
ठुक्ठुकाउँदो ठिहीमा, एक बित्ता परको जमिनसम्म देख्न मुस्किल कुहिरो र हुस्सेका बीच छोरी, नाति, स्वास्नी र म खलासी बन्यौ चिप्लो चिल्लो कारभित्रका न्याना सिटमा थपक्क बसेर । ज्वाइँ दीपक लामिछाने खप्पीस ड्राइभर बनेर हामी हुइकियौँ-टोल कुन ? थाहा भएन, घर नम्बर तेह्रतिर । असम्भव सम्भव भएपछि गराउँनेका अन्तरपीडा त गर्नेलाई मात्र थाहा हुन्छ देख्नेका लागि आश्चर्य लाग्नु पनि अस्वाभाविक होइन । सायद, यसै अन्तरमर्मको गहिराइबाट मान्छेका दुई भेद-असल र खराबको स्पष्ट परिचय बाहिरिन्छ । असलहरू प्रशंसाका पुलमा खुशीका नदी बहन्छन् ।
आनन्दको उभार उछल्छन् । सन्तुष्टिको संसारमा अन्तरसङ्गीतको वर्षा गरेर आयु निकै लम्ब्याउँछन् । सांसारिक सुख दुःखको आरोह, अवरोहको, हिंसा शान्तिको, उतारचढावको आनन्दमा चुर्लुम्ब डुब्छन् र सकारात्मक पाटाका पानाहरू एकपछि अर्को पल्टाउँछन् । यही सुखद अनुभव प्राप्तिको लाममा पङ्तिबद्घ व्यक्तिहरू नै उदार हृदयको आँगनमा मुस्कुराउँछन् । यो अस्पष्ट अनुभूत सापेक्षित सत्य नै जीवनप्रवाहको असल पक्ष हो । यो समाज नै देवत्वको समाज हो । यो परिधि नै कल्पित स्वर्गको जीवित सत्य हो । देखिने यथार्थ हो । अर्को स्वर्गको कल्पना यस मनोविज्ञानको कुनै पनिगर्तमा रहन्न । सुखको परिभाषा यही हो । सन्तुष्टि संसार पनि यही हो ।
मान्छे जति यस मनोविकासबाट जीवनयात्रा गर्न सक्छ त्यति नै खुला, बहिर्मुर्खी, उदार र चौडा दिलको सफा आकाश उभिन्छ, फैलिन्छ र एउटा मानक मार्ग निर्माण गर्दै समग्र संसारलाई आकर्षणको चुम्बकीय शक्ति सञ्चार गर्न सक्छ । सामाजिक विकृत मान्यताको ठूलो भन्नोस् वा सच्चाइको असल यस्तै व्यक्तिबासको समाज हो, परिधिको स्वर्ग हो ।
अन्तरमुखी व्यक्ति नकारात्मक द्वन्द्वले पहिलो पटकको खेती घरमा सुरु गर्छ–लोग्ने र स्वास्नीका बीच । घमासान घर्घराहटको हल्का रेकटर स्केलको भूकम्पबाट दुई विचारबीच विद्रोह जन्माउँछ ।
अर्को पाटो छ जसलाई हामी खराब भन्छौं । असम्भव सम्भव भएको चकाचौध मर्करी देखेर त्यसै बिन्दु विशेषमा ऊ आफूलाई तुलना गर्छ । तल पाउँछ । हीनग्रन्थी उचालेर इष्र्याको अँगेनो बन्छ । जलनको तातो भुत्भुतेमा छट्पटाउँछ । घृणाको सिरक ओढ्छ । आक्रोशको तकियामा शिर सजाएर चिन्ताको चेतनाले जिउँदो चिहान निर्माण गर्छ । भुत्भुताउँछ, लट्पटाउँछ । खुल्दै गरेका चेतनात्मक इन्द्रियद्वार बन्द गरेर मोहजालमा बेरिन्छ । यो नै समग्र मानव मनोविज्ञानको अन्तर्मुखी संसार हो । यस गहिरो मनोदशाबाटै सांसारिक खराबीको जन्म हुन्छ । नकारात्मक आवेगको विस्तार हुन्छ ।
परिवेशमा, व्यक्तिमा, घरसमाजमा, सर्वत्र यस प्रकृतिले जरा फैलाएपछि आँसु र अनियन्त्रित हाँसोको जन्म हुन्छ । द्वन्द्वका बग्रेल्ती चउर खडा हुन्छन्, उम्रेका झार लामो समय हरिया रहन सक्दैनन्, सुक्छन् र आगाका विविधस्वरूप निर्मित हुन्छन् । अलिकति दर्द धुवाउँछन् । अलिकति आवाज पड्कन्छन् बल्नुअघि-पट्टपट्ट । अँगेनु थाहा पाउन्न । कारण के ? यसै संस्कारको खरानी बोकेर बसेको छ ।
अन्तरमुखी व्यक्ति नकारात्मक द्वन्द्वले पहिलो पटकको खेती घरमा सुरु गर्छ-लोग्ने र स्वास्नीका बीच । घमासान घर्घराहटको हल्का रेकटर स्केलको भूकम्पबाट दुई विचारबीच विद्रोह जन्माउँछ । यसले ज्वालाको रूप लिए त ठीकै छ, बिछोड हुन्छ सकिन्छ, अर्को बाटो बन्छ । भुसको आगोमा परिणत हुँदा घरपरिवार पिरोलिन्छ, छरछिमेक पिरोलिन्छ । बिस्तारै एउटा ज्यादै ठूलो संख्याको समाज यस परिधिमा घुम्छ । चोरीको घुम्टो उघ्रन्छ । डकैतीको टाँक खुल्छ । गुण्डागर्दीको घाउ लाग्छ । जुवाडे क्यासिनो उभिन्छन् । आक्रोशको धुँवा बाजोजुजोमा बटारिन्छ । ग्याङ्फाइटका थुप्रै डाँडाहरू राता आँखामा उभिन्छन् । को कतिबेला हुन्छ ? को कतिबेला हुन्न कुनै ठेगान रहन्न । मान्छे मान्छेसँग नै डराउँछ ।
यही भय, यही दुश्मनी ठगीका रूपमा छरपस्ट छरिन्छ । छलीका रूपमा छद्मभेषीहरू काला बादलका ओठमा उभिन्छन् । नयाँ हिट्लरको जन्म यही मनोग्रन्थी हो । ठूलो रावणको गर्वाधान अन्त होइन यहीँ हुन्छ, भइरहन्छ । अतीत होइन । यमराज यिनै हुन्, अदृश्य होइन । यस्तै मनोविज्ञानको समाज नर्कको साम्राज्य हो । अर्को नर्कको कल्पना केवल यथास्थितिवादी कायर पण्डितहरूको, गेरुगुम्बाधारक लामाहरूको, स्वाङवाहक ओठका पट्टी जनैहरूको, भौतिक विस्तारका सोख उन्मादित चर्चपण्डाहरूको, अन्ध अहंवादी मोहम्मद मुल्लाहरूको मागी खाने भाँडोमात्र हो । अर्को अलग नर्क छैन । यही मनोगन्थी निवास नै नर्क हो । नारकीय यातनाको भक्भकाउँदो तैल कराही हो ।
यसै मनोपरिधिमा आडम्बरका असंख्य कृत्रिम ढिस्काहरू खडा हुन्छन् । यस जनमानसमा परिधीय घेरा हुन्छ । यिनीहरू भित्र जे भए पनि ओठका शब्दमा आमालाई देवी मान्छन् । बाबुलाई देवता । पत्नी धौलागिरि हुन्छे । पति सगरमाथाको अग्लो शिखर । छोराछोरी यस जनमानसका मुटु हुन्छन् । नातिनातिना रक्तप्रवाहका नसा । तातो रगत यिनीहरूको सम्पन्नता हो । धन हो । मोहको बन्धन चर्म बन्छ र नै यस मनोलोकको समाज उन्मादका ब्याडमा आक्रोशका बिउ उमार्छन् । यसै ब्याडका उपज विश्व राज्यव्यवस्थाका झोलेहरू हुन् । धार्मिक पण्डाहरू हुन् ।
यिनकै विकसित रूपमा विशाल विश्वका नेताहरू परिव्याप्त छन् । प्राध्यापकहरू टेपरेकर्डका टुप्पी हल्लन्छन् । वैज्ञानिकहरू बारुदका धुवा उछिट्टिन्छन् । शिक्षकहरू सीमाका स्वार्थ फिँजिन्छन् । संस्थान छद्मविलासका रागमा राताजिब्राभित्र विषका घैँटा उभिन्छन् । साहित्यकारहरू एक-एक फरक डिलमा उभिएर बोलीको विश्वासमा होइन झोलीको स्तुति रमाउँछन् । कर्मचारीहरू यसै परिधिको सानो बिन्दुमा ठूलो छाती भएको देखाउन भ्रष्टाचारका दफा कोर्छन् ।
