नेपाली कागजको उत्पादन भन्दा माग बढी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नं ३ अधिवारामा संचालित मालिका कागज उद्योगमा सिजन (माघदेखि जेठसम्म) मा दैनिक छ सयदेखि ७ सय ताउ र अफ सिजन (असोजदेखि पुससम्म) मा दैनिक तीन सयदेखि चार सय ताउसम्म नेपाली कागज उत्पादन हुन्छ ।

स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने यस कागज उद्योगमा उच्च गुणस्तरको नेपाली कागज उत्पादन हुनेहँुदा नेपालका विभिन्न ठाउँहरुबाट माग आउने गर्दछ । तर,स्थानीय कच्चा पदार्थ,कामदारको अभाव र विद्युत आपूर्तिमा अनियमितता जस्ता कारणले माग अनुसारको कागज उत्पादन गर्न नसकिएको उद्योगका संचालक मोतिराज गौतम बताउनुहुन्छ ।

बजारमा अत्यधिक माग हुँदा पनि माग अनुसारको उत्पादन सामथ्र्य नहुँदा आयआर्जन र रोजगारीको प्रशस्त सम्भावना बोकेको यो उद्योग जनतन संचालन भइरहेको छ ।

उद्योग संचालक गौतमका अनुसार नेपाली कागजको हालको बजार माग राम्रो रहेको भएतापनि माग अनुसार उत्पादन गर्न सकिएको छैन ।
बजारमा जापानीज प्रबिधिबाट उत्पादित कागज लोकल हाते प्रबिधिबाट बनाइएको कागज भन्दा सस्तो छ । गुणस्तरमा लोकल कागज ,जापानीज प्रबिधिको भन्दा ७५–८० प्रतिशत सुरक्षित र बलियो हुने भए पनि जापानीज प्रविधिको कागजसँग प्रतिष्पर्धा गर्नुपर्ने वाध्यता एकातिर छ भने अर्कोतिर नेपाली कागज बनाउन प्रयोग हुने लोक्ताको संकलन गर्न कानुनी प्रक्रिया पुरा गर्न पनि झण्झटिलो हुन्छ । लोक्ता संकलन गर्न बनमा जाने र उद्योगमा काम गर्ने जनशक्ति नपाइनु अर्को समस्या हुने गरेको उहाँ बताउनुहुन्छ ।

यस उद्योगमा समय अनुसार विभिन्न साइजको कागजको माग हुने गर्छ । अफिसियल कागज,तमसुक कागज,१८–२० ग्रामको कागज,धुप निर्माण गर्ने ६–७ ग्रामको कागज, चिना निर्माणका लागि ४० ग्राम को कागजको माग बढी हुने गरेको उद्योग संचालक गौतमले बताउनुभयो । “मागको आधारमा हालको उत्पादनले पुर्ती गर्न सकिएको छैन । विशेषगरी १८–२० ग्राम र ६–७ ग्रामको कागजको माग बढी छ । त्योमाग पुरागर्न सकिएको छैन” उहाँले भन्नुभयो ।

उद्योगमा चुनौतिहरु धेरै रहेका गौतमले बताउनुभयो । “नियमित कच्चा पदार्थ लोक्ताको अभाव हुन्छ । बाह्रै महिना उत्पादन गर्न सकिँदैन । बर्षादको समय र हिउँदमा पनि घाम नलाग्दा,पानी पर्दा उत्पादन गर्न सकिँदैन। जसका कारण कामदार टिकाउन समस्या हुन्छ” उहाँले भन्नुभयो ।
कामदारको अभाव, विद्युतको अनियमितता,उपकरण फ्रेमहरु मर्मत सम्भार, विद्युतबाट लोक्ता (कागज बनाउन प्रयोग गरिने कच्चा पदार्थ) पकाउदा हिटरको रड बढी जल्ने जस्ता समस्याहरुले उद्योगको क्षमता अनुसार कागज उत्पादन गर्न नसकिएको उहाँको भनाइ छ ।उद्योगको दैनिक १२ सय देखि १५ सय ताउसम्म कागज उत्पादन गर्नसक्ने क्षमता छ ।

स्थानीय प्रविधिबाट नेपाली कागज उत्पादन गर्दा उत्पादन खर्च अत्यन्त महंगो भए पनि जिल्लाको पहिचान र स्थानीय उत्पादनको संरक्षणका लागि आफूले यो उद्योगलाई निरन्तरता दिइरहेको उहाँले बताउनुभयो । स्थानीय तह र सम्वन्धित निकायबाट सहयोग हुने,उद्योग मैत्री वातावरण मिल्ने र डिभिजन वन कार्यालयले कागज बनाउन प्रयोग गरिने कच्चा पदार्थ लोक्ताको संकलन गर्न सरल नीति बनाइदिने हो भने म्याग्दीमा नेपाली कागज उद्योगको राम्रो संभावना रहेको उहाँले बताउनुभयो ।

“अहिले उत्पादन खर्च नै बढी छ,तर पनि उद्योगलाई निरन्तरता दिईरहेको छु” गौतमले भन्नुभयो । उद्योगमा अहिले प्रत्यक्षरुपमा ४ जना र अप्रत्यक्ष रुपमा १० जनाले रोजगारी पाइरहेका छन् ।

म्याग्दीको माथिल्लो पहाडी भेग ( तीन हजारदेखि ३२ सय मिटरको उचाइ) मा पर्ने लेकाली सरकारी तथा सामुदायिक बनहरुमा प्रशस्त बरुवा (लोक्ता) का बोटहरु छन । तर त्यसबाट लोक्ता (पुवा) निकाल्ने कामदारको अभाव छ । उद्योग,कामदार र खेरजाने यस्ता वन पैदवार लाई प्रोत्साहन गर्न कतैबाट पहल नभएको उहाँको गुनासो रहेको छ ।

जङ्गलमा बरुवा जातको (लोक्ता) बुट्यान वनस्पति खेर गइरहेको छ । तर,वन डिभिजन कार्यालयले संकलनका लागि अनुमति दिँदैन । अनुमति दिए पछि पनि बरुवा जातको वनस्पतिबाट लोक्ता(बोक्रा) निकाल्ने, त्यसलाइ सफा गर्ने,सुकाउने काम अत्यन्त झन्झटिलो हुँदा कामदार पाउन मुस्किले हुने गरेको उहाँले बताउनुभयो ।

२०७५ सालमा स्थापना भएको यस उद्योगले अहिले कार्यालयहरुमा चाहिने ए.फो साईजको कागज उत्पादन गर्न थालेको छ । कागजको माग बेनी, बागलुङ,पोखरा,काठमाण्डौ,चितवन लगाएतका सहरबाट आउने गरेको र एउटा मात्र उद्योग भएका कारण माग भएजति उत्पादन गर्न नसकेको गौतम बताउनुहुन्छ ।

उद्योगमा नेपाली कागजका अतिरिक्त नोटबुक, फाइल, हलुका र रंगीन बस्तुहरु पनि निर्माण गर्ने गरिएको छ ।
जिल्लाको अन्नपूर्ण गाउँपालिकाको नागी, धवलागिरीको लमसुङ, रघुगंगाको पाखापानीमा रहेका नेपाली कागज उद्योगहरु अहिले बन्द अबस्थामा छन् । तर ती उद्योगहरु संचालनका लागि स्थानीय सरकार र सम्वन्धित निकायले कुनै पनि सहयोग नगरेको संचालक गौतमको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?