नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको बर्दघाट उद्योग वाणिज्य संघमा अध्यक्षका लागि तीनजना चुनावी मैदानमा हुमिँदा चुनावी सरगर्मी बढेको छ । व्यवसायीहरू प्यानल नै बनाएर अधिवेशनभन्दा दुई दिनदेखि घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । साधारणसभा पूर्व नै चुनावी मैदानमा उत्रिँदा साधारणसभाको खुलासत्र र बन्दसत्र प्रभावित हुनसक्ने व्यवसायीले बताएका छन । सामान्यतः वर्तमान कार्यसमितिले साधारणसभा सम्पन्न गर्ने र बन्दसत्रपछि निर्वाचन समितिलाई नयाँ नेतृत्व चयनको जिम्मा लगाउने प्रक्रिया रहन्छ ।
संघको आगामी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष लेखनाथ न्यौपानेलाई नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी निकट व्यवसायीको समर्थन रहेको छ । अध्यक्षका अर्का प्रत्यासी दिनेश न्यौपाने वर्तमान महासचिव हुनुहुन्छ । उहाँलाई सत्ता गठवन्धन (काँग्रेस, माओवादी, समाजवादी) निकट व्यवसायीको समर्थन रहेको छ । वरिष्ठ उपाध्यक्ष राजु पाण्डेले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।
वरिष्ठ उपाध्यक्षमा लेखनाथ न्यौपाने प्यानलबाट तारा गौतम र दिनेश न्यौपाने प्यानलबाट हरि अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । वाणिज्य उपाध्यक्षमा लेखनाथ प्यानलबाट चन्द्रबहादुर दमाई, दिनेश न्यौपाने प्यानलबाट धनन्जय पौडेल र स्वतन्त्र नवराज अधिकारीले उम्मेदवारी दिएका छन् । उद्योग उपाध्यक्षमा लेखनाथ प्यानलबाट टेकबहादुर बुढाथोकी र दिनेश प्यानलबाट भरत कँडेल प्रत्यासी रहनुभएको छ भने महासचिवमा लेखनाथ प्यानलबाट गंगा पाठक, दिनेश प्यानलबाट मोहन सापकोटा र स्वतन्त्र विष्णु पराजुलीले मनोनयन दर्ता गराएका छन् ।
बर्दघाटका व्यवसायीले व्यावसायिक संस्थामा राजनीतिक रूपमा नेतृत्व लिनभन्दा पनि सहमतिमा नेतृत्व चयन गरेर व्यवसायीको हकहितमा काम गर्नुपर्ने बताएका छन् । साधारणसभा नहुँदै चुनाव प्रचारमा होमिनु कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तै भएको पन्थी इलेक्टेनिक्सका नगेन्द्र पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कम्तीमा साधारणसभापछि चुनावी प्रक्रियामा जानुपथ्र्यो, यदि बन्द सत्रमा प्रतिवेदन पारित भएन भने को जिम्मेवार हुने ?’
महासचिव दिनेश न्यौपानेले केन्द्रीय महासंघको विधान अनुसार अघि बढ्दा केही असहज देखिएको बताउनुभयो ।
केन्द्रीय महासंघको निर्देशन अनुसार अघि बढ्दा साधारण सभाअघि नै चुनावी माहौल सुरु भएको उहाँको भनाइ थियो । अध्यक्ष लेखनाथ न्यौपानेले माउ संस्था महासंघको विधानमा साधारण सभाअघि नै चुनावी प्रक्रिया अघि बढ्ने उल्लेख भएको र प्रदेशका अन्य संघहरूले पनि केन्द्रीय विधान अनुरूप नै अधिवेशन सम्पन्न गरेकाले बर्दघाट उद्योग वाणिज्य संघ पनि सोही अनुरूप अघि बढेको बताउनुभयो ।
बन्द सत्रमा प्रस्तुत हुने प्रतिवेदनउपर छलफलसहित पारित हुनेमा आफ्नो टिम विश्वस्त रहेको समेत उहाँले बताउनुभयो । संघमा बर्दघाट नगरपालिका १ देखि १६ सम्मका दुई हजार ५१ जना उद्योगी व्यवसायी आबद्ध रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच