकिएको छ ।
सबै पार्टीहरूका नेताहरूको मुख्य प्राथमिकता पदीय आर्थिक उत्थानमा केन्द्रीकृत छ । त्यसैले सबै नेताहरू जनताको मूल्यांकनमा स्खलित छन् । जति-जति पदको खुट्किलो उक्लिए त्यही अनुपातमा उनीहरूले भ्रष्टाचारको घेरा बढाए । भ्रष्टाचारको धनले अब जनताको चिनेको भोटमा भर पर्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । किनेको भोट विश्वासिलो भएको छ । हाम्रो विकसित प्रजातान्त्रिक व्यवस्थामा जनमतको भन्दा धनमतप्रति विश्वास बढेको छ । किनेको भोट जति विश्वासिलो चिनेको भोट नभएकाले नेताहरू जनतासँग टाढिएका छन् । नगद र मतको राम्रो विनमयको संस्कृति विकास भएकाले भ्रष्टाचारको धनमा निर्वाचन लडनेहरू पराजित हुँदैनन् ।
त्यसैले निर्वाचित भएर पुनः पद प्राप्त गर्ने पुरानै भ्रष्ट नेताहरूको राजनीतिमा बाहुल्यता छ । किनकि, उनीहरूसँग भ्रष्टाचार गरेर जम्मा गरेको सम्पत्ति फेरि भ्रष्टाचारको पूर्वाधाररूपी निर्वचनमा लगानी गर्ने कुरा कुनै आश्चर्य मानिँदैन । जसले लगानी गर्न सक्छ उसले टिकट पाउँछ । जसले टिकटमा लगानी गरेको छ उसैको लगानी निर्वाचन जित्ने निर्णायक शक्ति हुन्छ । भन्दा जनमत भनिन्छ यथार्थमा सदनमा प्रतिनिधित्व भने धनमतको हुन्छ । सरकारले तस्कर, माफिया र मुनाफाखोरको पक्षमा काम गर्छ । त्यसैले सरकारमा ठग ठेकेदार, तस्कर व्यापारीहरूको प्रतिनिधित्व छ । तिनीहरूकै बर्चस्व, दबदबा र बिगबिगी छ ।
भ्रष्ट नेताहरूको धनबलले जनबलमा विविश्वास गर्ने नेताहरूको पराजय निश्चित भएको छ । राजनीतिमा निर्वाचन जित्न धन हुनपर्छ भन्ने जबर्जस्त सन्देश गएको छ । अहिले राजनीति गर्नेहरू सबैसँग तस्कर, माफिया, दलाल र मुनाफाखोरको आन्तरिक जबर्जस्त सम्बन्ध छ । निर्वाचन दलका उम्मेदवार बीचभन्दा पनि विभिन्न दलमा विभाजित तस्कर, गुण्डा, माफिया, दलाल र मुनाफाखोरबीच हुन्छ । नेपाली जनता अहिले निर्णायक होइनन् फगत रमिते हुन् । रमितेप्रति निर्वाचितहरू जवाफदेही हुने कुरै भएन । अहिले राष्ट्रिय एजेण्डाको प्राथमिकतामै तस्कर र मुनाफाखोर पर्छन् । सरकारका सबै काम र व्यवहार गुण्डा, दलाल, मुनाफाखोर र तस्करमैत्री छन् । निर्वाचनमा लगानी, मिहिनेत नै उनीहरूको भएपछि उनीहरू प्राथमिकतामा पर्ने विषय कसरी अस्वाभाविक हुन्छ ?