मन्त्रीहरू प्रधानमन्त्रीहरू, राजारानीहरू, राष्ट्रपति-पत्नीहरू यिनै मनोविज्ञानका मुना पक्रेर छहारी अग्लन्छन् । अपराधको अग्लो सिसमहलमा धर्मको टीको लगाउँछन् । समग्र विश्वसमाजको यिनै दुई मनोवृत्तिक, दुई मनोविज्ञान चौडा राजपथबाट अगाडि बढेको छ । तेह्र नम्बर न्युजिल्याण्डस्थित नेपियरको (जो ज्वाइँछोरीको) नितान्त शान्त चकमन्न सन्नाटा छाएको घरभित्र पसेपछि थकानमुक्त शरीरले अलिकति आराम लिएपछि दिमागको खाली श्लेटमा मन घुम्दै गयो । परिधि हेरेँ व्यापक छ समय छोटो छ । प्रगति हेरेँ । मेरो सानो दिमागको सीमाभन्दा टाढा प्रशान्तको फैलावट छ । संख्या सम्झेँ -थोरै । बाबुआमा र छोरा ।
असिनपसिन छ भ्याई नभ्याई छ-काम । फुर्सद छैन । डुल्ने, घुम्ने त कुरै छोडौं । एकछिन् आरामले बसेर कुराकानी गर्ने, सन्चो बिसञ्चो आदानप्रदान गर्नेसम्म समयको अभाव अनुभूत भएपछि झ्वाट्ट मैले ज्वाइँछोरी दुवैलाई एउटा प्रश्न-जीवन केका लागि ? छोरी धेरै सोच्दिन ट्वाक्क बोल्छे । भनी-खान लाउन, बस्न, मोजमस्तीमा रमाउन । ज्वाइँ सर्जक पनि भएकाले हत्तपत्त उत्तरिन्नन्-भने म अलि असमञ्जस छु-यसको उत्तर दिन । म देश सम्झन्छु, घर सम्झन्छु, अतीत सम्झन्छु, जन्मस्थल सम्झन्छु, बाबुआमाको लाडप्यार सम्झन्छु, साथीभाइसँगको खेलबाड सम्झन्छु । कहिले यता आएकामा दुखित छु । कहिले निकै हर्षित पनि ।
उहीँ बसेका भए यो भौतिक प्रगति सम्भव थिएन । म सुनिरहेँ । उनी भन्दै गए-के छैन मसँग घर छ,-विशाल घर । परिवार छ-सन्तुष्ट परिवार । डलर छ प्रशस्त जसले गर्दा बाबुआमा यहाँ अवतरण गराउन सफल भएँ । तपाईं सासुससुरा ल्याउन सफल भएँ । बोल्दै हुनुहुन्छ, भर्खर आउनु भएको छ । म घुमाउन भ्याउँछु मनग्गे । गाडी छन् चिप्ला, चिप्ला । एउटामा आउनु नै भयो । अर्को श्रीमतीको पनि छ । के यी सबै काम म चाहेर पनि उहाँ भएको भए सक्थेँ र ? बिस्तारै तर महत्वपूर्ण कुरा उनले व्यक्त गरे ।
नेपाली नपुगेको देश अबको विश्वमा सायद कमै होलान् । यहाँ हुदाँ र त्यहाँ हुदाँ पनि अमेरिका, अष्ट्रेलिया, बेलायत, पोर्चुगल, इजरायल, पोल्याण्डजस्ता देशमा हाम्रै हिसाबले तैलभिसामा गएका मित्रहरूसँग कुराकानी हुन्छ, भइरहन्छ । ज्वाइँ दीपकका भनाइ र उनीहरूका गुनासाबीच जमिन आसमानको भिन्नता म अनुभव गरिरहेको छु । यता जानेलाई स्वतन्त्रताको कुरा आयो ।
उता बन्दीवत्बनेर बस्नु पर्दाको पीडा देखियो । बिहानदेखि रातिसम्म, रातीदेखि बिहानसम्म अझ बिहानदेखि साँझ र साँझदेखि दिउँसो उता छोराछोरीले आमाबाबुको मुख नै देख्न नपाउने । गएका हजुरबा हजुरआमा वा अन्य कुनै व्यक्तिसँग नझ्याम्मी सकेका केटाकेटीले सताएर रुनु न हाँस्नुको अवस्था सिर्जना भई कतिपयलाई कतिबेला फर्काैँ भएको र कतिपय त विद्रोह गरी फर्केका उदाहरण अन्य देशमा मात्र नभएर न्युजिल्याण्डमा पनि भएका प्रशस्त उदाहरण मसँग छँदै थिए । हेरौं यहाँ कस्तो हुन्छ ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच