कर्णालीका विमानस्थलमा उडान थप्ने आश्वासन

Read Time = 5 mins

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले कर्णाली प्रदेशका विमानस्थलमा अलपत्र परेका नागरिकलाई उद्धार एवं यात्रा सहजताका लागि हवाई उडान थप गर्ने भएको छ । मंगलबार कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीसँग भएको छलफलमा संघले वायुसेवा कम्पनीहरूसँग भएका हवाई उडान थप गरेर अलपत्र नागरिकलाई नजिकको विमानस्थलमा उद्धार गर्ने प्रतिबद्धता जनाएको हो ।

संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले कर्णाली प्रदेशमा वर्षाका कारण सडक मार्ग अवरुद्ध हुँदा हवाई उडानमा देखिएको विद्यमान समस्या समाधान गर्न निजी वायुसेवा सञ्चालकहरूसँग भएका जहाजको उडान थप गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले विमानस्थलमा अलपत्र यात्रुलाई कर्णाली प्रदेशका हुम्ला, जुम्ला र डोल्पाबाट उद्धार गरेर नजिकैको विमानस्थलमा उद्धार गर्ने तयारी रहेको बताउनुभयो । कर्णालीको हवाई उडान समस्या समाधान गर्न सरकार र निजी क्षेत्र दुवैले सहकार्य गर्नुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष थापाले सरकारले कर्णालीका विमानस्थलमा अलपत्र नागरिकको उद्धारका लागि नेपाल एयरलाइन्स र नेपाली सेनाको जहाज प्रयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले कर्णालीमा हवाई उडानमा भइरहेको अनियमितता रोक्न अनलाइन टिकटको व्यवस्था गर्ने सहमति भएको पनि जानकारी दिनुभयो ।
कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले अविरल वर्षाका कारण कर्णालीका हिमाली जिल्लामा हवाई उडान प्रभावित भएर यात्रु अलपत्र हुँदा मानवीय संकटको अवस्था सिर्जना भएको बताउनुभयो । हवाई यात्रुको चाप अत्यधिक भएको अवस्थामा समेत हवाई उडान कम्पनीहरूले उडान कटौती गरेको उहाँको भनाइ थियो । भण्डारीले कर्णालीका विमानस्थलहरूमा अलपत्र हवाई यात्रुलाई तत्काल उद्धार गर्न नेपाल वायुसेवा सञ्चालक संघसँग माग गरिएको बताउनुभयो ।

मंगलबार कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी नेतृत्वको टोलीसँग संघले वायुसेवा कम्पनीहरूसँग भएका हवाई उडान थप गरेर अलपत्र यात्रुलाई नजिकको विमानस्थलमा उद्धार गर्ने प्रतिबद्धता जनाएको हो ।

उहाँले भन्नुभयो, ‘गत हप्ता देशभर आएको अविरल वर्षाका कारण कर्णाली प्रदेशका हिमाली जिल्लामा उडान प्रभावित भएको छ । हवाई उडानमात्रै नभएर सडकसमेत अवरुद्ध भएको छ । कर्णालीका हिमाली जिल्लामा हवाई उडानमा कटौती भएको छ । कर्णालीमा सडक अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढेको अवस्था छ । अहिले विमानस्थलमा भएको हवाई उडान संख्याले यात्रुको चाप थेग्न नसक्ने भएको छ । कर्णालीका विमानस्थलमा अलपत्र यात्रुलाई तत्काल उद्धार गर्न संघसँग भेटघाट गरेका छौंं । कर्णालीमा हवाई उडानमा अनियमितता रहेकाले हवाई उडानका लागि अनलाइन टिकट कार्यान्वयन गर्न माग गरेका छौं ।’

भण्डारी नेतृत्वको टोलीले मंगलवार नै पर्यटन मन्त्रीलाई भेटेर कर्णाली प्रदेशमा विद्यमान हवाई उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको थियो । केही दिनअघिको वर्षाका कारण सडक बाटोको सञ्जाल, विद्युत् र टेलिफोन सेवासमेत अवरुद्ध भएपछि अहिले कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला र कालीकोटलगायतका जिल्ला सम्पर्क विच्छेद छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?