सबै अब्बल लोकतान्त्रिक पार्टीहरूमा माफिया, तस्कर र दलाल भित्र्याउने प्रतिस्पर्धा छ । जुन पार्टीले धेरै दलाल, माफिया, तस्करलाई भित्र्याउन सक्छ उसले नै निर्वाचन जित्छ । चिनेको भोटले निर्वाचन जित्ने दिन गए । अहिले निर्वाचन त जित्ने भनेको किनेको मतले हो । अब गरिबहरूले राजनीतिमा भाग लिने सम्भावना रहेन । निर्वाचनमा विजय जनमतको बलमा होइन धनमतको बलमा हुन्छ भन्ने नयाँ संस्कृति विकास भएको छ । सायद हिजो माओवादीहरूले गरेको नयाँ नेपाल बनाउने परिकल्पना यही नै रहेछ क्यारे ? अहिले निर्वाचन इमानदार उम्मेदवारले जित्ने दिन गए । अहिले त धन बढी जसले खर्च गर्छ ऊ नै विजयी हुन्छ । मतदाता इमानदार छन् किनकि निर्वाचनको बेला लिएको धनलाई उनीहरूले इमानदारीपूर्वक मतदान गरेर तिरेका छन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनको उपलब्धि नै भन्नुपर्छ कि हाम्रा नेताहरू अब चिनेको मतमा भन्दा किनेको मतमा निर्भर भएकाले उनीहरूको आमजनतासँग भन्दा भोटका लागि दलालहरूसँग सम्बन्ध गाँसिएको छ । नेताहरूले जब भोट किन्न लागे उनीहरूले देशभरका विभिन्न क्षेत्रका दलाल र माफियासँग सुमधुर सम्बन्ध बनाए । निर्वाचनमा प्रतिस्पर्धा उम्मेदवार-उम्मेदवारबीच नभएर पार्टी-पार्टीका दलाल र तस्करबीच हुन्छ । अब कुन-कुन पार्टीका दलालका उम्मेदवारहरू बढी विजयी भए अब त्यसको लेखाजोखा हुने परिस्थितिले जनताका भावना अहिलेका निर्वाचित पदाधिकारीको प्राथमिकता बाहिराका विषय भए ।
जुन पार्टीको उम्मेदवारले जिते पनि जित्ने उम्मेदवारको प्राथमिकतामा दलाल, तस्कर र माफिया नै हुन्छन् । उम्मेदवारलाई विजयी गराउने जिम्मा नै दलालको हुने भएपछि अब देशमा बिगबिगी दलालको हुने विषय स्वाभाविक हुन्छ । जुन पार्टीको उम्मेदवारले जिते पनि उनीहरूको प्राथमिकता दलालमैत्री हुनु स्वाभाविक हुन्छ । राजनीतिमा पनि राजनीतिक दलाल नै पदमा छन् । उनीहरू भ्रष्टाचारका कारण मालामाल हुँदै गर्दा जनताको विचल्ली कसरी अनौठो हुन्छ ?
भ्रष्टाचारबाट नेताहरूले धन भने अनगिन्ती जम्मा गरे तर लोकप्रियता र प्रतिष्ठा साथै नैतिकता, इमानदारी जस्ता मानवीय मूल्य र मान्यतालाई लिलामी गरे । त्यसैले हिजो यिनीहरूसँग पद र पैसा थिएन । इज्जत, प्रतिष्ठा र जनताको माया ममता प्रशस्तै थियो । अहिले पद र धन दुवै छ तर प्रतिष्ठा र जनताको माया, आदर साथै सम्मान फुट्टी छैन । के राजनीति पैसा, पदका लागि कि सिद्धान्त मूल्य, मान्यता र जनताका लागि भन्ने प्रश्न ठूला पदमा रहने, अकूत आर्जन गर्ने नेतहरूको अगाडि जबर्जस्त तेर्सिएको छ । लाजलाई यदि सापटी दिन जसले सक्दैन लाग्छ नेपालमा राजनीति गर्न सक्दैन । ऊ राजनीतिमा टिक्दैन । लाजनीति र भ्रष्टनीतिमा जो विज्ञ छन् उनीहरूकै सेरोफेरोमा नेपालको राजनीति छ ।
अबका दिनमा भ्रष्टहरूको पैसाको फाँचो लिने तर मतदान भने जनताको पक्षमा काम गर्छु भन्ने घुस खान्न र खान दिन्न भन्ने नयाँ सोच तथा दृष्टिकोण भएको उम्मेदवारलाई मतदान गरौं त हाम्रो परिस्थिति एकआध वर्षमै सुध्रन्छ ।
लाजलाई परित्याग गर्ने क्षमता नै अहिले राजनीतिमा पद पाउने योग्यता हो भन्ने भाष्य लोकप्रिय बनेको छ । लाजनीति र ढाँटनीतिको सिकार नेपाली राजनीति बनेको छ । नैतिकता, इमानदारी, इन्टिग्रिटी आदि निकम्मा विषय हो भन्ने प्रमाणित गर्न नेपाली राजनेताहरू सफल देखिए । यिनीहरूको यो सफलताले नेपाली राजनीति जनताको भावना र चाहनाविपरीत हिँड्दैछ । लाजको, इज्जतको इमानदारीको पर्वाह नगर्नेहरूको कब्जामा राजनीति छ । यिनीहरूले जनतालाई दशकौंदेखि भ्रममा पारेका त फगत पैसा र पदका लागि रहेछ । जनसेवा र देश सेवा यिनीहरूको हात्तीको देखाउने दाँत रहेछ । अब फेरि यिनको पछि लाग्ने र भ्रष्टहरूलाई मतदान गर्ने काम किन गर्दैछौं ?
