कसरी भयो एमालेको टीआरसी कार्ड ‘कोल्याप्स’ ?

चिन्तन क्षेत्री
Read Time = 8 mins

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा शून्य सीटमा सीमित हुने छनक देखिए पनि नेकपा एमालेले सत्ता गठबन्धन दलहरूलाई ‘टीआरसी कार्ड’ फालेको थियो । विशेषतः नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसलाई । तर सत्ता गठबन्धन चाँजोपाँजो मिलाउन बढी सक्रिय हुँदा एमाले आफ्नो चालमा ‘कोल्याप्स’ हुन पुग्यो । फलस्वरुप नेकपा एस राष्ट्रियसभामा नेकपा एमालेको हैसियतमा पुग्ने लगभग निश्चित देखिएको छ ।

टीआरसी विधेयक पास गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जुन दलसँग पनि सहकार्यको हात बढाउन तयार छन् भन्ने थाहा पाएर नै नेकपा एमालेले आफ्नो चाल चालेको थियो । तर नेकपा एस तगारो बनेपछि सफल हुन सकेन । प्रचण्डलाई कांग्रेससँगै तत्कालीन १२ बुँदे समझदारीमा हस्ताक्षरकर्ता दलहरूलाई टीआरसी विधेयकमा सहमत गराउनै पर्ने बाध्यात्मक अवस्था छ । एमालेले प्रचण्डको सोही कमजोरीमा टेकेर सहकार्यको हात अगाडि बढाउने प्रयास गरेको थियो ।

एमालेको प्रयास असफल कसरी भयो ?

अहिले गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादी पार्टीलाई नेकपा एमालेले अहिलेसम्म राजनीतिक पार्टी नै स्वीकार गर्न सकेको अवस्था छैन । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी टुक्रा भएर बनेको एस अहिले एमालेको बराबरी गर्ने ध्याउन्नमा छ । जुन राष्ट्रियसभा निर्वाचनमा पूरा हुने छनक नेकपा एसले पायो र त्यसैलाई सदुपयोग गर्‍यो । सत्ता गठबन्धनको बैठकमा सहभागी एक नेताको भनाइलाई आधार मान्ने हो भने, नेकपा एस अझ माधव नेपालकै कारणले राष्ट्रियसभामा सत्ता गठबन्धन सँग सहकार्य गर्ने एमालेको सपना तुहिएको हो । तर पनि एमालेले सबै सीटमा आफ्ना उम्मेदवार उठाएको छ । यद्यपि तालमेलको प्रयास असफल भएसँगै आगामी राष्ट्रियसभा निर्वाचनमा एमाले खाली हात हुने निश्चित जस्तै देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘टीआरसी कार्ड’ फ्याँक्दै एमालेले ६ सीटको बार्गेनिङ गरेको थियो । जुन गठबन्धन भित्र कुरा नमिलेपछि सफल हुन सकेन ।

प्रधानमन्त्री प्रचण्ड बाहेक गठबन्धनमा सहभागी अन्य दलका नेताहरू राष्ट्रियसभा निर्वाचन र टीआरसी विधेयकको कुरा अलग भएको बताउँदैका आएका छन् ।

स्वीकार्य तयार छैन एमाले

एमालेका नेताहरू भने अहिले पनि गठबन्धनसँग आफूहरूले कुनै पनि सीट नमागेको बताउँदै आएका छन् । उल्टै उनीहरूले प्रधानमन्त्री प्रचण्डले अन्य दलहरूलाई ब्याकमेल गर्न एमाले पनि सहभागी हुने भन्दै ‘थाल ठटाएको’ आरोप लगाउँछन् ।

यसअघि पनि एमालेलाई टीआरसी विधेयक देखाएर गठबन्धनका दलहरू आफ्नो भाग सुरक्षित गर्न प्रयत्नशील रहेको र अहिले पनि सोही गतिविधि देखेपछि एमाले पछि हटेको एक नेता बताउँछन् ।

राष्ट्रियसभामा एमाले र नेकपा एसको शक्ति बराबर !

यता माघको निर्वाचनमा गठबन्धनको मतभार अनुसारको परिणाम आयो भने नेकपा एमाले र एमालेबाट टुक्रिएर बनेको नेकपा एस समान हैसियतमा रहने पक्का जस्तै भएको छ । यद्यपि बामदेव गौतमको निर्णयले केही फेरबदल गर्न सक्छ ।

कांग्रेस सचेतक नेता रमेश लेखकका अनुसार कांग्रेसले १०, माओवादीले ६, नेकपा एसले २ र जसपाले १ सीट पाउने सहमति बनेको छ ।

राष्ट्रियसभाबाट एमालेबाट ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाको एक र एक स्वतन्त्र सांसद बिदा हुँदैछन् । एमालेबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित विमला राई पौड्याल मनोनीत, भैरवसुन्दर श्रेष्ठ, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, ईन्दु कडरिया, नरपति लुहार र रामचन्द्र राईको कार्यकाल सकिँदैछ ।

कांग्रेसबाट रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जीतेन्द्रनारायण देव, माओवादीबाट महेशकुमार महरा, हरिराम चौधरी र वीना पोखरेल, नेकपा एसबाट सिंहबहादुर विश्वकर्मा र नन्दा चपाईं तथा जसपाबाट प्रमिलाकुमारी यादव फागुन २० गतेबाट बिदा हुँदैछन् । नेकपा एसबाट गठबन्धनको सहयोगमा निर्वाचित भएका स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि कार्यकाल सकिँदैछ ।

माओवादी पहिलो दल बन्ने !

राष्ट्रियसभा निर्वाचनपछि नेकपा माओवादी पहिलो दल बन्ने देखिएको छ । प्रतिनिधिसभामा जम्मा ३२ सीटको माओवादीले अहिले सरकारको नेतृत्व गरिरहेको छ । राष्ट्रियसभामा भने उ पहिलो दलको दौडमा छ । राष्ट्रियसभामा अहिले माओवादीका १५ सांसद छन् । ३ जना बिदा हुँदा ६ थपेर माओवादीले १८ सांसदसंख्या पुर्‍याउने छ ।

अहिले १० सांसद रहेको कांग्रेस ४ जना बिदा हुँदा १० थपेर १६ सीट सहित दोस्रो दल बन्दैछ । तेस्रोका लागि एमाले र नेकपा एसको रस्साकस्सी हुने देखिएको छ । एमालेका अहिले १७ सांसदमध्ये अध्यक्षसहित ९ जना बिदा हुँदैन् । यो अवस्थामा एमाले ८ सीटमा सीमित हुनेछ । अहिलेको अवस्थामा एमालेले एक सीट पनि जित्ने सम्भावना छैन । यता नेकपा एसका २ जना बिदा हुँदा २ जना नै उसको थप हुनेछन् र एससँग पनि ८ सांसद हुनेछन् । यता बामदेव गौतम एसमा रहे एस नै तेस्रो पार्टी बन्ने छ । उनी राष्ट्रपतिबाट मनोनीत भएका सांसद हुन । अहिले जनमोर्चाकी दुर्गा पौडेल मनोनीत हुने समाचार पनि बाहिरिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?