लुम्बिनीमा एमाले भन्दा सत्ता गठबन्धनको २ हजार ५४२ मतभार बढी, जनमतको पनि उम्मेदवारी

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 7 mins

रुपन्देही । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यका लागी लुम्बिनीमा सत्तारुढ गठबन्धनको जित सुनिश्चित देखिएको छ। २ सिट रहेको लुम्बिनीमा ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए पछि राप्रपाका उम्मेदवारे फिर्ता गरेसंगै ६ जनाको उम्मेदवारी रहेको छ।

निर्वाचन अधिकृत कूलप्रसाद पाण्डेले थापाले शुक्रबार उम्मेदवारी फिर्ता लिएकाले अब लुम्बिनीमा ६ जना उम्मेदवार कायम रहेको बताउनुभयो । राप्रपाबाट अन्य पदमा उम्मेदवारी दिएका थापाले निर्वाचनको मत आफू अनुकूल नदेखेपछि उम्मेदवारी फिर्ता लिएको उहाँको भनाइ छ । राप्रपाले कसलाई मत दिने भन्ने विषयमा पार्टीले निर्णय गरेको छैन । थापा पूर्व गृहमन्त्री तथा राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक समेत हुनुहुन्छ ।

लुम्बिनीमा राप्रपाको महिलातर्फ कपिलवस्तुकी विजय लक्ष्मी सिंहको उम्मेदवारी भने कायमै छ । महिला कलस्टरमार्फत् उम्मेदवार रहेकी सिंहको उम्मेदवारी भने कायम रहेको राप्रपाका सहायक महामन्त्री ताहिर अलीले जानकारी दिनुभयो ।‘‘निर्वाचनको मिति आउन अझै समय बाँकी छ’’, अलीले भन्नुभयो, ‘‘निर्वाचन हुने बेलासम्म पार्टीले जे निर्देशन गर्छ, हामी त्यहीअनुसार अघि बढछौं ।’’

यहाँ सत्ता गठबन्धनकोे तर्फबाट कांग्रेसकी विष्णुकुमारी सापकोटा (गुल्मी) र नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी (रोल्पा) ले उम्मेदवारी दर्ता गराउनु भएको छ । सापकोटाले महिला कोटा र सुवेदीले अन्य कोटाबाट उम्मेदवारी दर्ता गराउनु भएको हो ।

त्यस्तै नेकपा एमालेबाट तुलसा केसी (दाङ)ले महिला कोटा र उपेन्द्रबहादुर घर्ती, (पाल्पा) ले अन्य कोटामा उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट महिला कोटामा विजया लक्ष्मी सिंह (कपिलबस्तु) ले उम्मेदवारी दिनुभएको छ।

यहाँ जनमत पार्टीको तर्फबाट एउटा मात्रै उम्मेदवारी परेको छ । नवलपरासी पश्चिमका बालगोविन्द चौधरीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुई पदका लागि सत्ता गठबन्धन दल काँग्रेस र माओवादीबाट संयुक्त रुपमा एक पुरुष र एक महिला गरि एक र एक जना, एमालेबाट एक महिला र एक पुरुष, राप्रपाबाट एक महिला र जनमतबाट एक पुरुष गरि तीन महिला र तिन पुरुषले उम्मेदवारी दर्ता गराउनु भएको हो।

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य र १०९ वटा पालिकाका २१८ जना प्रमुख÷उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी ३०५ जनाले मतदान गर्ने छन्। राष्ट्रिय सभा निर्वाचनका लागि पालिकाका प्रमुख/उपप्रमुखको मतभार १९ र प्रदेश सभा सदस्यको ५३ तोकिएको छ । यो हिसाबले प्रदेश सभाका सदस्यहरूको मतभार संख्या ४ हजार ६११ र पालिकाका जनप्रतिनिधिको ४ हजार १४२ गरी हजार ९६४ मतभार गरी जम्मा ८ हजार ७५३ मतभार कायम हुन्छ ।

यो मध्ये सत्तारुढ गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत, नागरिक उन्मुक्ति, जनमोर्चाको गरी पक्षमा ५ हजार १७२ मतभार संख्या छ । यो भनेको एमालेको भन्दा २ हजार ५४२ मतभार संख्या बढी हो ।

एमालेको मतभार संख्या २ हजार ६३० मात्रै रहेको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि गठबन्धन दललाई समर्थन गर्न सक्ने सम्भावना रहेको छ । यदि लोकतान्त्रिक समाजवादीले गठबन्धनलाई समर्थन गरेमा गठबन्धन दलको मतभार संख्या बढ्ने छन् ।

यस्तो छ दलहरुको हिसाब किताब

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा मतभारको आधारमा सबै भन्दा दल हो । कांग्रेसका २७ सांसद, ९२ पालिका प्रमुख–उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष गरी कुल ३ हजार १ सय ७९ मतभार छ । यस्तै एमालेका २९ सांसद र ६७ पालिका प्रमुख–उपप्रमुख, अध्यक्ष उपाध्यक्षको मतभार २ हजार ६ सय ३० छ भने माओवादीका ११ सांसद र ४० पालिका प्रमुख–उपप्रमुखको मतभार १ हजार ३ सय ४३ छ ।

राप्रपाका ४ सांसद र ३ पालिका प्रमुख–उपप्रमुखको मतभार २६९ छ भने जसपाका ३ सांसद र ३ पालिका प्रमुख र उपप्रमुखको मतभार २७६ देखिन्छ । लोसपाका ३ सांसद र ४ पालिका प्रमुख–उपप्रमुखको मतभार २३५ छ भने एकीकृत समाजवादीका एक सांसदको ५३ मतभार छ ।
राष्ट्रिय जनमोर्चाका एक सांसद र ४ पालिका प्रमुख–उपप्रमुखको मतभार १२९ हुन्छ भने जनता प्रगतिशील पार्टी नेपालका २ पालिका प्रमुख–उपप्रमुखको मतभार ३६ हुन्छ । प्रदेश सभामा जनमत पार्टीका ३ सांसदको मतभार १४४ छ भने नागरिक उन्मुक्ति पार्टीका ४ सांसदको १९२ मतभार छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?