हलेदो भनेर चिनेपछि अब किन कोट्याउने ? यिनहरूको गरिबलाई आय र निमुखालाई न्याय भन्ने हिजोको भाषा नक्कली रहेछ । सक्कली त यिनीहरूको पद र पैसाप्रतिको लम्पसारवाद भएको कुरा समाजवादी, साम्यवादी वा के के वादी भनेर चिनाउँथे यी सबै भ्रष्टाचारको एउटै खाल्टोमा छन् । फाटेको लुगा र ढाँटेको कुरा धेरै टिक्दैन भनेको यही हो । हिजो यिनीहरूसँग पैसा थिएन तर जनसम्मन र प्रतिष्ठा चुलिएको थियो । चुलिएको पदका कारणले जम्मा गरेको भ्रष्टाचारको धनले यिनीहरूप्रतिको सम्मान र प्रतिष्ठा खरानी भएको छ । पैसा र पदका लागि प्रतिष्ठा र सम्मान खरानी गर्नेहरूको पछि लाग्ने कार्यकर्ताले पनि सोच्नुपर्छ । यिनीहरूको नियत खराब नभएको भए देशको यो दुर्गति हुँदैन्थ्यो ।
देश र समाजलाई धोका दिनेलाई मतदान गर्ने मतदाता यी भ्रष्टभन्दा पापी र अधर्मी हुन् । अबका दिनमा भ्रष्टहरूको पैसाको फाँचो लिने तर मतदान भने जनताको पक्षमा काम गर्छु भन्ने, घुस खान्न र खान दिन्न भन्ने नयाँ सोच र दृष्टिकोण भएको उम्मेदवारलाई मतदान गरौं त हाम्रो परिस्थिति एकआध वर्षमै सुध्रन्छ । हिजो जो जसले भ्रष्टाचार ग¥यो सबैलाई कानुनको कठघरामा झुण्ड्याउछु भन्ने इमानदार उम्मेदवार चुन्ने प्रयास सार्थक नभइकन जनताको अवस्थामा सकारात्मक परिवर्तन हुँदैन । पैसा र पद प्राप्तिको सम्भावना हुने बित्तिकै यिनीहरू अपराधीलाई ईश्वर मान्दछन् ।
पद र पैसा प्राप्तिको सम्भावना देखेनन् भने ईश्वरलाई अपमान गर्न पनि यिनीहरू कुनै लाज, घिन, डर मान्दैनन् । यस्तो कमजोर नैतिक धरातल हुनेहरूको नेतृत्वमा विकास र समृद्धि हुन्छभन्दा पत्याउने र पछि लाग्ने बज्रस्वाँठहरूको बुद्धि र विवेकप्रति टिठ लाग्छ । अब नेताको चरित्र, व्यवहार, बेइमानी, अनैतिकता आदिको यति धेरै खुलासा हुँदा पनि यिनीहरूको पछि लाग्ने मानिसहरूको चरित्र र इमानदारीको धरातल अझ कति कमजोर र दयनीय होला ? राष्ट्रिय स्वार्थ नभएकाहरू जो व्यक्तिगत स्वार्थ मिल्दा चाटाचाट र अलिकति स्वार्थ बाझ्दा काटाकाट गर्नेहरूसँग नेपाली जनता सतर्क हुनुको विकल्प छैन । अबको आन्दोलन व्यवस्था र व्यक्ति परिवर्तन गर्ने नभएर राजनीतिसँग सम्बन्धित सबैको चरित्र, व्यवहार र दृष्टिकोण परिवर्तन गर्ने हुनुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच