लोकगायनमा अमृता

Read Time = 4 mins

काठमाडौं । आफ्ना गीतमार्फत दर्शक/श्रोताको मन जित्न सफल हुनुहुन्छ म्याग्देली गायिका अमृता श्रीपाल । सबै पुस्तामाझ लोकप्रिय उहाँ खासगरी युवा पुस्तामा अझ बढी लोकप्रिय हुनुहुन्छ । करिब दुई दर्जन गीत उहाँका सार्वजनिक भएका छन् ।

म्याग्दीमा इन्द्रबहादुर विश्वकर्मा र मनमाया विश्वकर्माको कोखबाट जन्मिनुभएकी अमृता सानै उमेरदेखि गीत गाउन भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । त्यही लगावले उहाँ यतिबेला राम्रो गायिकाका रूपमा परिचित हुनुहुन्छ । गाउँघरमा हुने मेला-महोत्सवमा गीत गाउँदै अहिलेको सफलता चुम्न सक्नुभएकी उहाँले काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना प्रस्तुति निरन्तर रूपमा श्रोता/दर्शकमाझ पुर्‍याइरहनु भएको छ । उहाँका ‘चिल गाडी’, ‘खैनीले’, ‘स्यानी’, ‘मदानीमा नेती’, ‘गैरी गाउँको मेला’, ‘आगनीमा रनकेको स्नाही’ जस्ता गीतले श्रोता/दर्शकको अत्यधिक साथ पाएका छन् ।

उहाँले देशका विभिन्न स्थानमा हुने मेला माहोत्सवका साथै विदेशमा हुने विभिन्न कार्यक्रममा पनि उहाँले आफ्नो प्रस्तुति दिनुभएको छ । श्रीपालले कतार, जापान जस्ता देशमा गएर आफ्नो प्रस्तुतिमार्फत प्रशंसा बटुल्न सफल हुनुहुन्छ ।

गीतसंगीतमा पुर्‍याएको योगदानस्वरूप थुप्रै मान सम्मान र पुरस्कार प्राप्त गर्नुभएकी उहाँका केही गीतले अवार्ड चुम्न सफल भएका छन् । उहाँले छयाँछवि तीज म्युजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, हिमालयन इन्टरनेशनल म्युजिक अवार्ड जस्ता अन्य अवार्ड आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ । नेपाली गीतसंगीतमै आफूलाई पूर्णरूपमा समर्पण गरेको बताउनुहुने श्रीपाल आफ्नो रगत रगतमा गीतसंगीत रहेको र यसबाहेकको क्षेत्र आफूले कल्पना पनि नगरेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘सायद मेरो जन्म गीतसंगीतकै लागि भएको हो । मैले यसबाहेक अन्य क्षेत्र कल्पना गरेको छैन ।’ आफ्ना प्रस्तुतिले माया पाइरहदा आफूमा अझ हौसाला बढेको उहाँको भनाइ छ । ‘मेरा प्रस्तुतिलाई श्रोता/दर्शकले मन पराइदिनुभएको छ, यो माया, ममता र साथ रहिरहोस् अझ राम्रा राम्रा गीत पस्कन सकु’, उहाँ भन्नुहुन्छ । सबै खालका गीत गाउन सक्ने आफूमा खुबी भए पनि लोकगीत क्षेत्रमै आफूलाई बढी सहज हुने उहाँको भनाइ छ । ‘यही क्षेत्रमै केही उल्लेखनीय कार्य गर्न चाहन्छु, हुन त म सबै खालका गीत गाउँछु, तर मेरो विशेष रुचि लोक गायनमै छ’, उहाँ भन्नुहुन्छ । पछिल्लो समय यो क्षेत्रमा केही विकृति आएको गुनासो गर्नुहुने उहाँ यही क्षेत्रका रहेकाले यसलाई राम्रो बनाउँदै लानुपर्ने बताउनुहुन्छ । उहाँले गीतसंगीतका सँगसँगै अन्य विभिन्न संघसंस्थामा रहेर कुशल कार्य सम्पादन गर्दै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?