कैलालीको पुरैनाताल स्थानीयवासीको अतिक्रमणमा

हिमालय टाइम्स
Read Time = 8 mins

कैलाली । कैलालीको भजनी नगरपालिका–७ स्थित ऐतिहासिक पुरैनाताल सङ्कटमा पर्दै गएको छ । पछिल्लो समय सो तालक्षेत्र स्थानीयवासीको अतिक्रमणमा परेको छ ।

तालको पुरानो वस्तुस्थितिलाई ‘डकुमेन्ट्री’मा सुरक्षित राख्नुभएका प्रकृति संरक्षणकर्मी विजयराज श्रेष्ठले पुरैनाताल सुदूरपश्चिमकै ऐतिहासिक ताल रहेको बताउनुभयो । उहाँले कुनै समय ताल अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक पुरैनाताल पुग्ने गरे पनि अस्तित्व सङ्कटमा परेपछि तालको इतिहास नै हराउने अवस्थामा पुगेको बताउनुभयो । “यहाँ बाहै्र महिना सारस पाइन्थ्यो, अन्य प्रजातिका चराले तालको महत्वलाई अझै ऐतिहासिक बनाएको थियो”, उहाँले भन्नुभयो, “त्यो अवस्थामा देखेको तालको आज अस्तित्व खोज्नुपर्ने बेला आएको छ ।”

करिब पाँच सय बिघा क्षेत्रफलमा फैलिएको तालमा माछा, घडियाल, गोही लोपोन्मुख जलचर जनावर उदसमेत त्यस तालमा पाइन्थ्यो । जलचर जीव पाइने भएकै कारण त्यहाँ चराको सङ्ख्यामा कहिल्यै कमी आउँदैनथ्यो । “अझै अतिक्रमणमा परेको जग्गा खाली गराएर ताललाई पुनःजीवन दिन सकिने स्थिति छ”, उहाँले भन्नुभयो, “त्यसलाई पुरानै अवस्थाका फर्काउन सक्यो भने भजनीको मात्रै नभई सिङ्गो सुदूरपश्चिममै पर्यटकका लागि राम्रो गन्तव्य बन्न सक्छ ।”

बाह्रै महिना विभिन्न प्रजातिका चरा पाउने उक्त ताल पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण भए पनि २०६४÷०६५ सालमा कान्द्रा नदीमा आएको बाढीले पुरिएको थियो । ताल पुरिएपछि आसपासमा जग्गा भएका जग्गाधनीले ताल अतिक्रमण गर्दै उपभोग गर्न थालेका बताइएको छ । स्थानीयको अतिक्रमणमा परेको ताललाई पुनःजीवन दिन धेरै प्रयास भएका छन् । नगरपालिकाले यसभन्दा पहिले तालको जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद सकिए पनि अतिक्रमणमा परेको जग्गा भने खाली हुनसकेको छैन ।

ताललाई पुनःसंरक्षण गरेर पुरानै अवस्थामा फर्काउँदा भजनी क्षेत्रको सम्भावना बढ्ने स्थानीय वीरबहादुर हमालले बताउनुभयो । “स्थानीय सरकारले चासोका साथ काम गर्न सक्यो भने स्थानीयलाई जग्गा छोड्न गाह्रो छैन । बरु उहाँहरूलाई जनचेतना फैलाउनुपर्ला”, उहाँले भन्नुभयो, “भजनीको ऐतिहासिक महत्व बोकेको पुरैनामात्रै नभई अन्य तालको पनि संरक्षण आवश्यक देखिएको छ ।”

