सर्लाही । सर्लाहीका किसानलाई गोलभेँडाले उचित मूल्य नपाउँदा लागत उठाउन समेत मुस्किल परेको छ । यहाँका किसानले अहिले गोलभेँडा प्रतिकेजी १२ देखि १५ रुपियाँमा बिक्री गरिरहेका छन् । लालबन्दी नगरपालिका–१२, जियाजोरका किसान बद्री बरालले गोलभेँडा एक क्रेटको ३०० देखि ३५० रुपियाँमा बिक्री गर्नुपर्दा लागत उठाउन समेत मुस्किल परेको गुनासो गर्नुभयो ।
एक क्रेटमा २५ केजी गोलभेँडा हुन्छ । बरालले अहिलेको बजार मूल्यमा गोलभेँडा बिक्री गर्दा आफ्नो हैरानी, मलखाद र विषादीको खर्च उठाउनै मुस्किल रहेको बताउनुभयो ।
“यो मूल्यमा गोलभेँडा बेच्दा लागत उठाउनै धउधउ पर्छ,” बरालले भन्नुभयो, “खेती नलगाए बाच्ने अर्को आधार हुँदैन, फेरि यो मूल्यमा गोलभेँडा बेच्दा लागत उठाउन नै मुस्किल छ ।” किसानले लगाएको गोलभेँडा अहिले पाकेर राताम्मे भएको छ ।
पाकेको गोलभेँडा तत्काल नटिपे नष्ट भएर जाने भएकाले सस्तो मूल्यमै बिक्री गर्नुपरेको गुनासो किसानले गरेका छन् । हरिवन नगरपालिका–४, सासापुरका किसान कामेश्वर प्रसाद साहले गोलभेँडाको भाउ नपाएर किसान मर्कामा परिरहेका बताउनुभयो ।
उहाँले सबैथोक मङ्गो भएको तर किसानले फलाएको कृषि उपज सस्तिँदै गएको दुःखेसो पोख्नुभयो । टनेलभित्र व्यावसायिक तरकारी खेती गर्नुभएका साहले किसानलाई फाइदा बस्नका लागि गोलभेँडा क्रेटको कम्तीमा पनि ५०० रुपियाँसम्म हुनुपर्ने बताउनुभयो ।
“५०० रुपियाँसम्मको क्रेट पायौँ भने हामी किसानलाई केही फाइदा बस्छ तर अहिले मुस्किलले क्रेटको ३०० देखि ३५० रुपियाँमा बिक्री गर्नुपरेको छ”, साहले भन्नुभयो । उहाँले एक क्रेट गोलभेँडा फलाउनै खर्च मात्रै ३०० रुपियाँ हुने बताउनु भयो ।
सर्लाहीको उत्तरी भेगका लालबन्दी, हरिवन र ईश्वरपुर नगरपालिकामा गोलभेँडाको व्यावसायिक खेती हुने गरेको छ । व्यावसायिक रुपमा उन्नत जातको गोलभेँडा खेती गर्दै आउनुभएका लालबन्दी नगरपालिका ११, हीरापुरकी किसान पवित्रा कुमारी दङ्गालले गएको वर्ष यो याममा गोलभेँडा प्रतिक्रेट एक हजारदेखि एक हजार २०० रुपियाँमा बिक्री भएपनि यो वर्ष अहिले प्रतिक्रेट ३००÷४०० रुपियाँमा बिक्री गर्नुपरेको बताउनुभयो ।
उहाँले सिँचाई अभावमा उन्नत जातको गोलभेँडा फलाउनै मुस्किल परिरहेको अवस्थामा भाउ नपाउँदा मर्कामा परेको दुःखेसो पोख्नुभएको छ । सासापुरस्थित लच्कामा लाग्ने गोलभेँडा बजारका व्यापारी रामगणेश चौधरीले अन्य पहाडी जिल्लाहरुमा समेत गोलभेँडा उत्पादन भएर काठमाडौँसहितका प्रमुख बजारमा ती ठाउँका गोलभेँडा पुग्न थालेको र भारतीय गोलभेँडा समेत भित्रिरहेकाले यहाँको उत्पादनमा राम्रो मूल्य पाउन नसकेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच