जितगढी ऐतिहासिक स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थल : राष्ट्रपति पौडेल

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 13 mins

रुपन्देही । बुटवल-राष्ट्रपति रामचन्द्र पौडेलले जीतगढीलाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली वीरताको ऐतिहासिक केन्द्रका रुपमा त्यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको बताउनु भएको छ ।

ऐतिहासिक जीतगढी किल्ला नेपाली सेनाद्वारा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा शुक्रवार राष्ट्रपति पौडेलले जीतगढीलाई मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटनको विकासमा समेत योगदान दिने बताउनु भयो ।

उहाँले जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थल भएको उल्लेख गर्दै किल्लाको समयानुकुल प्रचार प्रसार र प्रवर्द्धन गर्दै पर्यटकीय स्थल बनाउन बुटवल उपमहानगरपालिकाले योजनाबद्ध रुपमा काम अगाडि बढाएकोमा आफुलाई खुशी लागेको बताउनु भयो ।

उहाले भन्नुभयो-‘यसका लागि अब बुटवल उपमहानगरपालिकाको विशेष भूमिका निर्वाहा गर्नेछ भन्ने मैले विश्वास गरेको छु । नेपाली सेनाले तीनै तहका सरकारसँंग मिलेर जीतगढी पुर्ननिर्माणसम्बन्धी गुरुयोजनाअनुसार पानीको फोहोरा, युद्ध झल्कने चित्र र एम्फी थिएटरलगायतका कामहरू भरहेको जानकारी पाउँंदा थप खुसी लागेको छ ।’ राष्ट्रपति पौडेलले जीतगढी किल्ला ठूला साम्राज्यसँंग नेपाली सौर्य र कुटनीतिक चातुर्यताले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी भएको बताउनु भयो।

पौडेलले जीतगढीमा युद्धकालकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोशाकका उजिरसिंहको पूर्ण कदको शालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ कमाण्डरको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरी जीतगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने नेपाली सेना र बुटवल उपमहानगरपालिकाको सराहनीय काम भएको बताउनु भयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो-‘आगामी दिनमा यस किल्लालाई नेपाल अंग्रेज युद्धको अध्ययन, अनुसन्धान गर्ने र पर्यटकीय स्थलको रुपमा प्रवर्द्धन गर्न बुटवल उपमहानगरपालिका, प्रदेश तथा संघीय सरकारलाई यस्ता ऐतिहासिक र सामरिक महत्वका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा थप चासो बढाउन आग्रह गर्दछु ।’

सो अवसरमा राष्ट्रपति पौडेलले सार्वभौम र स्वभिमानी नेपाली भनी गर्व गर्न सक्ने आजको दिन वीर नेपाली सेनाले इतिहाँसमा देखाएको वीरता र सौर्यकै परिणाम भएको भन्दै नेपाली सेनाको इतिहासको प्रशंसा गर्नु भयो । उहाँले नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्दै आएको पनि स्पष्ट पार्नु भयो ।

नेपाल र नेपालीको सुरक्षा, प्रकृति संरक्षण, राष्ट्रनिर्माण, विपद् व्यवस्थापन तथा नागरिकको सहयोगलगायत कार्य समेत नेपाली सेनाले गर्दै आएको चर्चा गर्दै राष्ट्रपति पौडेलले भने-‘जहाँ नेपाली सेना पुगेर काम थालेको छ, त्यहाँका जनता ढुक्क हुने परिस्थिति निर्माण हुनु भनेको त्यो सैनिक-नागरिक सम्वन्ध विकासको राम्रो उदाहरण हो । गैर-राजनीतिक चरित्रको मुलुकको प्रमुख सुरक्षा संगठन नेपाली सेनाले संविधानसम्मत हुने जुनसुकै सरकारका आदेशलाई सधैँ शिरोधार्य गरेकोछ । नेपाली सेनाको यो उत्कृष्ट विशेषताले उक्त संगठनलाई नेपाली जनतामाझ लोकप्रिय बनाएको छ ।’

राष्ट्रपति पौडेलले तिनाउ नदीको तटमा अवस्थित चुरे पहाडको काखमा पहाड र तराईको सङ्गमस्थल तथा प्रसिद्ध व्यापारिक केन्द्रको रुपमा रहेको बुटवललाई आर्थिक केन्द्रका रुपमा विकसित गर्ने र बुटवलसहितका नगरहरूलाई जोडेर मेघासिटी बनाउने जनप्रतिनिधिहरूको चाहना पूरा होस् भन्ने शुभकामना व्यक्त गर्नु भयो । किल्लाको पुननिर्माणपश्चात् नेपाली सेनाले हस्तान्तरण गरिसकेपछि अब यो किल्लाको थप संरक्षण र प्रवर्द्धनमा बुटवल उपमहानगरपालिकाले पर्याप्त चासो दिने छ भन्ने आफुले अपेक्षा राखेको राष्ट्रपति पौडेलको धारणा थियो ।

कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्लाको हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जितगढी किल्ला र आसपासका क्षेत्र समेटेर पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्नुपर्ने बताउनु भयो । उहाँले संघ सरकारले आवश्यक कानुन र अधिकार प्रदेशलाई नदिँदा समस्या भइरहेको बताउनु भयो ।

मुख्यमन्त्री चौधरीले सघीयताको रक्षा र प्राप्त उपलब्धिको रक्षाका लागि संविधान कार्यान्वयनका लागि संघ सरकारको ध्यानाकर्षण गराउन राष्ट्रपतिलाई अनुरोध गर्नु भयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले उजिरसिंह थापाको योगदानको कदर गर्दै राष्ट्रिय विभुति घोषणा गर्न र पूणर्कदको फोटोसहित ऐतिहासिक जितगढीको फोटो अंकित हुलाक टिकट जारी गर्नका लागि संघ सरकारसँग माग गर्नु भयो ।

पान्डेले किल्ला र किल्ला आसपासको क्षेत्रको पर्याप्त उत्खनन् गरी थप तथ्य पत्ता लगाउन नेपाल सरकार, पूरातत्व विभागको थप सहयोगको खाँचो रहेको वताउनु भयो।’यहाँको किल्लासँग रहेको सुरुङमार्ग, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार र अन्य संरचनाहरुको उत्खनन्पश्चात् आवश्यकताअनुसार पुनःनिर्माण र संरक्षणको लागि संघ सरकारसँग पहल गरिदिनुहुनका लागि सम्माननीय राष्ट्रपतिज्यूमार्फत अनुरोध गर्न चाहन्छु’-प्रमुख पाण्डेयले भन्नुभयो ।

उहाँले जितगढी किल्लालाई युद्ध संग्रहालय, मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार, नुवाकोटगढी, पाल्पा तानसेनको भगवती जात्रासँग जोडेर पर्यटकीय स्थल र नेपाल अंग्रेज युद्धको अध्ययनस्थलको रुपमा विकास गर्ने बताउनु भयो । किल्लाको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि बुटवल उपमहानगरपालिकाले योजनाबद्ध तरिकाले काम अगाडि बढाउने प्रमुख पाण्डेयले बताउनु भयो ।

’यो किल्ला हामी मातहतमा आएको छ अब हामीले किल्लाको संरक्षणका साथसाथै यसलाई पर्यटकीय गन्तव्य र नेपाल अंग्रेज युद्धको अध्ययन गर्ने थलोका रुपमा विकास गर्नेछौं-उहाँले भन्नु भयो-यहीँ नजिकै युद्ध संग्रहालय निर्माण सम्पन्न भएको छ र त्यसको सञ्चालन गर्ने र पुरानो बुटवललाई पुनः चलायमान बनाउने योजना छ ।’

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई ‘समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहर’ बनाउने दीर्घकालीन सोंचसहित बुटवललाई आर्थिक केन्द्रका साथै पर्यटकीय विश्रामस्थल बनाउने योजना बनाएको बताउनुभयाे । उहाँले बुटवललाई उपयुक्त विश्रामस्थल बनाउनका लागि संघ र प्रदेश सरकारको साथ आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा बोल्दै इतिहासविद् निर्मल श्रेष्ठले बुटवलको जितगढी किल्ला र पाल्पाको भगवती जात्रालाई जोडेर पर्यटकीय स्थलका रुपमा विकास गर्ने र इतिहासको संरक्षणमा समेत विशेष चासो दिनुपर्ने बताउनुभयो । बुटवल नगरपालिकाको वडा नं. १ मा पर्ने यो गढी तिनाउ नदीको बायाँ किनारमा रहेको छ। जितगढीमा वि.सं.१८७२ बैशाख ७ गते नेपाली सेना र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो । सोही दिनलाई बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजय उत्सवका मनाउँदै आएको छ ।

नेपाल अंग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभुति घोषणा गर्न बुटवल उपमहानगरको माग

नेपाल-अंग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभुति घोषणा गर्न बुटवल उपमहानगरपालिकाले संघ सरकारलाई अनुरोध गरेको छ । बुटवलको जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले उजिरसिंह थापाको योगदानको कदर गर्दै राष्ट्रिय विभुति घोषणा गर्न र पूणर्कदको फोटोसहित ऐतिहासिक जितगढीको फोटो अंकित हुलाक टिकट जारी गर्नका लागि संघ सरकारसँग माग गर्नु भयो ।

उहाँले किल्ला र किल्ला आसपासको क्षेत्रको पर्याप्त उत्खनन् गरी थप तथ्य पत्ता लगाउन नेपाल सरकार, पूरातत्व विभागको थप सहयोगको खाँचो रहेको बताउनु भयो । ’यहाँको किल्लासँग रहेको सुरुङमार्ग, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार र अन्य संरचनाहरुको उत्खनन्‌पश्चात् आवश्यकताअनुसार पुनःनिर्माण र संरक्षणको लागि संघ सरकारसँग पहल गरिदिनुहुनका लागि सम्माननीय राष्ट्रपतिज्यूमार्फत अनुरोध गर्न चाहन्छु’, प्रमुख पाण्डेयले भन्नुभयो ।

उहाँले जितगढी किल्लालाई युद्ध संग्रहालय, मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार, नुवाकोटगढी, पाल्पा तानसेनको भगवती जात्रासँग जोडेर पर्यटकीय स्थल र नेपाल अंग्रेज युद्धको अध्ययनस्थलको रुपमा विकास गर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?