अतिक्रमणमा परेको तालको जग्गा खाली गराउन कुनै समस्या नरहेको वडा नं ७ का वडाध्यक्ष अमर कठरियाले बताउनुभयो । उहाँका अनुसार तालको उत्खननका लागि आवश्यक बजेट अभावका कारण ताललाई पुरानै अवस्थामा फर्काउन सकिएको छैन । “स्थानीय जग्गा छाड्न तयार छन् । बर्सेनि बाली लगाउँदा उहाँहरू नगरपालिकालाई पर्खेर अन्तिममा बाली लगाउँछन्”, उहाँले भन्नुभयो, “समस्या बजेटको हो, बजेट भयो भने ताललाई पुनःजीवन दिन कुनै समस्या छैन ।” उहाँले तालको जग्गा अतिक्रमण गर्ने ब्यक्ति त्यस आसपासका भएको जनाउँदै स्थानीयका कारण तालको संरक्षणमा समस्या भएको भन्नू गलत भएको बताउनुभयो ।

विसं २०३६ को नापीले त्यस क्षेत्रमा ६० घरधुरीले प्रतिघरधुरी आठ कठ्ठाका दरले जग्गा प्राप्त गरेका थिए । आज तिनै व्यक्तिबाट त्यो ताल अतिक्रमणमा परेको वडाध्यक्ष कठरियाको भनाइ छ । त्यसबेलाको भूमि आयोगले सुकुम्बासीलाई उपलब्ध गराएको जग्गाको पनि हालसम्म धनीपुर्जा छैन । उहाँहरूले भोगचलन भने गर्दै आएका छन् । ताल निर्माणका लागि केही वर्ष पहिले तराई भूपरिधि कार्यक्रमले चासो दिएको भए पनि त्यो सफल नभएको वडाध्यक्ष कठरियाको भनाइ छ । पुरैना तालसँग जोडिएको बञ्जरिया ताल रहेको छ । यो तालले नेपाल–भारत सीमाको काम गरेको छ । ताल भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग जोडिएकाले त्यसलाई फरकरूपमा हेर्ने गरिएको स्थानीय खोजराम चौधरी बताउनुहुन्छ ।

तालको उत्खनन गरेर मानव निर्मित ताल निर्माणका लागि नगरपालिकाले प्रक्रिया अगाडि बढाइसकेको नगरप्रमुख केवल चौधरी बताउनुभयो । उहाँका अनुसार ताल क्षेत्रको नापजाँचको काम सुरु गर्ने तयारीमा नगरपालिका छ । “हामीले जसरी पनि पुरैनातालको अस्तित्व जोगाउनुपर्छ भनेर लागेका छौँ त्यसमा हामी सफल हुन्छौँ”, उहाँले भन्नुभयो, “अब समस्या बजेटको छ । प्रदेश र सङ्घ सरकारले सहयोग गर्न सक्यो भने पुरैनाताललाई पुनःजीवन दिन समय लाग्ने छैन ।” उहाँका अनुसार तालको विस्तृत आयोजना प्रतिवेदन९डिपिआर० नगरपालिकाले बनाइसकेको छ ।

उसो त भजनी नगरपालिकाको आन्तरिक स्रोतको प्रमुख आधार नै तालतलैया हुन । नगरपालिका क्षेत्रभित्र करिब २५ देखि ३० तालतलैया छन् । बर्सेनि नगरपालिकाले ती ताल ठेक्कामा दिने गरेको छ । ठेक्काबाट आएको रकमले नगरपालिकाको आन्तरिक स्रोत चल्छ । ठेकेदारले माछापालनका लागि ताल ठेक्कामा लिने गरेका छन् । नगरपालिकाले नदी तथा तालबाट रु चार करोडभन्दा बढी रकम ठेकेदारबाट उठाउनै बाँकी छ । विसं २०७४ पछि नगरपालिकाले विभिन्न समयमा ठेक्कामार्फत सञ्चालन गर्न जिम्मा दिएका तालतलैयाको बक्यौता रकम तिर्नका लागि पटकपटक लिखित तथा मौलिक आग्रह गर्दा पनि राजनीतिक आडमा ठेकेदारले कबोल गरेको रकम नतिरेको गुनासो नगरप्रमुख चौधरीले गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?