![गरिमामय सभाको तेजबोध गर्न उद्यत् दलहरू](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/Dr.-dr-Upadhyay.jpg)
अहिले पुसको अन्तिम हप्ता भइसकेको छ । हिउँदे पानी परेको छैन । हिमाली क्षेत्रमा फाटफुटबाहेक हिउँ परेको छैन । पोहोरपरारको जति जाडो पनि भएको छैन । मानिसले जाडो चाहिँ अहिले नै बढी छ भन्छन् । ‘उम्केको माछो मरेको पाडो पोहोरको मकै अहिलेको जाडो’ भन्ने उखानै छ तर यथार्थमा त्यस्तो भएको छैन । अन्यत्रका मानिसले पनि त्यस्तो केही न केही महसुस त गरेकै होलान्, काठमाडौं उपत्यकाका बासिन्दाले केही फरक महसुस गरेकै छन् । पहिले बाक्लो तुषारो पथ्र्यो त्यस्तो अहिलेसम्म देखिएको छैन । घामको प्रकाशले नभेट्ने ठाउँमा त तुषारो बिलाउन नपाउँदै त्यसैमा थपिँदै जाने हुँदा कहिल्यै पनि तुषारो पग्लिन नपाउने अवस्था हुन्थ्यो ।
यस्तो बाक्लो तुषारोलाई बोलीचालीमा ‘कालो तुषारो’ भन्ने गरिन्थ्यो । नयाँ पिँढीले त्यस्तो देख्न नै पाएका छैनन् । यतिमात्र होइन बाक्लो हुस्सुले उपत्यका बिहान १०-११ बजेसम्म पनि छोपिने गथ्र्यो । केही वर्षदेखि सीमित ठाउँहरूमा बाहेक हुस्सु लाग्न छाडेको छ । जलवायु परिवर्तनको प्रभावले गर्दा यस्तो हुनेगरेको छ । विज्ञहरूले ग्लोबल वार्मिङ भन्ने गरेको मौसमको यो फेरबदल सामान्य मानिसले सजिलै महसुस गर्दै आएका छन् । ग्लोबल वार्मिङले गर्दा प्राणीहरूको बासस्थान फेरिन थालेको छ भने वनस्पति अर्को-अर्को स्थानमा उम्रिन र बढ्न थालेका छन् । पहिले कुनै फलपूmल नफल्ने ठाउँमा हाल फल्न थालेका छन् । पहाडी भूमिमा पनि विषालु सर्पहरू भेटिने गरेका छन् ।
जलवायु विज्ञहरूको मतमा ग्लोवल वार्मिङमात्र होइन ग्लोबल कुलिङ पनि हुनेगरेको छ, अर्थात् कुनै-कुनै ठाउँमा पहिलेभन्दा अझै बढी चिसो हुनेगरेको छ । यो मौसमको असन्तुलन हो, यसो हुनुभनेको पृथ्वीमा तापक्रमको असन्तुलन हुनु हो । जसले गर्दा मानव जीवनमा मात्र होइन समग्र प्राणी तथा वनस्पतिको चक्र प्रणालीका नकारात्मक प्रभाव परिरहेको छ । आधा हिउँद जाँदा हिउँदे पानी नपरेर हिउँदे बालीनालीलाई आवश्यक पानी अपुग भएको छ भने हिमालहरू काला पहाडमा परिणत भइरहेका छन् । सधैं हिउँ जमिरहने भएका कारण ती उच्च पहाडलाई हिमाल भनिएको छ ।
हिउँको घर अर्थात् हिम+आलयबाट हिमालय बनको हो तर हिउँ नै नभएर कालो पर्वतमा परिणत भएपछि तिनलाई हिमाल भन्नसमेत असान्दर्भिक हुनजान्छ । केही समय अघि संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसले नेपालको भ्रमणमा रहेका बेला हिमालहरूको अवलोकन गर्नुभएको थियो । सो को केही समयपछि भारतमा भएको सम्मेलनमा पनि यसबारे चर्चा भएको थियो । गुटेरेसले नेपालका हिमालहरूमा हिउँ पग्लिँदै गएकोप्रति चिन्ता व्यक्ति गर्नुभएको थियो । बुढापाकाहरू हिमालमा जति हिउँचुली हुन्छ मानिसका घरका भकारीमा त्यसरी नै अन्न चुलिन जान्छ भन्थे । हिउँ परेको वर्ष सहकाल हुन्छ र नपरेको वर्ष अनिकाल लाग्छ भन्थे ।
यो केवल कल्पनामात्र होइन यो विज्ञानसम्मत् भनाइ पनि हो । हिमालमा भारी मात्रमा हिउँ पर्यो भने त्यो पग्लिएर नदीनाला र खोलाहरूमा पानीको मात्रा बढ्न जान्छ र मानिसले खेतबारीमा पानी लगाउन पाउँछन् । त्यसबाट उब्जनीमा वृद्धि हुन्छ । त्यसकारण मानिसका भकारीमा भरी भरी अन्न हुन्छ र अनिकाल लाग्दैन । कहीँ कतै हिउँ पर्दापर्दै त्यसबाट मानिसलाई तिनका घर र खेतीलाई क्षति गरेको पनि होला तर समग्रमा हिमपात हुनु सकारात्मक छ । यसबाट समग्र खेतीपाती, प्राणी, वनस्पतिका लागि पानी प्राप्त हुन्छ । कतिपय प्राणीहरू त हिउँ र हिमाली क्षेत्रमै बस्ने र हुर्किने गर्छन् । वातावरणीय चक्र प्रणाली कायम गर्न र मौसमी सन्तुलनका लागि वर्षामा वर्षानुकूलका र हिउँदमा हिउँदको समय सुहाउँदा मौसमी प्राकृतिक कार्यहरू हुनु नितान्त जरुरी छ ।
तर, हालका दिनहरूमा मानिसका प्रकृतिविरुद्धका क्रियाकलापले गर्दा प्राकृतिक सन्तुलनमा गड्बडी पैदा हुने गरेको छ । यसैको प्रभावले प्राकृतिक रूपमा जुन समयमा जस्तो प्राकृतिक कार्य भएर सो अनुरूपको परिस्थिति सिर्जना हुनुपथ्र्यो त्यसो हुन नसकेको हो । यस्तो परिस्थिति सिर्जना हुनुको कारण मानवीय गतिविधि पनि हुन् । औद्योगिकीकरण, यान्त्रिकीकरण, यातायातको अधिक प्रयोग आदिबाट कार्बन उत्सर्जन गरी वायुमण्डलमा फैलाइएकाले यसो हुनपुगेको हो । यसले पारिस्थितिक प्रणाली प्रभावित भएको छ । मानिसका पारिस्थितिक प्रणाली बिगार्ने यस्ता अतिवादी क्रियाकलाप कम गर्न सके यस्तो अवस्थामा सुधार आउन सक्ने भएका कारण यस्ता गतिविधि दण्डनीय बनाउँदै लानु आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच