लम्पी स्किन रोगबाट कालीकोटमा ३५ सय पशुचौपाया संक्रमित

कालीकोटमा देखापरेको लम्पी स्किन रोग जाँच गर्दै पशु स्वास्थ्य प्राविधिक ।

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

कालीकोट । कालीकोटमा लम्पी स्किन रोगबाट ३५ सय पशुचौपाया संक्रमित भएका छन् । हालसम्म लम्पी स्किन रोगबाट ३१४ पशुचौपायाको मृत्यु भएको छ । जिल्लास्थित पशु अस्पताल तथा पशुसेवा कार्यालय कालीकोटले पशुमा देखिएको संक्रमणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षणअनुसारको उपचार भइरहेको जानकारी दिएको छ ।

पशु अस्पताल तथा पशुसेवा कार्यालय कालीकोट कार्यालय प्रमुख लक्ष्मीप्रसाद अधिकारीले भन्नुभयो, ‘केही किसानले निजीस्तरबाट भ्याक्सिन लगाउनुभएको होला तर जिल्लामा हामीले किनेर ल्याएको भ्याक्सिन दिइरहेका छौँ । आवश्यक रोग नियन्त्रण गर्न गाह्रो भएको छ । यसका लागि जनचेतना फैलाउने काम पनि गरिरहेका छौँ । अरू औषधि आएको छैन,’ उहाँले भन्नुभयो ।

घाउ, खटिरा आएकालाई ड्रेसिङ गर्ने काम भइरहेको जानकारी दिँदै कार्यालय प्रमुख अधिकारीले भाइरसबाट सर्ने रोग भएकाले यसको दिगो उपचार नभएको बताउनुभयो । सबैभन्दा यो रोग बढी शान्ति त्रिवेणी गाउँपालिकामा देखिएको उहाँले बताउनुभयो । पशुलाई धेरै ज्वरो आउनु, शरीर र मुखमा फोका जस्ता खटिरा निस्कनु, श्वासप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घटाउनु संक्रमणको मुख्य लक्षण भएको उहाँले जानकारी दिनुभयो । ‘यसको रोकथामका लागि मास भ्याक्सिनेसन सुरु गर्नुपर्छ र जैविक सुरक्षामा जोड दिनुपर्छ,’ उहाँले भन्नुभयो ।

संक्रमण भएको पशु भए त्यसलाई सामूहिकरूपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवतजावतमा कडाइ गरेर लम्पी स्किनको संक्रमण न्यूनीकरण हुन सक्ने अधिकारीको भनाइ छ । लम्पी स्किन नियन्त्रणका लागि सामान्य औषधि उपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको अधिकारीले बताउनुभएको छ । लम्पी स्किनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुको उपचारमा समस्या भएको छ । उहाँले भन्नुभयो, ‘सामान्य औषधि उपचारबाहेक अन्य कुनै नियन्त्रणको उपाय छैन, सरकारी जनशक्तिले मात्रै यो रोग नियन्त्रण हुने अवस्था छैन । अहिले संक्रमित देखिएका पशु पनि मर्ने क्रम झन् बढ्ने देखिन्छ ।’

यो रोग झिँगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन अपिल गरिएको छ । रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?