आकाशिएको मूल्यको उकालोसँगै यस वर्षको बडादशैँ प्रारम्भ भइसकेको छ । शनिबार पितृपक्षको समापन भयो र आइतबारबाट २०८० सालको बडादशैँको प्रारम्भ भयो । आइतबार घरघरमा घटस्थापना गरी जमरा राख्ने, दुर्गा भवानीको स्तोत्र सप्तसती चण्डी वाचनको कार्य सुरुवात भएको छ । दशैँ सुरु भएसँगै आमनेपालीमा एकप्रकारको प्रसन्नताको अनुभूति सर्वत्र देखिन्छ । तर यसवर्ष हाटबजार, चोक र गल्लीहरूमा त्यस्तो धेरै रौनक देखिएको छैन । देशको अर्थतन्त्रमा आएको सुस्तता वा मन्दीका कारण नागरिकहरूको क्रयशक्ति (पर्चेजिङ पावर) दिनप्रतिदिन घट्दै गइरहेको छ भने अर्कातिर बजारभाउ भने सय प्रतिशत सम्म वृद्धि भएको छ । नागरिकहरूको आय र बजारको आवश्यकीय सामग्रीबीचको यो दूरी निकै फराकिलो बनेकाले दशैँमा नागरिकहरू अति आवश्यक संशाधन र खाद्यपदार्थको मात्र प्रयोग गर्न बाध्य छन् । मीठोमसिनोबाट परै रहनुपर्ने अवस्था छ ।
संसारभर छरिएर फरक पेशा–व्यवसायमा संलग्न नेपालीहरू बडादशैँको अवसर पारेर आफ्ना मान्यजनसँग भेट गर्न आउने पारिवारिक पुनर्मिलन समय हो । स्वदेशमै फरक स्थानमा कार्यकारणले रहेकाहरूले समेत आफन्तसँग भेट र आशीर्वचनको अवसर हुन्छ बडादशैँ । हुन त अरू धेरै नेपाली र खास गरी हिन्दुहरूका चाडपर्व छन् जसमा मानवीय संवेदना र आत्मीय भावनालाई उद्बोधित गरिरहेका छन् । यो परम्परा वात्सल्यका माध्यम हुन्, पारिवारिक प्रेम, स्नेह र सम्बन्धका सुखद् आधार हुन् । जसले जे भने पनि हाम्रा सांस्कृतिक पर्वहरू परम्परामात्रै होइनन् आस्था र आत्मीयभावका व्यावहारिक सूत्र पनि हुन् ।
यद्यपि बडादशैँमा दिइने निर्दोष पशुबलिका विषयमा विवाद पर्याप्त छन् । शास्त्रको व्याख्या र परिभाषा फरक विद्वानहरूबाट फरक दृष्टिकोणकासाथ भइरहेको छ । हुन त सबैजनाले सात्विक आहार गर्नसके धेरै राम्रो मानिन्थ्यो, त्यो सम्भव छैन । मानिसले हाम्रोमा मात्र होइन संसारभरि नै मांसाहार गर्ने गरेका छन् । कतिपय देश र समाजमा मांस पदार्थ मुख्य आहारका रूपमा प्रयोग हुने गर्छ । त्यस अर्थमा निषेध गर्ने भन्ने कुरा सम्भव छैन । हाम्रो देशमा पनि कतिपय जातजातिहरूमा अत्याधिक मात्रामा मांसजन्य पदार्थको उपभोग गरिन्छ । दशैँलाई नेपालीहरूले यस्तै तामसी र राजसी खाद्यको प्रयोगको पर्व बनाउँदै आइरहेका छन् । कतिपय मठमन्दिर, देवस्थल र शक्तिपीठहरूमा बलि दिने गरिन्छ । यसलाई परम्पराका रूपमा अपनाउँदै आएकाले पुरानो पुस्तापछि नयाँ पुस्ताले त्यसलाई छोड्न सकेको छैन ।
दशैँमा घरमा खसी काट्नुलाई नेपालीहरूले आफ्नो प्रतिष्ठासँग जोड्ने गरेका छन् । प्रतिष्ठाको विषय बनाइएको खसी प्रतिस्पर्धाको विषय बन्ने गरेको छ । कसको घरमा ठूलो खसी काटियो भनेर चर्चा र तुलना गर्ने गरिन्छ । यसलाई परम्पराको जगेर्ना गर्नु दायित्व नै हो भन्ने अर्थमा र जनतालाई क्रयविक्रयका लागि सहज बनाइदिनका लागि सरकारले नै खाद्य संस्थानमार्फत खसीबोकाको व्यापार गर्ने गर्दछ । एकातिर यो सरकारको पनि व्यापारको बाटो हो भने अर्कातिर जनताका सुविधाका लागि भनेरसमेत हेर्न सकिन्छ ।
