पढ्नुहोस् आज दिनभरका मुख्य समाचार

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा चिनियाँ नयाँ वर्षको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ताइवान चीनकै अभिन्न अङ्ग भएको बताउनु भयो । उहाँले ‘ताइवान स्वतन्त्रता’ का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको र आफ्नो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा प्रष्ट पारेको बताउनु भयो । उहाँले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताउनु भयो । उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशको सम्बन्ध प्रगाढ रहेकोे बताउनु भयो ।

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ ।

निर्वाचनका उम्मेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची–१ बमोजिम तीन लाख पचास हजारसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । आयोगले आज निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको हो ।

काठमाडौं महानगरपालिकाले ५ लाखसम्मको लगानी भएका तर करको दायरामा नआएका युवा उद्यमीलाई २०८१ असार मसान्तसम्म कर तिरे ४० प्रतिशत छुट दिने प्रस्ताव भएको छ ।

काठमाडौं महानगरपालिका नगर सभाको १४ औं अधिवेशनमा महानगरपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम बजेटमा प्रश्तावित संशोधनमा सो प्रश्ताव ल्याएको हो । करको दायरामा नआएका ३५ वर्ष भन्दा कम उमेरका युवा उद्यमीहरुको उद्योगले २०८१ असार मसान्तसम्म कर तिरे ४० प्रतिशत छुट दिने महानगरकी उपप्रमुख सुनिता डंगोलले बताउनु भयो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

आइतबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९/८० को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । कम्पनीले लाभांश रकम आजदेखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाएको छ ।

आइतबार बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरुले बालुवाटारमा भेला भएर राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत माग्दै संयुक्त अपिल जारी गरे । सो अपिलमा सात दलको तर्फबाट हस्ताक्षर समेत छ । बैठकले राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनलाई अझ बलियो बनाउँदै जाने निर्णय समय गरेको छ । तर, सो अपिलमा सत्ता गठबन्धनकै अर्को दल जनमत पार्टीको भने हस्ताक्षर देखिँदैन ।

गठबन्धनका उम्मेदवारलाई जिताउन काङ्ग्रेसबाट सभापति शेरबहादुर देउवा माओवादी केन्द्रबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपाल जसपाबाट अध्यक्ष उपेन्द्र यादव लोसपाका अध्यक्ष महन्त ठाकुर र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले साझा अपिलमा हस्ताक्षर गर्दा नाउपाबाट भने अध्यक्षमा पूर्व अध्यक्ष रन्जिता श्रेष्ठको हस्ताक्षर रहेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारहरुलाई भोट दिन सत्ता गठबन्धनका शीर्ष नेताहरुले अपिल गरेका छन् । आफ्ना उम्मेदवारहरुको नामावली सार्वजनिक गर्दै गठबन्धनका शीर्ष नेताहरुले भोट दिन अपिल गरेका हुन् ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि नेताहरुले संयुक्त अपील जारी गर्दै आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदारहरुलाई भोट दिन अपिल गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल औषधि लिमिटेडबाट औषधि उत्पादनका निम्ति भएका प्रयासको सराहना गर्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिनुभएको छ।

नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई आज आफ्नै कार्यकक्षमा बोलाएर प्रधानमन्त्रीले तत्काल उत्पादन थाल्न निर्देशन दिनुभएको हो ।

जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले सर्वोच्च अदालतबाहिर आत्मदाहको प्रयास गरेकी छन् ।

आइतबार दिउँसो आरतिले सर्वोच्च अदालतको गेटबाहिर मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

उनले शरीरमा ज्वलनशील पदार्थ खन्याएर आगो सल्काउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीशहरु विदामा भएकाले नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको पेसी आज तोकिएन ।

जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढोडारीले न्यायाधीशहरु विदामा भएकाले पेसी नतोकिएको बताउनु भयो । सात न्यायाधीहरुमध्ये आइतबार दुई जना न्यायाधीशहरु मात्र अदालतमा उपस्थित छन् ।

अब अर्को पेशी माघको २०–२२ तिरका लागि तोकिने श्रेष्तेदार ढोडारीले बताउनु भयो।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?