नेपाल खाद्य संस्थानले दशैँमा खसीबोका ल्याउने र सर्वसामान्यलाई बिक्री गर्ने कार्यको म सुरुवात भइसकेको छ । सीमापारि तिब्बतबाट र आफ्नै देशका रसुवा, मनाङ, मुस्ताङजस्ता हिमाली क्षेत्रहरूबाट च्यांग्रा ल्याउने कार्यको सुरुवात भइसकेको छ । तर, च्यांग्रा अत्यन्त महँगो भएकाले अब जसतसले च्यांग्रा किन्न सक्ने अवस्था छैन । एक डेढ दशकअगाडिसम्म खसीभन्दा च्यांग्रा सस्ता थिए । च्यांग्राको मासु भन्नासाथ मानिसहरू नाक खुम्च्याउँथे । विस्तारै महँगो बन्दै गएको च्यांग्राको मासु हालका दिनमा अत्यन्त महँगो बन्न पुगेको छ । महँगो हुनुमा पक्कै केही हुनसक्छन् ।
पहिलो कारण हिमाली क्षेत्रमा च्यांग्रा पाल्ने प्रवृत्ति घट्दै गएर हुनसक्छ । अर्थशास्त्रको नियमानुसार आपूर्ति कम हुनासाथ त्यसको मूल्य बढ्ने नै भयो । दोस्रो कारण च्यांग्राको सेवन गर्नेहरूको संख्या वृद्धि भएर महँगो बन्दै गएको हुनसक्छ । तराई वा भारतबाट आउने खसीबोकाभन्दा हिमाली क्षेत्रबाट ल्याइएका च्यांग्रामा औषधीय गुण पाइन्छ भन्ने गरिन्छ । हिमाली क्षेत्रका जडिबुटी खाएर हुर्किएका च्यांग्रामा बढी पौष्टिकता, स्वाद र औषधीय गुणले गर्दा महँगो बनेको हो भन्ने तर्क गर्ने गरिएको छ । एउटै च्यांग्रालाई पचासदेखि साठी हजार रूपैयाँ पर्ने भएले यो सरदर नेपालीहरूको क्रयशक्तिभन्दा माथिको मूल्य हो । तर, यो मांसाहारको प्रवृत्ति विस्तारै निरुत्साहित बन्दै जानु आवश्यक छ ।
एकातिर धार्मिक दृष्टिकोणबाट हेर्दा पापको भारी बोक्नु नपर्ने र अर्कोतर्फ खर्चको दृष्टिकोणबाट हेर्दा यसमा धेरै ठूलो अनुपातमा कटौती हुने भएकाले मानिसहरू सात्विक भोजनतर्फ आकर्षित बन्दै जानु अथवा मांसाहारबाट विकर्षित बन्दै जानु उचित हो । जीवहत्या जुन दृष्टिकोणबाट हेर्दा उचित होइन तर पहिलेदेखि हिंसाको परम्परा विकसित बन्दै आएको छ र यो संस्कारका रूपमा विकसित बन्दै आएकाले पूर्णरूपमा निषेध गर्न भने सकिँदैन । अरूसँग प्रतिस्पर्धा गरेर होइन आफ्नो आर्थिक क्षमता हेरर खर्च गर्ने बानी बसाल्नु आवश्यक छ ।
चाडपर्वभन्दा पहिलेदेखि आकाशिएको मूल्यले चन्द्रमामा पुग्ने देखिँदै छ । बजारभाउको मूल्यमा सागसमेत किनेर खाने अवस्था छैन । गत केही महिनाको मात्रै तुलना गर्ने हो भने मूल्यवृद्धिको आँकडा कहाली लाग्दो छ । निश्चित आयमा जीवन निर्वाह गर्नुपर्ने तर शहरबजारमा बस्नेहरूको जीवन दुरुह बनेको छ । अनुगमन नाम मात्रैको हुन्छ । राजधानीको कालिमाटीको बजार र कपनको बजारको अन्तर किन यति बढी हुन्छ कसैले प्रश्न गर्दैन । दशैँ कसैका लागि दशा हुने गर्छ भने कसैका लागि खुशीयाली । जे भए पनि आरम्भ भएको छ, औकात अनुसार चाडपर्वको रमाइलो मनाऔं, भलो यसैमा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच